सिंगटीमा आरोग्य सेवा केन्द्र सञ्चालन

इश्वर बिश्वकर्मा
चरिकोट, फागुन ११
दोलखाको उत्तरी क्षेत्रको प्रमुख बजार सिंगटीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । विगु गाउँपालिकाको वडा नं. ४ को सिंगटी बजारमा स्थापना गरिएको केन्द्रको सोमबार पालिका अध्यक्ष युधिष्ठिर खड्काले उद्धघाटन गरे । केन्द्रको उद्धघाटन गर्दै अध्यक्ष खड्काले आयुर्वेद उपचार सेवामा नागरिकको आकर्षण बढेको र उक्त सेवालाई स्थानीय स्तरमै उपलब्ध गराउने उद्धेश्यले केन्द्र सञ्चालनमा ल्याइएको बताए । संघीय सरकारको “निरोगी नेपाल निर्माण अभियान” कार्यक्रम अन्तर्गत स्वस्थ जीवनशैली निर्माण गरी समुदायमा हुने विभिन्न किसिमका सर्ने र नसर्ने प्रकृतिका रोगको जोखिमलाई न्यूनीकरण गर्न, योग तथा जीवनशैली व्यवस्थापन नागरिकलाई आयुर्वेद सेवा प्रदान गर्ने उद्देश्य अनुरुप केन्द्र सञ्चालनमा ल्याइएको हो । आयुर्वेद औषधी उपचार, योगाभ्यास लगायतको सेवा दिने गरी सञ्चालनमा ल्याइएको सेवा केन्द्रमा १ जना कविराज र एक जना कार्यालय सहयोगी गरी २ जना कर्मचारीले निरन्तर रूपमा निःशुल्क सेवा दिने छन् । केन्द्रको कार्यालय भने स्वयम गाउँपालिकाले व्यवस्थापन गरेको हो । गाउँमै आरोग्य सेवा  केन्द्र स्थापना भएपछि आयुर्वेद औषधी तथा उपचारको लागि सहज हुने भन्दै स्थानीय खुसी भएका छन् । केही दिन अघि तामाकोशी गाउँपालिका वडा नं. ३ स्थित छौँडेमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । निकट भविष्यमा शैलुङ गाउँपालिकाको बाघखोर बजारमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आउने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "सिंगटीमा आरोग्य सेवा केन्द्र सञ्चालन"

Leave a comment

Your email address will not be published.


*