सिंगटीमा पहिरो, आठ घरमा क्षति

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन २६
बुधबार साँझ परेको वर्षाले दोलखाको उत्तरी क्षेत्रको सिंगटी बजार माथीबाट पहिरो खस्दा आठ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार विगु गाउँपालिका वडा नं. ४ सिंगटी खोलिखेम क्षेत्रमा पहिरोले आठ घर तथा पसलमा क्षति गर्नुका साथै ६५ घरधुरी जोखिममा परेको हो । बस्ती माथी रहेको सडकबाट पहिरो झरेको हो । पहिरोबाट घर र पसलमा क्षति भएपनि त्यहाँ बसिरहेकाहरु सबै भागेर बाँच्न सफल भएको दोलखाका प्रहरी प्रवक्ता सानु तामाङले बताउनुभयो । उहाँका अनुसार पहिरो गएको क्षेत्रमा सुरक्षाकर्मी सहितको टोलीले क्षतिग्रस्त घरबाट सामानहरु निकालेको छ, भने सडक अवरोधलाई पन्छाएर नियमित सवारी आवागनलाई सुचारु राखिएको छ । पहिरो स्थलमा अझै पनि पहिरो जाने जोखिम भएकोले स्थानीयलाई सुरक्षित स्थलमा आश्रय लिन प्रहरीले अनुरोध गरेको छ ।

मंगलबार मेलुङ गाउँपालिका वडा नं. ७ मा सितलीमा बाढी र पहिरो जाँदा १५ घरमा क्षति गरेको छ । बस्ती माथिको खहरेले बाढी बनेर बस्तीमा छिरेर क्षति गरेको हो । स्थानीयले भने भागेर ज्यान जोगाएका छन् । उनीहरु आफन्तकोमा आश्रय लिइरहेका छन् । वडाध्यक्ष नवराज खड्काका अनुसार बागमति प्रदेशका वन तथा वातावरण मन्त्रीले विशाल खड्काले बिहीबार पहिरोको निरीक्षण गर्नुभएको छ । मन्त्री खड्काले पहिरो नियन्त्रण तथा दिगो व्यवथापनका लागि काम गर्ने आश्वासन दिनुभएको छ ।

जिल्लामा केही दिन यता दिउँसो घाम चर्किने र साँझ परेपछि रातभरी पानी दर्किने मौसमले प्राकृतिक विपदका घटनामा वृद्धि भएको छ । वर्षा लागेँसँगै सधैँ त्रसित हुने जिल्लामा केही दिन देखि दिनहुँजसो आउन थालेको बाढी र पहिरोले सयौँ मानिसहरु प्रभावित बनेका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार घर, पसल सहित भौतिक संरचनामा क्षति गर्नुका साथै ठूलो क्षेत्रफलको खेती योग्य जमिन बगरमा परिणत भएको छ । विभिन्न स्थान जोखिमयुक्त बनेको छ । बाढी र पहिरोको जोखिम र त्रासमा सचेत भएर बस्दा मानवीय क्षति भने भएको छैन । प्रहरीले जोखिमयुक्त क्षेत्र नबस्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

Shares

Be the first to comment on "सिंगटीमा पहिरो, आठ घरमा क्षति"

Leave a comment

Your email address will not be published.


*