सुन्द्रावतीमा भुकम्प…

दीक्षण समाचार
सुन्द्रावती, २६ माघ
कालिञ्चोक गाउँपालिका वडा नं. ९ सुन्द्रावतीमा कटुवाचौर कालिका माविमा दिउँसो ११ बजेतिर चौरमा उभिरहेका विद्यार्थीहरु भुईमा लडे । चौरमा खेलिरहेका र आ आफ्नो काममा रहेकाहरु एकासी ठूलो भुकम्पको धक्का महसुश भएर अनियन्त्रित भएर भुईमा लडे ।
कोही घाइते भए, घाइतेका उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय रेडक्रसको टोलीले उद्धार ग¥यो । घाइतेहरुको तत्कालै स्थानीयस्तरमै प्राथमिक उपचार गरियो । घाइतेहरुको थप उपचारका लागि एम्बुलेन्समा हालेर अस्पतालमा पठाइयो ।
घटनास्थलमै भएका दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले कालिञ्चोक आसपासमा केन्द्रविन्दु बनाएर भुकम्प गएको सूचना पनि जानकारी दिए । तत्कालै थप उद्धार टोली परिचालन भयो ।
कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बस्यो । राहत वितरण, स्वास्थ्य उपचार, पुनःस्थपना, लगातको जिम्मेवारी समेत विभिन्न टोली परिचालन भयो । टोलीले आ आफ्नो जिम्मेवारी सहित काम गरे ।
राहत नपाएको, राहतमा पक्षपात भएको, उपचार नभएको र आगलागी जस्ता थप घटना भएको भन्दै स्थानीयहरु नाराजुलुस सहित आन्दोलनमा समेत उत्रिए । त्यसको व्यवस्थापनका लागि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहितका टोलीलाई भ्याई नभ्याई थियो ।
यि माथिका घटना वास्तविक होइनन्, केबल भुकम्प जस्ता घटनाहरुमा कसरी व्यवस्थापन गर्ने भन्ने अभ्यास थियो । गाउँपालिकाले पहिलो पटक विगतमा जस्तै भुकम्प, पहिरो, आगलागी जस्ता घटना हुँदा कसरी त्यसको व्यवस्थापन गर्ने भन्ने अभ्यास सुन्द्रावतीमा ग¥यो । युनिसेफको प्राविधिक सहयोगमा गाउँपालिकाले प्रमुख जिल्ला अहिलकारी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय संघ संस्थाको सहभागीतामा यस्तो अभ्यास गरेको हो ।
कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले प्रकोप जुनसुकै परिस्थितिमा पनि हुने भएकाले त्यसको तयारी स्वरुप यस्तो अभ्यास गरेको जानकारी दिए । विगतमा भुकम्प जाँदा सबै अन्यौलमा परियो । अब घटनामा क्षति न्यूनीकरण र आपत्मा परेकाको तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन स्थानीयस्तरमै अभ्यास गरेको बताए ।
कालिञ्चोक गाउँपालिकाले विपद् व्यवस्थापन योजना समेत बनाएको छ । योजना अनुसार नै विभिन्न समितिहरुलाई पनि तालिम सहित तयारी अवस्थामा राखेको उपाध्यक्ष कालिका पाठकले जानकारी दिइन् । नाम्सालिङ सामुदायिक विकास केन्द्रको सहयोगमा बनेको योजना बनेको हो । यस्तो अध्यास अन्य वडाहरुमा पनि हुने उनले जानकारी दिइन् ।

Shares

Be the first to comment on "सुन्द्रावतीमा भुकम्प…"

Leave a comment

Your email address will not be published.


*