सात दिन भित्र तामाकोसी बजार हटाउन ताकेता

चरिकोट– दोलखा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर ४० वर्षदेखि बसालिएको एउटा बजारका घरटहरा हटाएर खाली गराउने तयारी थालेको छ। सडक र वनक्षेत्र अतिक्रमण गरेर ४ दशकअघि बसालिएको जिल्लाको भीमेश्वर नगरपालिका ५ स्थित, तामाकोसी नदी किनारको नयाँपुल बजारलाई खाली गराउन प्रशासनले सूचना टाँसदेखि सर्वपक्षिय बैठकमार्फत निर्णय गराउने सम्मका सबै खाले पूर्व तयारी गरेको छ।

लामोसाँघु–जिरी सडक बिस्तार र बजार क्षेत्रमै निर्माण हुन लागेको दोहोरो लेनको पुल बनाउन बजारका घर टहराले अवरोध पु¥याएपछि स्थानीय अधिकारीहरुलाई सार्वजनिक जग्गा अतिक्रमण गरेर चार दशक अघिको यो पुरानो बजार खाली गराउन दबाब परेको हो। बिहिबार प्रशासनमा भएको सर्वपक्षिय बैठकपछि मंसिर पहिलो साता भित्र अतिक्रमित क्षेत्र आफैं छोड्न स्थानीयलाई सूचना दिइएको छ।

‘मंसिर पहिलो साता सम्म स्थानीयले आफैं खाली गरेनन, भने कानुन अनुसार बल प्रयोग गरेर हटाउछौं’ बैठकपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने – ‘खाली हुँदा सिङगै बजार क्षेत्र उठ्नेछ’। उनले यसअघि सडक डिभिजन कार्यालयले पटक पटक सूचना प्रकाशन गर्दा सडक र वन क्षेत्र अतिक्रमण गरेर बनाइएका टहरा नहटाइएको जानकारी दिदैं मंसिर पहिलो साता हटाउन लागिएको सुनाए। सडक डिभिजनले अन्तिम पटक प्रकाशन गरेको सुचनाको म्याद यही कार्तिक मसान्तमा सकिदैछ। स्थानीय जनप्रतिनिधिहरुको आग्रहमा एक साता म्याद थप गरिएको प्रशासनले जनाएको छ। ‘जनप्रतिनिधिहरुले सकेसम्म बल प्रयोग गरेर भन्दा पनि समन्वय गरेर हटाउने अन्तिम कोशिश गर्छौ भन्नुभएकाले मंसिर पहिलो साता सम्मको म्याद दिएका हौं’ रिजालले भने। प्रजिअ रिजालका अनुसार प्रशासनले पहिलो चरणमा नयाँपुल बजारसहित लामोसाँङघु जिरी सडक अन्तर्गत दोलखा जिल्लाको सिमानादेखि चरिकोट हुँदै मैनापोखरी र जिरीसम्म सडक अतिक्रमण गरेर बनाइएका टहरा हटाउने छ। पहिलो चरणमा नयाँपुल बजार र लामोसाघु जिरी सडकको अतिक्रमण हटाइनेछ। दोश्रो चरणमा जिल्ला भर सार्वजनिक जग्गा मिचेर ठड्याइएका अतिक्रमण हटाउने तयारी प्रशासनको छ।

Shares

Be the first to comment on "सात दिन भित्र तामाकोसी बजार हटाउन ताकेता"

Leave a comment

Your email address will not be published.


*