सापकोटा सभामुखमा निर्विरोध

काठमाडौं : सत्तारुढ नेकपाका नेता अग्‍नि सापकोटा सभामुखमा निर्विरोध भएका छन्। मंगलबार उम्मेदवारीका लागि  निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्‍का भएको हो।

तर, यसको औपचारिक घोषणा भने माघ १२ गते हुनेछ। १२ गते बस्‍ने प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ। त्यसपछि उनले सभाको अध्यक्षता गर्ने छन्।

संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यक्रम सार्वजनिक गरेको थियो। नेकपाबाट नेता अग्‍निप्रसाद  सापकोटाले संसद् भवन बानेश्वरमा पुगेर बिहान मनोनयन दर्ता गराएका थिए। यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने र समर्थन पनि कसैलाई नगर्ने निर्णय गरेको थियो।

 

बलात्कार प्रयासको अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ। सभामुख चयनमा नेकपाभित्रको आन्तरिक भागबन्डाको विवादका कारण झन्डै चार महिनापछि मात्र संसद्ले सभामुख पाएको हो। कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिने गरिन्छ। तर सभामुख चयनको किचलोले झन्डै एक महिनादेखि संसद अधिवेशन बन्धक बनेको छ।

नेकपाभित्र लामो विवाद र खिचतानीपछि आइतबार मात्र सभामुखका लागि अग्‍नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सभामुख चयन हुन नसक्दा ‘बिजनेस’ मा प्रवेश गर्न पाएको छैन। सभामुख चयनमा सहमति जुटाउन पटकपटक भएका प्रयास असफल भएपछि  संसद्को बैठक सूचना टाँगेर स्थगित हुँदै आएको थियो।

 

आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सापकोटा प्रचण्ड निकट मानिन्छन्। सभामुखका लागि सुवास नेम्वाङ, डा. शिवमाय तुम्वाहाङ्फे, पम्फा भुसालको नाम चर्चामा रहे पनि प्रचण्डकै विशेष पहल र प्रस्तावमा उनी सभामुखको उम्मेदवार बनेका हुन्।

को हुन् अग्‍नि ?

सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा धनपति र तिलमायाको कोखबाट सापकोटाको २०१४ साल फागुन २४ गते जन्म भएको हो। साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतान्तरले विजयी सापकोटा ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन्।

२०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले दुई वर्ष जेल जीवन बिताएका थिए । २०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा सापकोटा पराजित भएका थिए।

 

२०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका उनी माओवादी र सरकारबीच भएको दोस्रो वार्ता टोलीका सदस्यसमेत थिए। समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी २०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए। साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन समेत गरे । सापकोटाले शिक्षण पेशा छोडेर राजनीति गरेका हुन्।

२०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत नै थिए। सापकोटा २ पटक मन्त्री भइसकेका नेता हुन्। सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी अहिले नेकपा स्थायी समिति सदस्य हुन्।

 

Shares

Be the first to comment on "सापकोटा सभामुखमा निर्विरोध"

Leave a comment

Your email address will not be published.


*