सिँगटीमा चाउचाउ उद्योग

इश्वर बिश्वकर्मा चरिकोट, मंसिर ४ बिश्वव्यापी बनेको कोरोना भाइरसले नेपालको उद्योगधन्दामा घातक प्रभाव पारेको छ । कतिपय उद्योग कोरोना कै कारण बन्द समेत भएका छन् । जसले गर्दा धेरै मानिसको रोजीरोटी गुमेको छ । तर समाजमा यस्ता पनि मानिस छन्, उनिहरु जुनसुकै चुनौतीको सामना गर्न पनि तत्पर हुन्छन् ।कोरोना भाइरसकै बिच केहि मानिसहरू आफ्नै गाउँमा उद्योगधन्दा खोली स्वरोजगार बन्ने र बनाउने प्रयासको थालनी गरेका छन् । यसको गतिलो उदाहरण बनेका छन्, गौरीशंकर गाउँपालिका वडा नं. ६ स्थित चङखुका ५५ वर्षिय फुर्वा शेर्पा र विगु गाउँपालिका स्थित ओराङका ३६ बर्षिय युवा ओम बहादुर तामाङ ।उनिहरुले जिल्लाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र सिँगटी बजारमा थुक्पा चाउचाउ उद्योग सञ्चालनमा ल्याएका छन् ।गत साउनदेखि ७ लाख रुपैयाँको लगानीमा उनिहरुले च्छोरोल्पा सिन्की चाउचाउ उद्योग सञ्चालन ल्याएका हुन् ।परिवारको सदस्यलाई समेत स्वरोजगार बनाउने र स्थानीय उत्पादित सामग्री सहजताका साथ बजार पाउने भएकोले उद्योग सञ्चालनमा ल्याईएको उद्यमी ओम बहादुर तामाङले बताए । उद्योगमा ५ जनतालाई आकर्षक तलब सहित रोजगार प्रदान गरिएको छ । उद्योगबाट दैनिक १२ सय देखि १५ सय पिस सिन्की चाउचाउ उत्पादन हुने गरेको छ । १२–१३ बोरा पिठो खपत हुने गरेको उद्यमी तामाङले बताए ।विपत्तिको कारण चाउचाउ उद्योग सञ्चालनका लागि धेरै चुनौती व्यहोर्नु परे पनि त्यसको सामना गरेको बताउदैं उद्यमी ओम बहादुर भन्छन् “कोरोनाले गर्दा उद्योगका लागि आवश्यक मेसिनरी उपकरण खरिद गर्न धेरै मंहगो शुल्क तिर्नु पर्यो ।” मोटर, टोली मेशिन मंहगो मुल्यमा खरिद गर्नु परेको उनले बताए ।
उनले भने “नेपालीहरुमा चाउचाउ प्रति रुची बढेको छ । त्यसैले आफ्नै गाउँमा उत्पादन भएका चाउचाउले पनि बजार पाउने विश्वासका साथ दुई जना मिलेर उद्योग खोलेका हौं ।”
साँच्चिकै ओम बहादुर र फुर्वाको विश्वास र आशा निराशामा परिणत भएन । उनिहरुको उद्योगमा उत्पादित सिन्की चाउचाउले कोरोना कहरमा पनि लोकप्रियता कमाउन सफल भईसकेको छ । सिंगटी बजारको होटलमा मात्र नभई गाउँगाउँको घरघरमा समेत खाजाको रुपमा च्छोरोल्पा सिन्की चाउचाउ पाक्न थालेको छ । बालबालिकादेखि बृद्ध समेतको लागि स्वादिष्ट र स्वादिलो परिकार च्छोरोल्पा चाउचाउ बनेको छ । चाउचाउहरुको भीडमा गाउँ देखि सहरमा पहिलो रोजाई बन्दै गएको छ, स्थानीय उत्पादन च्छोरोल्पा चाउचाउ ।मानिसमा बढ्दै गएको चाउचाउको रुचीले विभिन्न ठाउँबाट यसको माग आउने गरेको छ । यसलाई मध्यनजर गरि सञ्चालन ल्याईएको उद्योगबाट उत्पादित सामग्रीलाई जिल्लाभर नभई अन्य जिल्लामा समेत निर्यात गर्ने उद्यमीहरुले योजना बनाएका छन् ।