सिंगटी–झ्याँकू चल्यो नियमित बस

दीक्षण समाचार
झ्याँकू,  पुस
गौरीशंकर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष प्रह्लाद कार्की अघिल्लो बुधबार दिनभर तिनेखू–गोर्पाङ सडक खण्डको भीरकुनामा सडकको काममा व्यस्त थिए । सडक खण्डको भीरकुनामा रहेको घुम्ती साँघुरो भएकाले ग्याविन भर्न र भीर काट्न स्काभेटर सहित स्थानीयसँग उनी पनि आफू ढुङ्गा बोक्ने काममा समेत व्यस्त थिए ।
वडा अध्यक्षसँगै चुनावमा वडा अध्यक्षकै रुपमा प्रतिस्पर्धा गरेको कार्कीकै निकटतम् प्रतिद्वन्द्वी कमलबहादुर खत्री सहितका उपभोक्ता समितिका सदस्यहरु पनि उत्तिकै खटिएका थिए । उनीहरु सडक विस्तार गरी बस चलाउन लामो समयदेखि खटिए तापनि त्यस दिन बस गाउँ पु¥याउनु थियो ।
स्थानीयको अभियानमा साथ दिए रोल्वालिङ यातायात सहकारी संस्थाले । स्थानीयको माग बमोजिम बस पनि सहकारीले पठायो । बस लिन सिंगटीसम्म उपभोक्ता समितिका अध्यक्ष सहित ३० जना बढी स्थानीहरु आइपुगे । बस लिएर गए, तर सडकको काम नसकिदा बस केही घण्टा रोकियो । बस गाउँ आएको खुशीयालीमा सडकको कामले रफ्तार लियो ।
साँझ ७ बजे घुम्तीको काम सकियो । बस पनि सजिलै छि¥यो, गाउँ पुग्ने वित्तिकै टोलटोलमा राती नै भए पनि स्थानीयले खुशीयालीमा बसको भव्य स्वागत गरे । बसलाई वडा अध्यक्ष कार्की सहितको टोलीले वडा नं. ३ को सर्सेपूसम्म पु¥याए । बस सजिलै गाउँ पुगेपछि वडा अध्यक्ष कार्कीले आफूलाई ठूलो सफलता मिलेको बताए ।

अब नियमित बस सेवा
बस उद्घाटन लगत्तै गौरीशंकर गाउँपालिकाको झ्याँकूमा सिंगटी हुँदै नियमित बस सेवा सुरु भएको छ । गाउँपालिका र ४ नं. वडा समितिले तिनेखू खोलादेखि गोर्पाङसम्मको सडक स्तरोन्नती गरे लगत्तै नियमित बस सेवा सुरु भएको हो ।
नियमित बस सेवा सुरु भए लगत्तै झ्याँकूबासी उत्साहित भएका छन् । अहिले बस सेवा काठमाडौंबाट सिंगटीहुँदै झ्याँकू सर्सेपूसम्म बस नियमित भएको छ । बस सेवा सुरु भए लगत्तै गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्का पनि झ्याँकू पुगे । केही ठाउँमा भएको समस्या सुधार गर्न वडा अध्यक्षलाई निर्देशन दिए ।
जनसंख्या र भूगोलको हिसावले झ्याँकू जिल्लाकै ठूलो भए तापनि सडक बनेर पनि नियमित बस चल्न सकेको थिएन । झ्याँकूबासीको नियमित किनमेलको बजार र प्रशासनिक बजार सिंगटी हो । गाउँपालिका कार्यालय पनि सुरीमा पर्छ । तर ३ वर्ष अघि खुलेको ट्रयाकमा साना निजी जिप र मोटरसाइकल, ट्याक्टर मात्र चल्दै आएका थिए ।
गौरीशंकर गाउँपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ जोड्ने यो सडक गाउँपालिकाकै गौरवको योजनामा पर्छ । तर तिनेखूदेखि गोर्पाङ खण्डमा ठाडो सडक भएका कारण गाडी चल्न सकेका थिएनन् । सडकको ग्रेड मिलाउने, चौडा गर्ने र मोड सुधारका लागि गाउँपालिकाले आफ्नै स्काभेटर समेत प्रयोग गरेको थियो ।
वडा अध्यक्ष कार्कीले चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको बजेड सकियो । थप बजेट भए केही सिम क्षेत्रमा ग्याविन लगाउने र पानी तर्काउने नाली बनाउँन पाए वर्खामा पनि सडक जोगाउन सकिने बताए । झ्याँकूमा बस सेवा चलेसँगै गौरीशंकर गाउँपालिकाका वडा नं. ९ बाहेक सबै वडामा बस सेवा पुगेको छ ।

Shares

Be the first to comment on "सिंगटी–झ्याँकू चल्यो नियमित बस"

Leave a comment

Your email address will not be published.


*