सुन्तलामा महामारी फैलिँदै

नवराज शिवाकोटी
चरिकोट– सुन्तला जातका फलमा औंषा पर्ने रोगका कारण करोडौंको सुन्तलाजन्य फल नष्ट भएको छ । चाइनिज सिट्रस फ्लाईको कारण औंषा परेर करोडौंको सुन्तला जन्य फल नष्ट भएको हो ।
पूर्वमा धनकुटा देखि काभ्रेपलाञ्चोक जिल्लासम्मका जुनार, सुन्तला, निवुवा, कागती, ज्यामिर जस्ता अमिला फलहरु चाइनिज सिट्रस फ्लाईको चपेटामा परी कृषकहरुको करोडौंको फल नष्ट भइरहेको कृषि विभागका बरिष्ठ बाली संरक्षण अधिकृत देवराज अधिकारीले बताए ।
दोलखामा सुन्तला जातका फलमा औंषा पर्ने रोगको कारण अमिलो जातका फलफुल हरु नष्ट हुन थाले पछि जिल्ला समन्वय समितिले कृषि विभागलाई यो रोगको पहिचान गर्न आग्रह गरे बमोजिम दोलखा आएको प्राविधिक टोलीले चाइनिज सिट्रस फ्लाईको कारण फलमा औषा परेको तथ्य केही समय अघि सार्वजनिक गरेको हो ।
प्राविधिक टोलीका देवराज अधिकारीका अनुसार चाइनिज सिट्रस फ्लाई को नियन्त्रण औषधिको प्रयोग बाट मात्र सम्भव छैन । यसका लागि ब्यापक रुपमा कृषक, यस्ता फलको ब्यापार गर्ने ब्यापारी र सर्व साधारण समेत सक्रिय बन्नु पर्ने हुन्छ ।
“सिट्रस फ्लाई नियन्त्रणकालागी यसको जीवनचक्र अन्तर्गत लार्भा अवस्थामानेै नियन्त्रण गर्नु पर्दछ । लार्भा अवस्थामा पहिले नियन्त्रण गरेपछि मात्र बाँकी एडल्ट लाई औषधिको प्रयोग गरी नियन्त्रण गर्न सकिन्छ ।” अधिकारीले भने “संक्रमित फल लाई गोवर ग्याँसमा हाल्ने, पानीमा उमाल्ने वा तिन फिट जति गहिरो खाडल खनेर संक्रमित फललाई पुरेर नष्ट गर्ने गरिएमा नियन्त्रणमा ठूलो सघाउ पुग्छ ।” चैत्र–बैशाख महिनामा प्युपाबाट सिट्रस फ्लाई बयस्क भई अमिलो जाताका कलिला फलहरुमा पोथीले फूल पार्दछ । फूल पार्ने समयमा यो झिँगालाई प्रोटीनको आवश्यकता पर्ने हुँदा प्रोटीन हाइड्रोलाइसेट लाइ विषाक्त बनाई पातको उल्टो भागमा स्प्रे गरिएमा चाइनिज फ्लाईको नियन्त्रण गर्न सकिने अधिकारीको भनाई छ ।
यो झिँगाले लार्भा अवस्थामा फलको भित्री भाग खाएर कुहाउने, फलबाट बाहिर निष्के पछि करिब छ महिना माटो मित्र प्युपाको रुपमा रहने र त्यस पछि वयस्क झिँगाको रुप लिई कलिला फलहरुमा फूल पारी फलमा औंषा पार्ने गर्दछ । यसको नियन्त्रणका लागि संक्रमित फल जथाभावी माटोमा नफाली लार्भालाई नष्ट गर्नु अतिजरुरी भएको कृषि प्राविधिकहरुको भनाई छ । सुन्तला जातका फलफूल मध्ये पनि विशेषगरी जुनार र निबुवा यो रोगबाट अति प्रभावित भएको छ । यस्तै हालैका वर्षहरुमा कागती सुन्तला लगायत का अन्य अमिलो जातका फलफूल पनि प्रभावित हुन थालेका छन् ।
लार्भा अवस्थामानै यसको नियन्त्रण गर्नकालागि चेतना मुलक कार्यक्रम संचालन नगरिए औषधिको प्रयोगबाट मात्र नियन्त्रण गर्न कठिन देखिएको विभागका बरिष्ठ बाली संरक्षण अधिकृत देवराज अधिकारीको भनाई छ ।
नेपालमा पहिलो पटक धनकुटामा देखा परेको चाइनिज सिट्रस फ्लाई को उत्पत्ति स्थल चीन भएको बताइन्छ । चीनबाट भुटान, सिक्कीम हुँदै चाइनिज सिट्रस फ्लाई पूर्वी पहाड बाट पश्चिम तर्फ फैलदै गएको बताइएको छ ।

Shares

Be the first to comment on "सुन्तलामा महामारी फैलिँदै"

Leave a comment

Your email address will not be published.


*