सिंगटी सडकको मोडमा “पेनिट्रेसन मेकाडम”

दीक्षण समाचार
चरिकोट, २१ माघ
दोलखा उत्तर जोड्ने प्रमुख सडक दोलखा–सिंगटी सडकको मोड र अफ्ठेरो भू–भागमा बलियो र टिकाउ बनाउन ‘पेनिट्रेसन मेकाडम’ विधि अपनाइने भएको छ । कालोपत्रे भइरहेको उक्त सडकको अहिले अप्ठ्यारो र मोडहरुको काम बाँकी राखेर कालोपत्रे भइरहेको छ । तीन गाउँपालिकालाई सदरमुकाम र राजधानीसँग जोड्ने मुख्य मार्ग यही सडक हो ।
तिनै क्षेत्रमा माथिल्लो तामाकोरी लगायतका एक दर्जन बढी जलविद्युत आयोजनाहरु निर्माणाधिन छन् भने उत्तिकै संख्यामा निर्माणको चरणमा छन् । ठूला भारका सवारी साधन समेत अत्याधिक चल्ने यो सडककोे सवारीसाधनको चापलाई मध्यनजर गरी त्यस्ता अफ्ठेरो क्षेत्र र मोडमा यो विधि अपनाउन लागिएको आयोजना प्रमुख समेत रहेका डिभिजन सडक चरिकोटका प्रमुख धर्मेन्द्रकुमार झाले जानकारी दिए ।
ठूला गाडी गुड्ने सडकमा सवारी चाप थेग्ने खालको कालोपत्रे नगरेको भन्दै यो सडकको गुणस्तरबारे प्रश्न उठ्न थालेपछि सडक विभागले अफ्ठेरो भूभाग रहेको आठ किलोमिटर क्षेत्रमा बलियो कालोपत्रे हुने ‘पेनिट्रेसन मेकाडम’ विधि अपनाउन लागेको हो । ३५ किलोमिटर दूरीको दोलखा–सिंगटी सडक खण्ड मध्ये हालसम्म २० किलोमिटर बढी कालोपत्रे भइसकेको उनले जानकारी दिए ।
भुकम्पपछि एसियाली विकास बैंकको लगानीमा सडक विभागले ठेकेदारमार्फत कालोपत्रे गराइरहेको छ । हाल यो सडकमा डिबिएसटी विधिमार्फत कमसल खालको कालोपत्रे गर्न लागिएको भन्दै प्रश्न उठेपछि विभाग र दातृ निकाय त्यस्तो अफ्ठेरो भूभाग र मोडहरुमा बलियो विधि अपनाउने निर्णयमा पुगेका हुन् । कमजोर प्रविधिकको डिजाइनकै कारण कालोपत्रे भइसकेको सडक समेत ठूला भारका सवारी साधानले भत्किने र भासिने गरेको सर्वसाधारणको गुनासो आएको छ ।
डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख झाका अनुसार सडक खण्डको ओसिलो भूभाग, ‘सी’ आकारको क्षेत्र, उकालो भाग, पानी निकासका लागि बनाइएको ‘कज वे’को दुवैतर्फको भाग, सडक खण्डका बजार क्षेत्र र नाली नभएका स्थानमा यो विधिमार्फत बलियो खालको कालोपत्रे गरिनेछ । ‘सडकको तल्लो तहका ग्रेड, सबबेस र बेस बिछ्याउने क्षेत्रसम्म उस्तै विधि अपनाइन्छ,’ उनले भने, ‘त्यो भन्दा माथिल्लो तहमा ५० एमएमको गिट्टी बिछ्याएर त्यसमा प्रतिवर्गमिटर चार लिटरसम्म अलकत्रा हालेर त्यसमाथि १० एमएमको मसिनो गिट्टी बिछ्याइन्छ र पेलिन्छ ।’ उनका अनुसार यसरी कालोपत्रे गर्दा सडक बलियो हुन्छ ।
यो सडकको सबै खण्डमा बेसमाथि दुई चरणमा १४ र १० एमएमका मसिनो चिप्स गिट्टी प्रयोग गरी डिबिएसटी प्रविधि अनुसार कालोपत्रे गर्ने सुरुको इस्टिमेट विभागको छ । तर, सबै भागमा यो प्रविधिले सडकको कालोपत्रे वर्ष दिन पनि टिक्न गाह्रो हुने भन्दै प्रश्न उठेपछि त्यस्ता अफ्ठेरो क्षेत्रमा ‘पेनिट्रेसन मेकाडम’ विधिअनुसार कालोपत्रे गर्न दातृ निकाय सहमत भएको हो । पुरानो डिजाइनबाट कालोपत्रे गर्दा सडक टिकाउ नहुने भनेर सुरुमा निर्माण व्यवसायीले प्रश्न उठाएपछि चार किलोमिटरमा मात्र गर्ने भनेर डिजाइन पास भएको थियो । पछि थप अध्ययन गरेर थप ४ किलोमिटर क्षेत्रमा पनि यस्तो जोखिम देखेपछि त्यसलाई समेत थप गरी अहिले साँढे ८ किलोमिटर क्षेत्रमा डिजाइन परिवर्तन गरी नयाँ प्रविधि अपनाउन लागेको उनले बताए ।
“कालोपत्रे भइसकेको जोखिमयुक्त क्षेत्रमा समेत नयाँ डिजाइन अनुसारको कालोपत्रे हुन्छ” उनले भने “यो प्रविधि पुरानो डिजाइनभन्दा केही महङ्गो भए तापनि भेरियसनका आधारमा व्यवसायीलाई भुक्तानी गछौं ।” निर्माण व्यवसायीले अहिले सिसागोलाई आसपासको क्षेत्रमा यो ‘पेनिट्रेसन मेकाडम’ विधिअनुसार कालोपत्रे गरेको छ ।
सडकका परामर्शदाता कम्पनीका इन्जिनियर असिम घिमिरेका अनुसार जाडोयाम भएकाले १७ डिग्री मौसमभन्दा माथि रहेको समयमा मात्र कालोपत्रेको काम भइरहेको छ । ‘घाम लाग्ने र तापक्रम पुग्ने स्थानमा मात्र काम गराइरहेका छौं,’ दोलखा बजारदेखि कालोपत्रे सुरु भएर अहिले झमार्सी क्षेत्रमा कालोपत्रेको काम भइरहेको उनले जानकारी दिए । तर झमार्सीदेखि सिंगटीसम्म पनि बेस र सबबेसको काम जारी छ ।
ओसिलो र चिसो क्षेत्रमा भने चिसो मौसम सकिएपछि मात्र कालोपत्रेको काम गरिनेछ । सडक खण्डको राम्पा, सुनखानीको साखल्पु, सित्का, सेउलीबजार, झमार्सी लगायत क्षेत्र ओसिलो भएका कारण चिसो मौसमपछि मात्र कालोपत्रे हुने उनले जानकारी दिए ।
डिभिजन प्रमुख झाले अब फागुन अन्तिमसम्म सिंगटीसम्मको कालोपत्रेको काम पूरा हुने बताए । निर्माण व्यवसायीले प्रयाप्त मात्रामा उपकरण र जनशक्ति प्रयोग गरेर काम गरिरहेकाले समयमै काम पूरा हुनेमा आफू विश्वस्त भएको बताए ।

Shares

Be the first to comment on "सिंगटी सडकको मोडमा “पेनिट्रेसन मेकाडम”"

Leave a comment

Your email address will not be published.


*