सिमपानी वनमा चरिकोटको फोहोर व्यवस्थापन तथा प्रशोधन गरिने

दीक्षण समाचार
चरिकोट, साउन २९
दोलखाको भीमेश्वर नगरपालिकामा उत्पादित फोहोर सिमपानी सामुदायिक वनमा व्यवस्थापन तथा प्रशोधन गरिने भएको छ । वडा नं. ६ मा अवस्थित रामकोट भन्दा तलको सिमपानी वनमा क्षेत्रमा विभिन्न संरचना सहित दुई करोड लागतमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि फोहोर व्यवस्थापन तथा प्रशोधन गरिने भएको हो ।
नगरप्रमुख ईश्वरनारायण मानन्धरले केन्द्र निर्माणसँगै वन उपभोक्ता समूहसँग पाँच वर्षको लागि सम्झौता भएको र आगामी भदौदेखि नगरको फोहोर त्यहाँ विसर्जन गरी व्यवस्थापन तथा प्रशोधन कार्य सुरु हुने सुनाउनुभयो । पाँच वर्षदेखि भीमेश्वर नगरपालिका वडा नं. ५ को क्षेत्रमा फोहोर व्यवस्थापन भइरहेकोमा सम्झौता अवधि सक्किएपछि खोरथली सामुदायिक वनमा अस्थायी रुपमा फोहोर व्यवस्थापन भइरहेको थियो । तर अब नयाँ केन्द्र निर्माण भएकोले पाँच वर्षको लागि फोहोर व्यवस्थापन गर्न सहज हुने भएको छ । केन्द्र दुई वर्ष अघि निर्माण सुरु थियो।
वडा नं. ६ का वडाध्यक्ष नवीन लामाले नयाँ केन्द्रमा लगिएको कुहिने फोहोरलाई मल बनाइने र नकुहिनेलाई प्रशोधन गरी पुनप्रयोग गरिने तथा बाँकी रहेकालाई त्यहीँ व्यवस्थापन गरिने सुनाउनुभयो । उहाँका अनुसार भदौ पहिलो साता देखि बजारको फोहोर नियमित उठाएर केन्द्रमा विसर्जन गरिने छ । तर बजारवासीले कुहिने र नकुहिने फोहोर वर्गीकरण नगरेमा त्यस्ता फोहोर नउठाइने र अन्य कारबाही समेत गरिने छ । सोको जानकारी दिनका लागि बजार क्षेत्रका प्रत्येक घरमा सामाजिक कार्यकर्ता परिचालन गरिने वडाध्यक्ष लामाले बताउनुभयो । भाडामा बसेका व्यक्तिपरिवार तथा घरधनीको चुलोचौकोमै गएर सामाजिक कार्यकर्ताले फोहोरको वर्गीकरण सम्बन्धी प्रशिक्षण दिनुका साथै झोला समेत वितरण गर्ने छन् । उनीहरूले दिएका जानकारी अनुरूप बजारवासीले फोहोरको वर्गीकरण गरी फोहोर उठाउने गाडीलाई फोहोर दिन पर्ने छ ।  वडाध्यक्ष लामाले फोहोर व्यवस्थापनको सम्बन्धमा सोमबार वा मंगलबार टोल विकास संस्था सहित सरोकारवाला निकायसँग छलफल गरिने बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनिरहेकोमा केन्द्र निर्माणले चुनौतीलाई कम गराएको बताउनुभयो । फोहोरलाई मोहोरमा परिणत गर्ने योजना अनुरूप नयाँ केन्द्रको निर्माण गरिएको र यसमा नागरिकको भूमिका महत्वपूर्ण रहने उहाँको विश्वास छ ।

Shares

Be the first to comment on "सिमपानी वनमा चरिकोटको फोहोर व्यवस्थापन तथा प्रशोधन गरिने"

Leave a comment

Your email address will not be published.


*