साइकल यात्रामा अभिनय कार्की

दीक्षण समाचार
चरिकोट, पुस १५

 दोलखाको कालिञ्चोक गाउँपालिका–३ का २२ वर्षिय युवा अभिनय कार्कीले बिहीबारदेखि सय दिनमा नेपाल घुम्ने गरी साइकल यात्रा सुरु गर्नुभएको छ ।
उहाँले फ्रस्ट्रेसन, डिप्रेसन र लागु औषध दुर्व्यसनलाई त्यागौं, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एक जुट बनौ भन्ने मुल नाराका सदरमुकाम चरिकोटदेखि यात्रा सुरु गर्नुभएको हो । यसअघि नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पैदल यात्रा गर्नुभएका कार्कीले त्यसको सफलतासँगै एक सय दिने नेपाल साइकल यात्रा सुरु गनुभएको हो । कालिन्चोक मन्दिर परिसरबाट यात्रा सुरु गर्ने तय गरेपनि प्रतिकुल मौसमको कारण चरिकोट सातदोबाटोबाट यात्रा सुरु गरिएको उहाँले बताउनुभयो । यात्रा चरिकोटबाट सुरु गरेर चित्त बुझाउनुभएको कार्कीले यात्रा समापन भने कालिन्चोकमा पुगेर गर्ने सुनाउनुभयो । उहाँको यात्रा प्रारम्भको अवसरमा चरिकोटमा उपस्थित भई जिल्ला समन्वय समितिका डबल पाण्डे, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामी, सोही पालिका वडा नम्बर ३ का वडाध्यक्ष निशान बुढाथोकी लगायतले यात्रा सफलताको शुभकामना दिनुभएको थियो । 
यात्राका क्रममा ७७ वटै जिल्लाका सदरमुकाम र विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्ने पनि कार्कीले योजना बनाउनुभएको छ । त्यसैगरी यात्राको बेला दोलखासहित विभिन्न जिल्लाको पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उहाँको उद्देश्य रहेको छ । यात्रा समापन पश्चात यात्राका क्रम गरिएका सचेतना कार्यक्रमबाट आएका सुझाव तथा जानकारीलाई प्रतिवेदनको रुपमा सार्वजनिक गर्ने उहाँले योजनासहित यात्रामा निस्कनुभएको हो । उहाँले भन्नुभयो “मैले धेरै समय अघिदेखि साइकल यात्राको मिति तय गरेको थिएँ । तर कोरोना महामारी र तयारी नपुगेका कारण पटक पटक मिति सार्नु पर्यो । आजबाट म नेपालको ७७ वटा जिल्ला पुग्ने गरी साइकल यात्रामा निस्किएको छु । निकै उत्साहित छु नै, उत्साहसँगै चुनौती पनि रहेको छ । उहाँले भन्नुभयो, “चिसो मौसमका कारण केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ । जसलाई संयमपूर्वक पार गर्छु ।” यात्रामा निस्कनुभएका अभिनय कार्कीले यात्रा सफलताका लागि भन्दै यसअघि जिल्लाका विभिन्न स्थानीय तहबाट सहयोग रकम संकलन गर्नुका साथै विभिन्न सङ्घसंस्थाबाट सहयोग ग्रहण गनुभएको छ । यात्रा शुभारम्भ अवसरमा उपस्थित भेलामा समेत उहाँले सहयोग रकम पाउनुभएको छ । उहाँले साइकल यात्रामा स्थानीय सरकार तथा सहयोगीहरूको सहयोगको अपेक्षा गर्नुभएको छ ।  

 

 

Shares

Be the first to comment on "साइकल यात्रामा अभिनय कार्की"

Leave a comment

Your email address will not be published.


*