सिंगटीबाट महिनामा ४ दिन मात्र नागरिकता पाउने

दीक्षण समाचार
सिंगटी, ११ पुस
दोलखाको उत्तरी क्षेत्रका जनताको सुविधालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय दोलखाले प्रत्येक महिनामा चार दिन सिँगटीबाटै नागरिकता वितरण गर्ने भएको छ ।
हरेक महिनाको १ र २ गते तथा १५ र १६ गते इलाका प्रशासन कार्यालय, सिँगटीबाटै नागरिकता वितरण गरिने दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठले जानकारी दिए । यसअघि गत कात्तिक महिनादेखि कुनै हप्तामा बुधबार र विहिबार त्यहाँबाट नागरिकता वितरण गरिँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी पाठकले भने, ‘यही पुस १५ गतेदेखि कार्यँतालिका अनुसार सिँगटीबाट नागरिकता वितरणको काम सुरु हुन्छ ।’
तर सिँगटीबाट नागरिकता वितरण गर्नका लागि कर्मचारीको समस्या छ । इलाका प्रशासन कार्यालयमा खटाएको अधिकृत नआएको र नासु स्तरको कर्मचारी पदस्थापन भएकोमा उनी पनि केन्द्रीय कार्यालयमा काजमा रहेको बुझिएको छ । कर्मचारीको अभावमा सिँगटीबाट नागरिकता वितरण गर्ने काम काममा समस्या भए पनि जिल्ला प्रशासन कार्यालयबाटै कर्मचारी व्यवस्थापन गरेर भए पनि नागरिकता वितरण गरिँदै आएको र अब कार्यतालिका अनुसार त्यहाँबाट नागरिकता वितरण गरिने प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।
सिँगटीमा इलाका प्रशासन कार्यालय सञ्चालनको लागि घर भाडामा लिइएको छ भने आवश्यक कार्यालयीय सामग्रीहरुको व्यवस्थापन गरिएको छ । ति दिनमा नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालयबाटै अधिकृतस्तरका कर्मचारी (सहायक प्रजिअ) पठाउने भएको छ । पुस १ र २ गते सहायक प्रजिअ निमेश मिश्र गएर नागरिकता वितरण गरे ।
दोलखा जिल्लाको उत्तरी क्षेत्रको मुकामको रुपमा विकसित सिँगटी त्यो क्षेत्रका साविक २२ गाउँ विकास समितिको केन्द्र हो । हाल पनि गौरीशंकर, विगू र कालिन्चोकको अधिकांश गाउँपालिकाका जनतालाई सिँगटी केन्द्र पर्ने गर्छ । यो वर्ष इलाका प्रशासन कार्यालय, सिँगटीबाट ३ हजार बढीले नागरिकता लिइसकेको बताइएको छ ।

Shares

Be the first to comment on "सिंगटीबाट महिनामा ४ दिन मात्र नागरिकता पाउने"

Leave a comment

Your email address will not be published.


*