सुधार आयोजनाद्धारा मुडे चरिकोट सडकखण्डको “ठेक्का तोड्ने अन्तिम तयारीमा”

चरिकोट /इश्वर बिश्वकर्मा –चरिकोट मुडे सडकखण्डको ठेक्का सडक सुधार आयोजनाले तोड्ने अन्तिम तयारीमा लागेको जनाएको छ । अबको १५ दिनभित्र काम सुरु गरी तीव्र पार्न निर्माण कम्पनीलाई चेतावनी दिएको र सो अवधिमा चित्त बुझ्दो काम नगरी पहिलेको झैँ ढिलासुस्ती र लापरबाही गरेमा ठेक्का तोड्ने सडक सुधार आयोजना प्रमुख कृष्ण पन्तले बताउनु भयो । ठेकेदारले सडक निर्माणलाई तीव्रता दिने भन्दै कुरा मात्र गरेर छ वर्षको अवधिमा शक्ति केन्द्र धाएर पटकपटक म्याद थपेर बिताएकोले अब उसको कुनैपनि आश्वासन र कुरा पत्याउन नहुने उहाँले बताउनुभयो । आफु आयोजना प्रमुख भएर आउने बितिकै सडकको निकास खोज्ने प्रयास गरेको भएपनि सम्भव नभएको तर अहिले भने ठेक्का तोड्ने निर्णय गर्न अन्तिम कसरत गरिरहेको उहाँको भनाई छ ।“ठेकेदारले चाहेको खण्डमा दुईदेखि तीन महिना भित्रमा सडक निर्माण सम्पन्न हुने भएपनि काम गर्न तयार देखिदैन । उहाँले भन्नुभयो । “अब यो निर्माण कम्पनीसँग ठेक्का तोडेर अर्काे ठेक्का लगाई सडक सुधारको काम अघि बढाउनु बाहेक अन्य उपाय छैन । यसैमा सबैको भलो हुन्छ । यसको लागि सरकारले स्रोत सुनिश्चित गर्नुपर्छ। ” २० हजार रुपैयाँ कामदार दिन नसक्ने कम्पनीले कसरी कालोपत्रे गर्छ ,भनेर पत्याउनु ”उहाँले भन्नु भयो , सडकको नयाँ ठेक्काको रकम जुटाएर ठेक्का रद्ध हुन्छ ।
दोलखालाई देशको राजधानी काठमाडौँसँग जोड्ने खाडीचौर चरिकोट सडकखण्ड अन्तर्गतको दोलखा क्षेत्रमा पर्ने ३० किलोमिटर मुडे–चरिकोट सडकखण्ड ठेकेदारको लापरबाहीको कारण वर्षाैँदेखि अलपत्र छ । यो सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी सकिल हैदर र नेपाली निर्माण कम्पनी शंकरमाली—सुनौलो खिम्ती जेभीले २०७२ सालमा पाएको हो । ७९ करोडमा निर्माण सम्भौता भएको सडकको सोही वर्षदेखि काम सुरु भएको थियो । राजनितिक पहुँचको आधारमा तीन पटक म्याद थप भयो । तर हालसम्म पनि सडक निर्माणले गति लिएको छैन । भारतीय एक्जिम बैंकको सहयोगमा यो सडक निर्माण सुरु भएको हो ।
नागरिक अगुवा प्रहरी नियन्त्रणबाट रिहा
मुडे–चरिकोट सडक ठेकेदारले अलपत्र पारेपछि आन्दोलनमा उत्रिएका नागरिक अगुवाहरु प्रहरी नियन्त्रणबाट रिहा भएका छन् । छ वर्षदेखि सडक अलपत्र पारी नागरिकलाई सास्ती दिएको भन्दै सडक सुधार आयोजनाको कार्यालय तिखातलमा आइतबार तालाबन्दी गर्न गएका नागरिक अगुवाहरुलाई प्रहरीले  नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पर्नेहरु चिरञ्जीवी मास्के, रमेश खतिवडा, गोकर्णप्रसाद भण्डारी, श्रृजनकुमार घिमिरे, श्याम खतिवडा ,अर्जुन कार्कि र राजन बस्नेत रहेका थिए । समयअवधि सकिएको वर्षौं बितिसक्दा पनि काम नगरी सडक अलपत्र पारेको भन्दै नागरिक समाजको अगुवाइमा शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी  यादव, सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको तस्बिरसहितको पोस्टर सवारीसाधनमा टाँसेर आन्दोलन गरिएको थियो ।

Shares

Be the first to comment on "सुधार आयोजनाद्धारा मुडे चरिकोट सडकखण्डको “ठेक्का तोड्ने अन्तिम तयारीमा”"

Leave a comment

Your email address will not be published.


*