सिंगटी आयोजनाको बाँध क्षेत्रका संरचना परीक्षण

काठमाडौं– दोलखामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनाको परीक्षण गरिएको छ । निर्माण पूरा भएका सिभिल संरचनामा पानी भरेर परीक्षण गरिएको हो । ग्राभेल ड्राफ्ट र पहुँच नहरमा पानी भरेर परीक्षण सुरु गरिएको सिंगटी हाइड्रो इनर्जी कम्पनीका सञ्चालक बटु लामिछानेले बताए ।

उनका अनुसार अब डिसेन्डिङ बेसिन (बालुवा थिग्राउने पोखरी) को परीक्षण हुनेछ । आयोजनाको ८५ प्रतिशत निर्माण पूरा भएको पनि लामिछानेले बताए । आयोजनाको गत असोजमा छेडिएको पहिलो खण्डको सुरुङको ढलान कार्य अन्तिम चरणमा पुगेको छ । आगामी चैतभित्र ढलान पूरा गर्ने लक्ष्य राखिएको छ । यस्तै, सुरुङको दोस्रो खण्ड चैतभित्र पूरा हुँदैछ ।

दोस्रो खण्डमा अब ३ सय मिटर सुरुङ खन्न बाँकी रहेको कम्पनीले जनाएको छ । विद्युतगृहमा सिभिल संरचना निर्माणको काम पूरा भएको छ । विद्युतगृहमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा आउन सुरु गरेको लामिछानेले जानकारी दिए । २०७६ असारभित्र आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिकल तर्फको काम सम्पन्न गरेर साउनदेखि विद्युत उत्पादन गर्ने तालिका छ । विद्युतगृहमा १२.२ मेगावाट क्षमताका २ वटा युनिटबाट विद्युत उत्पादन गरिने छ।आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सिंगटी सबस्टेसनमा जोडिनेछ ।

४ अर्ब ६३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १ अर्ब ४५ करोड रुपैयाँ स्वपुँजी लगानी छ । सुरुमा १६ मेगावाटको अनुमतिपत्र लिइएको आयोजनाको क्षमता बढाएर २५ मेगावाट पुर्याइएको हो

Shares

Be the first to comment on "सिंगटी आयोजनाको बाँध क्षेत्रका संरचना परीक्षण"

Leave a comment

Your email address will not be published.


*