सुनखानीमा भूकम्प, रामकोटमा आगलागी !

इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ५
शुक्रबार दिउँसोको समय । टन्टलापुर घाम लागिरहेको थियो । सबै मानिसहरु आ–आफ्नो काममा व्यस्त थिए । त्यति नै बेला भूकम्पका गएकोले जमीन थररर काँप्न थाल्यो । घाम र पानी मात्र छेक्ने कच्चा घर नभत्किने कुरै भएन, सम्पूर्ण घरहरु भत्किन दुई मिनेटपनि लागेन ।
घरभित्र रहेका मानिसहरु झट्पट सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सफल भए । तर कतिपयले भूकम्पले हल्लाएर घर लडाउँदा च्यापिएर अकालैमा मृत्युको शिकार हुन पुगे । बाँच्न सफल भएकाहरुले मोबाइल नेटवर्कको समस्याका बावजुत आफन्तको उद्धारका लागि भीमेश्वर नगरपालिकापालिका स्तरीय आपत्कालिन कार्य सञ्चालन केन्द्रमा फोन गरे ।


त्यसपछि सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीसहितको खोज तथा उद्धार टोली सडक पुगेको बस्ती भएकोले पाँच मिनेटमैँ उद्धारका लागि आइपुगे । त्यस टोलीले घाइतेलाई उद्धार गरी सुरक्षित स्थानमा लगे । त्यही बेला प्राथमिक उपचारको टोली आएर घाइतेलाई प्राथमिक उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत अस्पतालतर्फ लगियो । भूकम्प प्रभावित क्षेत्रमा चोरी, डकैती, महिला हिंसाको घटना पनि भए । त्यसमा संलग्न अपराधीलाई सुरक्षाकर्मीले पक्राउ गरी कारबाही ग¥यो ।

घर भत्किएको तथा बस्न अयोग्य भएकोले भूकम्प प्रभावित व्यक्ति तथा परिवारहरु विद्यालय, सामुदायिक भवन लगायतका भवनमा आश्रय लिएर बस्न थाले । यद्यपी पटकपटकको पराकम्पनले उनीहरु त्यसमा असुरक्षित भएको भन्दै रातीमा निदाउन सकेनन् । खानलाउन समस्या भएकोले गैर खाद्य टोली र खाद्य टोली आएर राहत वितरण गर्नुका साथै सुरक्षित स्थानमा नडराई बस्नको लागि अनुरोध गरे । भूकम्पले दुखेका मनमा मल्हम लगाउन स्वास्थ्य तथा पोषण कार्य टोली, खानेपानी तथा सरसफाई टोली, खरिद तथा आर्थिक टोली, शिक्षा र प्राविधिक लगायत अन्य टोलीले आफ्नो जिम्मेवारी अनुसारको काम गरे । बिस्तारै भूकम्पको त्रासमय स्थितिबाट प्रभावित क्षेत्रका बासिन्दा समालिने अवस्थामा पुगे ।
सोही दिन रामकोटको एक होटलमा चिया पकाउने क्रममा ग्यास लिक भएर आगलागी भयो । होटल आगलागीको आधा जलेर नष्ट भईसकेको थियो भने होटलसगैँ रहेको छिमेकीको आधा दर्जन घर पनि हेर्दाहेर्दै जल्न थाल्यो ।

तत्काल खोज तथा उद्धार टोली परिचालन भई आगो नियन्त्रणमा ल्याउने प्रयास गरे । तर दन्किएको आगो निभाउन भीमेश्वर नगरपालिकामा रहेको दमकल आयो र १० मिनेटमैँ आगो निभाउन सफल भयो ।आगलागीका कारण केही मानिसहरु घाइते भए, केहीको मृत्यु भयो । एक बालकको मृत्यु भएपछि बालकको आमा भावविह्ल भई चिच्याईचिच्याई रुनुभयो । गाउँ नै शोकमय बन्यो । घाइतेहरुको उद्धार गरि प्राथमिक उपचार गरियो । त्यसपछि एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल लगियो । राहत वितरणका लागि खाद्य तथा अखाद्य टोली आइपुगे । आगलागी पीडित छिमेकीकोमा शरण लिएर बसे ।

यो घटना वास्तविक भने होइन, यो त यस्तै प्रकृतिका प्राकृतिक प्रकोपजन्य विपद तथा आपती आइपरेको खण्डमा त्यसको नियन्त्रण, प्रतिकार्य र व्यवस्थापनको लागि गरिएको कृत्रिम घटना अभ्यास हो । शुक्रबार चरिकोटमा रहेका गौरीशंकर बहुमुखी क्याम्पसको प्राङ्गणमा गरिएको कृत्रिम घटना अभ्यासको क्रम गरिएको अभिनय र अभ्याससहितको प्रस्तुतीले रमाइलोसँगै सन्देश प्रवाह गर्न सफल भयो ।

अभ्यासमा स्थानीय बासिन्दाहरुको समेत सहभागिता रहेको कारण विपद् व्यवस्थापन गर्न जनशक्ति खडा भएको बताइएको छ । यो कार्यक्रम भीमेश्वर नगरपालिकाको सहकार्यमा, युरोपेली युनियन, यूएनडिपीको आर्थिक तथा प्राबिधिक सहयोग र स्थानीय साझेदार संस्था हुराडेक नेपालको साझेदारीमा आयोजित शहरी विपद जोखिम न्यूनीकरण परियोजनाको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
सचेत हुन जरुरी
कुनै पनि विपद बाजा बजाएर अर्थात सूचना दिएर आउदैन । तर यस्ता परिस्थिति भईहालेको खण्डमा तत्कालिन तथा दीर्घकालिन व्यवस्थापन सम्बन्धि समुदायलाई जानकारी गराउने र विपदको बेला समुदायसहितको सक्रियतामा खोजउद्धार, राहत वितरण तथा आगलागी नियन्त्रण सम्बन्धि अभ्यास गरी क्षमता अभिबृद्धि हुने अभीष्ट पुरा गर्न कार्यक्रम गरिएको भीमेश्वर नगरपालिका प्रमुख भरत केसीले बताउनुभयो ।

विपद् हुन नदिने विविध कार्यका साथै विपद् व्यवस्थापन सम्बन्धि विभिन्न प्रयासहरु गरिएको बताउनुहुँदै नगरप्रमुख केसीले भीमेश्वर नगरपालिका अधिक मात्रामा पहिरो, भूकम्प, सडक दुर्घटना, आगलागी, चट्याङ लगायतबाट जोखिममा रहेकोले जोखिम न्यूनिकरण तथा व्यवस्थापनको लागि तयारी अवस्थामा बस्न सबै नागरिक सचेत हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले कृत्रिम घटना अभ्यासले विपद् व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने भन्दै यसको आवश्यकता सबै स्थानीय तहमा रहेकोले यसतर्फ ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले कृत्रिम घटना अभ्यासबाट विकास भएको सीप र क्षमता वास्तविक रुपमा विपद् परेको बेला सक्रियता पूर्वक प्रयोग गरेमा यस कार्यक्रमले सार्थकता पाउने उल्लेख गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख कमला बस्नेत, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "सुनखानीमा भूकम्प, रामकोटमा आगलागी !"

Leave a comment

Your email address will not be published.


*