सुरुङ खनेरै लामाबगर नाका चिनसँग जोडिने प्रधानमन्त्री ओलीको घोषणा

लामाबगर, २८ चैत
चिनीया राजदुतसँगै लिएर लामाबगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनसँगको लामाबगर नाका सुरुङ बनाएरै भए पनि चाँडै खुल्ने प्रतिबद्धता जनाए । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणका क्रममा लामाबगर पुगेका प्रधानमन्त्री ओलीले ६÷७ किलोमिटर सडक निर्माण गरेरै नाका जोडिने बताए ।
भारतको सिमाना भिट्टामोडदेखि लामाबगरसम्मको सडक राम्रोसँगै २ लेनको तयार भएको छ । “अब तिब्बत सिमाना पुग्न थोरै भएकाले कठिन भुगोलमा सुरुङ बनाएर भए पनि काना खुल्छ” उनले भने “यस बारे आफू काठमाडौं फर्कन साथै विशेष निर्णय हुन्छ ।” प्रधानमन्त्री ओलीले नाका जोड्ने कुरा गर्दा चिनीया राजदुत युहाङ साथमै थिइन् ।
भारत भ्रमणबाट फर्के लगत्तै प्रधानमन्त्री ओली राष्ट्रिय गौरवको आयोजनाहरुको निरीक्षणका क्रममा माथिल्लो तामाकोसीमा आएका हुन् । आयोजनाको बाँधस्थलको निरीक्षणका क्रममा अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आयोजनाको बाँध बनेपछि तिब्बत जोड्ने सडक निर्माणमा समस्या हुने बताए । बाँधमा पानी भरिने भएपछि लामाबगरबाट उत्तर लप्ची तर्फको हिड्ने बाटो समेत नरहने भएकाले यसलाई चाँडै विशेष निर्णय गरेर ट्रयाक खोल्नु पर्ने बताए ।
दोलखाबाट निर्वाचित प्रदेश सांसद विशाल खड्काले लामाबगर नाका तातोपानी भन्दा पुरानो भन्सार भएकाले यसलाई चाँडै खोल्नु पर्ने बताए । उनले यो नाका परम्परागत काठमाडौं र मिथिलाञ्चलको तिब्बतसँगको एक मात्र नाका भएकाले त्यसलाई सुचारु गराउन प्रधानमन्त्रीले विगतमा चिनसँग भएको सम्झौता अनुसार काम गर्नु पर्ने बताए ।
कठिन भुगोल र तामाकोसीको बाँधमा असर गर्ने हुँदा ४ वर्ष अघि नै ९ सय मिटरको सुरुङ समेत डिजाइ भएर सडक विभागले भौतिक पूर्वाधार मन्त्रालयसम्म पु¥याएको छ । आयोजनाको बाँध बनेपछि हिड्ने बाँटो समेत नहुँने हुँदा आयोजनाको बाँध बन्नुभन्दा अघि नै आयोजनाको बाँध क्षेत्रको सुरुङ वा बाहिरी बाटो जे भए पनि तयार गर्नु पर्ने विगू गाउँपालिकाका अध्यक्ष युधिष्टिर खड्काले बताए । आयोजनाका अधिकारीहरुले विगतदेखि नै प्रधानमन्त्री सहित आयोजनास्थल आउने उच्च तहमा यसबारे अवगत गराउँदै आएका छन् ।
लामाबगर भिट्टामोड उत्तर दक्षिण त्रिदेशीय लोकमार्ग थोरै लगानीमा बन्ने अहिलेसम्मकै छोटो हुनेछ । अघिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा चिनसँग उत्तरका ७ वटा नाका खोल्नेमा लामाबगर पनि रहेको छ । तर त्यसपछि कुनै प्रगति हुन सकेको छैन ।

अब आयोजना एक दिन पनि ढिला हुनु भएन

आयोजनाको निरीक्षणपछि प्रधानमन्त्री ओलीले आयोजनाको काम एक दिन पनि ढिला हुन नहुने बताए । विभिन्न निकाएले आयोजनाको काममा कुनै ढिलासुस्ती गरे सोझै आफूलाई जानकारी गराउन निर्देशन दिए । “ढिलासुस्ती गर्ने जुनसुकै निकायलाई तत्कालै कारबाही गर्छु” उनले भने ।
४५६ मेगावाट क्षमताको आयोजनाको हालसम्म ९५ प्रतिशत काम पूरा भएको छ । उनले अब संशोधिन कार्यतालिका भन्दा एक दिन पनि ढिला नगरी आयोजना पूरा गर्न निर्देशन दिए ।
आयोजनाको स्थलगत अवलोकनका क्रममा ढिलाइ हुने देखिएपछि प्रधानमन्त्री ओलीले कार्यतालिका अनुसार काम गर्न निर्देशन दिएका हुन् । आयोजनाको लागत र समय वृद्धि हुनुको कारणबारे प्रधानमन्त्रीले विशेष चासो व्यक्त गरे ।
संशोधित कार्यतालिका अनुसार आगामी असार मसान्तबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिए पनि सो अवधिमा आयोजना सम्पन्न हुने कुरा अनिश्चित जस्तै छ । आयोजना व्यवस्थापनले त्यसलाई पुनः कार्यतालिका संशोधन गरी आउँदो पुसबाट विद्युत उत्पादन थाल्ने बताएको छ ।
हाईड्रो मेकानिकल सामान(पेनस्टक पाइप) ढुवानीमा भएको ढिलाई र स्थानीयबासी तथा आम नागरिकका लागि छुट्टयाईको शेयर संकलनमा भएको ढिलाईका कारण आयोजनाको निर्माण अवधि अझै लम्विने आशंका भईरहेका बेला प्रधानमन्त्री आयोजन स्थल पुगेकाले आयोजनाको कामले गति लिने विश्वास गरिएको छ ।
आयोजनामा हालसम्म ३७ अर्ब रुपैयाँ खर्च भईसकेको छ । ३५ अर्ब २९ करोड सुरु लागत अनुमान गरे आयोजना ढिलाई हुँदा लागत बढेर ब्याज बाहेक ४९ अर्ब २९ करोड रुपैयाँ पुग्ने प्रक्ष्यपन गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राष्ट्र बैंकमा डलर सटहीको समस्या, खाडीचौरदेखि चरिकोटसम्मको सडक विस्तारमा सडक विभागले गरेको विलम्बले ढुवानी समस्या र भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वेको कमजोर व्यवस्थापनका कारण पेनस्टक पाइप ढुवानी र जडानमा भएको ढिलाइले आयोजनाको कामको गति सुस्त भएको बताए ।
आयोजनाको सिभिल, मेकानिकल तथा इलेक्ट्रिक र प्रसारण लाइनको काम समय तालिका अनुसारै भएको आयोजना प्रमुख दिनेशजंग राणाले जानकारी दिए । प्रधानमन्त्रीले आयोजनाको विद्युत गृह र बाँधस्थलको स्थलगत निरीक्षण गरेका हुन् । उनका साथमा ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुन, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सहितको सहभागीता थियो ।

Shares

Be the first to comment on "सुरुङ खनेरै लामाबगर नाका चिनसँग जोडिने प्रधानमन्त्री ओलीको घोषणा"

Leave a comment

Your email address will not be published.


*