साउदीबाट थप तेल आयात गर्दै भारत

रोयटर्स । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेल तथा ग्यास उत्पादक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुसँग भेट गर्ने भएका छन् । भारतीय तथा अन्य मुलुकका इन्धन सम्बद्ध अधिकारीहरुसँगको भेटमा तेल तथा ग्यासको बढ्दो मूल्यबारे छलफल हुने बताइएको छ ।
उक्त बैठकमा पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक)का महासचिव मोहम्मद बारकिन्दो तथा भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानको समेत सहभागिता रहनेछ । साथै, ओएनसीजीका अध्यक्ष तथा प्रबन्ध निर्देशक शशी शंकर, आईओसीका अध्यक्ष सञ्जीव सिंह, गेज इन्डियाका प्रमुख बीसी त्रिपाठी, हिन्दूस्तान पेट्रोलियम कर्पोरेसनका अध्यक्ष मुकेशकुमार शरण, आयल इन्डियाका अध्यक्ष उत्पल बोरा तथा भारतीय पेट्रोलियम कर्पोरेसनका अध्यक्ष डी राजकुमार सहभागी हुने हिन्दूस्तान टाइम्सको समाचारमा उल्लेख छ ।
बैठकमा साउदी अरबका पेट्रोलियम मन्त्री खालिद ए अल फलिह, बीपीका सीईओ बब डुडले, टोटलका प्रमुख प्याट्रिक फयेन, रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी तथा वेदान्ताका प्रमुख अनिल अग्रवाल पनि सहभागी हुने अनुमान गरिएको छ ।
सन् २०१६, ५ जनवरीमा सम्पन्न पहिलो बैठकमा प्राकृतिक ग्यासको मूल्यमा सुधार गरिनुपर्ने सुझाव दिइएको थियो । अक्टुबर २०१७ को बैठकमा सार्वजनिक क्षेत्रका कम्पनीहरु ओएनजीसी (आयल एन्ड नेचुरल ग्यास कर्पोरेसन) र आयल इन्डियाको उत्पादन (तेल र ग्यास)मा विदेशी तथा निजी कम्पनीहरुलाई सेयर दिनुपर्ने राय प्रस्तुत गरिएको थियो । ओएनजीसीले यसको कडा विरोध गरेका कारण उक्त प्रस्ताव अघि बढ्न सकेको थिएन ।
संसारको सबैभन्दा बढी तेल निर्यात गर्ने साउदी अरबले भारतलाई आगामी नोभेम्बरमा ४० लाख ब्यारल थप तेल आपूर्ति गर्ने बताइन्छ । साउदी अरबबाट भारतले औसतमा प्रत्येक महिना साढे दुई करोड ब्यारल तेल आयात गर्छ । उता, भारत इरानबाट तेल खरिद गर्ने दोस्रो ठूलो मुलुक बन्दै आएको छ । इरानमाथि नोभेम्बर ४ देखि अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेपछि इन्धनलाई लिएर भारतमा चिन्ता बढ्न थालेको हो । भारतका कतिपय रिफाइनरिज कम्पनीहरुले अमेरिकी प्रतिबन्धपछि इरानबाट तेल आयात नगर्ने संकेत दिँदै आएका छन् । भारत संसारकै तेस्रो ठूलो तेल आयात गर्ने मुलुक हो । तेलको बढ्दो मूल्य, अमेरिकी डलरले कायम गरेको उच्च दरजस्ता कारणले भारतमा तेल खरिद निकै महँगो हुन पुगेको छ ।

Shares

Be the first to comment on "साउदीबाट थप तेल आयात गर्दै भारत"

Leave a comment

Your email address will not be published.


*