सुपर सिक्समा सिंगटीको प्रगति उच्च

दीक्षण समाचार
दोलखा, १३ फागुन
सरकारले प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई निर्माण गर्न दिएका सुपर सिक्स (६ आयोजना) जलविद्युत आयोजनामध्ये सिंगटी खोलाको प्रगति उच्च देखिएको छ । अन्यको तुलनामा २५ मेगावाटको सिंगटीको कामले गति लिएको छ ।
सरकारले २०६८ सालमा प्रतिस्पर्धा गरेर सिंगटी सहित मेवा खोला, माया खोला, तल्लो सोलु, खारे खोला लगायत आयोजना निर्माण गर्न दिएको थियो । यी आयोजनामध्ये माया र तल्लो सोलुको निकै पछाडि छ । खारेको सुरु नै हुन सकेको छैन भने अन्य आयोजना निर्माण चरणमै छन् । सिंगटीको भने अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ ।
२०७३ असोजदेखि निर्माण सुरु भएको आयोजनाको हेडवक्र्समा ९५ प्रतिशत काम पूरा भएको छ । चालू आर्थिक वर्षमै विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर रमेश सुवेदीले बताए । ‘हेडवक्र्स फिनिसिङबाहेक सबै संरचना तयार भएका छन्,’ उनले भने, ‘इन्टेक, पानी थिग्र्याउने पोखरी, हेडपोन लगायत संरचनाको काम पनि अन्तिम चरणमा छ ।’ आयोजनाको ६ किलोमिटर सुरुङमध्ये हालसम्म २ तिहाइभन्दा बढी सकिएको छ ।
हेडरेस सुरुङ १ हजार ८ सय मिटरमात्र बनाउँन बाँकी छ । यस्तै, ३ सय मिटर अडिट सुरुङ बनाएर विद्युतगृह र हेडवक्र्सतर्फ पनि सुरुङ निर्माण भइरहेको छ । आयोजनाले अबको ६ महिनामा सुरुङ ब्रेक थ्रु गर्ने लक्ष्य राखेको छ । आयोजनाबाट २०७५ चैतमा विद्युत उत्पादन गर्ने लक्ष्य भए पनि अन्तिम निकासतर्फ सुरुङ निर्माणमा भएको ढिलाई, गत वर्षको बाढी पु¥याएको क्षति लगायत कारणले ४ महिना ढिलो हुने देखिएको छ ।
आयोजना प्रभावित क्षेत्र साविकको बाबरेसहित लामिडाँडा, खोपाचागू, लादुक र चिलंखा गाविसमा पर्छ । बाबरे र चिलंखाबीचमा सोरुङ खोलामा इन्टेक र डिस्याण्डर बनाएर आयोजनाको ६ किलोमिटर सुरुङ निर्माण गरी लामिडाँडा ७ को जुरेपानीमा सर्ज ट्यांक निर्माण हुनेछ ।
यसपछि ९ सय ५० मिटर पेनस्टक मार्फत लामिडाँडाकै शिरिसघारीको विद्युतगृहमा पानी खसाली विद्युत उत्पादन हुनेछ । आयोजनाको सर्फेस सिभिल रामेछाप शेर्पा कन्स्ट्रक्सन जेभी, अन्डर ग्राउन्ड टनेल आरजे सूर्या जेभी, हाइड्रो मेकानिकल क्रिम हाइड्रो प्रालि र इलेक्ट्रो मेकानिकलको काम चिनियाँ कम्पनी क्विङकाङ हाइड्रो जेनेरेटिङ इलेक्ट्रिक लिमिटेडले गरिरहेका छन् ।
सिंगटी खोला हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले ऋण लगानी गरेका छन् । यसको कूल लागत ४ अर्ब ६३ करोड रुपैयाँ अनुमान गरिएको छ ।

Shares

Be the first to comment on "सुपर सिक्समा सिंगटीको प्रगति उच्च"

Leave a comment

Your email address will not be published.


*