साँघु विस्थापन, पुल निर्माण

इश्वर विश्वकर्मा
चरिकोट, असार ४
जनताको सुखदुःखमा साथ दिने नजिकको सारथी हो स्थानीय सरकार । यो सरकारले जनताको आकांक्षालाई सम्बोधन गर्न बलबुताले भ्याएसम्मको काम गरिरहेको छ । नागरिकलाई समृद्ध अनि सुखी बनाउने अभियानमा स्थानीय सरकारको भूमिका तारिफयोग्य छ । यस्तै काम गरिरहेको छ दोलखाको शैलुङ गाउँपालिकाले । जनप्रतिनिधिको सक्रियता, कर्मचारी बीचको तालमेल र नागरिकको अर्थपुर्ण सहभागिताको कारण पालिकाको सेवा प्रवाह र पुर्वाधार विकासमा कायापलट भएको छ ।
मोटरेबल सडक, बाटो, स्वास्थ्यचौकी, खानेपानी लगायतका पुर्वाधारमा उल्लेख्य फड्को मारिसकेको पालिका काठे साँघु विस्थापित गरी पक्की पुल निर्माणमा पनि जुटेको छ । जनप्रतिनिधि आएपछि यहाँका खोलामा २ वटा ट्रसका र ३ वटा झोलुङ्गे गरी ५ वटा पक्की पुल निर्माण भएका छन् । साँघु निर्माण भएपछि आवातजावतमा सहज भएको भन्दै यहाँका नागरिकहरु सरकारको प्रशंसक बनेका छन् ।
“न वर्षेनी काठको साँघु फेर्ने चिन्ता, न त लडिएलाकी, साँघु नै भाँचिएलाकी भन्ने डर ! साँघुको विकल्पमा पुल भएपछि यि सबै समस्या मुक्ति मिलेको छ” स्थानीयले भने “गाउँमा सिंह दरबार आएको महशुस गर्न पाएका छौँ ।” पाँच वटै पुल संघीय सरकार र गाउँपालिका लागत साझेदारीमा निर्माण भएका हुन् । लागतको ठूलो हिस्सा संघीय सरकारको रहेको छ । उपभोक्ता समिति मार्फत निर्माण भएको ति पुलमा स्थानीय उपभोक्ताले श्रमदान पनि गरेका छन् । यि पुल निर्माणका लागि प्राविधिक सहयोग झोलुङ्गे पुल सहयोग इकाई बागमती प्रदेश ललितपुरले गरेको हो । वडा नं. ४ र ५ जोड्न महवीर घट्टे खोला ट्रस पुल निर्माण गरिएको छ । उक्त पुल २७ लाख ९३ हजार ९ सय लागतमा गत वर्ष असारमा निर्माण सम्पन्न भएको हो । त्यस्तै सासिम पोटाले ट्रसको पुल निर्माण गरिएको छ । वडा नम्बर १ को दोरम्बा जोड्ने उक्त पुल २८ लाख ६६ हजार ९ सय रुपैयामा निर्माण सम्पन्न भएको हो ।
झोर खोला दोभान ट्रसको पुल यही वर्षको बैशाख महिनामा निर्माण भएको छ । २५ लाख ५९ हजार ६ सय रुपैयाँमा निर्माण सम्पन्न भएको उक्त पुलले शैलुङ जोड्ने काम गर्दछ । त्यस्तै पालिकाको वडा नंं. २ जोड्ने र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका जोड्न पसल खोला दोभान झोलुङ्गे पुल निर्माण गरिएको छ । जसको लागत २८ लाख ८९ हजार २ सय रुपैयाँ रहेको गाउँपालिकाका असिस्टेण्ट सब इन्जिनियर रामकाजी कार्कीले बताए । त्यसैगरी ३ र ६ नम्बर वडा जोड्न भुरुङ्गा खोला झोलुङ्गे पुल बनेको छ । २५ लाख ६ हजार ७ सय लागतमा निर्माण भएको उक्त पुलको लठ्ठा तान्ने काम बाँकी रहेको छ । सो कार्य यही १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भईरहेको असिस्टेण्ट सब इन्जिनियर कार्कीले बताए ।

Shares

Be the first to comment on "साँघु विस्थापन, पुल निर्माण"

Leave a comment

Your email address will not be published.


*