सञ्चालक तामाङले भने “उत्पादित चाउचाउले सधैं यस्तै बजार पाएमा यसको परिमाण थप बढाई जिल्ला बाहिर समेत निर्यात गर्ने लक्ष्य लिइएको छौं ।” उनले भने “जसरी च्छोरोल्पा हिमताल नेपालीको आकर्षणको केन्द्र बनेको छ । त्यसरी नै च्छोरोल्पा चाउचाउ पनि सबैको आकर्षणको स्वादिष्ट परिकार बन्ने छ ।” बजारमा छुट्टै किसिमको पहिचान र ब्राण्ड स्थापना गर्न चाउचाउको गुणस्तर राम्रो बनाईएको उद्यमीहरु दाबी गर्छन् ।ओम बहादुर आठ कक्षा पास गरेर पढाई छाडी सीप सिक्न र काम गर्नेतिर लागे । केहि बर्ष फुर्वा अन्य व्यक्तिसँग संयुक्त रुपमा नेपाली कागज उद्योग सञ्चालन गरे । तर उद्यम गर्दागर्दै अन्य व्यक्तिलाई जिम्मा लगाएर विदेशी भुमि दुबैमा स्वरोजगार बन्न गएका थिए । उनले दुबैमा राम्रै काम पाएका थिए । राम्रै काम र दाम पाएपनि औपचारिक शिक्षा बिचमै छाडेकोमा पछुतो महशुस हुन थाल्यो । तर उनले पछुतो मानेर मात्र बसेनन्, उमेरले शिक्षा लिनबाट छेक्दैन भन्ने सोचे अनि एसइई दिने तयारीका साथ गत चैत महिनामा स्वदेश फर्किए ।तर कोरोना कहरका कारण लाखौं विद्यार्थी सहित उनले पनि एसइई परिक्षामा सहभागी हुन पाएनन् । परिक्षा नभएपनि विद्यालयको आन्तरिक मुल्याङ्कनबाट उनको उत्कृष्ट नम्बर आयो । तर उनले पढाइलाई निरन्तरता दिन पनि चाहेनन् । भने कोरोनाको कारण पठनपाठन पनि बन्द रहेका छन् उनलाई विदेशबाट साउले काममा फर्कन भनिरहेको थियो । तर पनि स्वदेशमै कम लगानीमा उच्च आम्दानी हुने र परिवारको सदस्यलाई समेत संलग्न गराउने उद्देश्यले उद्यम गर्ने तर्फ उनि अग्रसर भए । केहि समयपछि फुर्वासँग मिलेर उद्योग सञ्चालनमा ल्याएका हुन् । अहिले चाउचाउ उद्योग सञ्चालनमा ल्याएका दुबै उद्यमीले परिस्थिति सहज भएमा कागज उद्योग पनि पुन ः सञ्चालनमा ल्याई राम्रो आम्दानी गर्ने बताएका छन् । करिब १० बर्ष पछि दुबै जनासगैं पुनः उद्योग सञ्चालन गर्दा खुसी लागेको उद्यमी तामाङले बताए ।उनिहरुले स्थानीय सरकारले कोरोना कहरका बिच सञ्चालन भएका उद्योगलाई प्रोत्साहन र सहयोग गर्नुपर्ने बताएका छन् । सरकारले सबै प्रकारका उद्योग व्यवसायलाई संरक्षण र प्रवद्र्धनमा सहयोग हुने किसिमको नीति ल्याउनुपर्ने उद्यमी तामाङले बताए । उद्योग तथा व्यवसायलाई निरन्तरता दिन उद्यमी व्यवसायीको अभिभावक बनेर संरक्षण र सहजीकरण गर्नुपर्ने चाउचाउ उद्यमीहरुले माग समते राखेका छन् । उनिहरुले चलायमान हुन लागेको आर्थिक क्षेत्र अबपनि लकडाउन जारी भएको खण्डमा ठप्प भई संकट आईपर्ने जनाएका छन् ।

Shares

Be the first to comment on "सिँगटीमा चाउचाउ उद्योग"

Leave a comment

Your email address will not be published.


*