सहकारी दिवसमा दाेलखामा सामाजिक कार्य

भीमेश्वर बहिरा प्राथमिक विद्यालयलाइ स्टेशनरी तथा सरसफाइ सामग्री हस्तान्तरण गर्दै प्रगती साकाेस

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २०
‘सहकारी संस्था, सहकारीकर्मी, सहकारीमा आबद्ध सदस्य र सहकारी अभियान्ताहरुको महान पर्व हो, सहकारी दिवस । जिल्लाका सबै सहकारीकर्मी तथा सहकारी अभियान्ताहरु एकै ठाउँ भेला भई बडो ! तामझामका साथ सांस्कृतिक कार्यक्रम तथा ¥याली लगायतका औपचारिक कार्यक्रमका साथ मनाइन्थ्यो यो दिवस ।’ जिल्ला सहकारी संघ लि‍मिटेड दाेलखाका अध्यक्ष हेमन्त चौलागाईँ अघिल्ला वर्षहरुमा मनाइएको सहकारी दिवसको स्मरण गर्दै भन्छन् ‘तर यो वर्ष कोरोना कहर पुन ः सक्रिय भएकोले ठूला किसिमका कार्यक्रम नगरी तर सामाजिक कार्य गरी राष्ट्रिय सहकारी दिवस मनाउने निर्णय चैत्र १० गते गरिएको थियो । उक्त निर्णय अनुसार बालगृहलाई सहयोग देखि रक्तदान कार्यक्रम लगायतका कार्य गरी सप्ताहव्यापी रुमा यो दिवस मनाइएको छ । चैत्र १७ गते जिल्ला सहकारी संघ लिमिटेड दोलखाको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोग र विगु गाउँपालिकाको सहकार्यमा सिंगटीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए । जहाँबाट ४२ पिन्त रगत संकलन भएको थियो । त्यस्तै चैत्र १८ मा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले रक्तदान आयोजना गरेको थियो । सहकारी संस्थाको मुख्य कार्यालय बैत्यश्वर गाउँपालिका – ५ मैनापोखरी काब्रेमा आयोजित रक्तदान कार्यक्रममा ४९ जना पूरुष र ८ जना महिला गरी ५६ जनाले रक्तदान गरेका थिए । जहाँबाट ५६ पिन्त रगत संकलन भएको थियो । यसरी दिवसको अवसरमा सहकारी संस्था र संघले रक्तदान कार्यक्रम गरी पूण्य कर्म गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले धन्यवाद ज्ञापन गरे । पैसाको कारोबार गर्ने मात्र होइन, सामाजिक हितका लागि पनि अझ थप कार्यहरु सहकारी संस्थाको तर्फबाट हुनुपर्ने उनको भनाई रहेको छ । सामाजिक कार्य गरी दिवस मनाउने क्रममा चैत्त १९ मा जिल्ला सहकारी संघ लि. र जनहित बहुउद्धेश्यि सहकारीले संयुक्त रुपमा गौरीशंकर बालगृहका आश्रित बालकहरुलाई ३५ हजार बराबरको स्टेशनरी र खाद्यान्नको सामग्रीहरु वितरण गरेको छ । सोही दिन प्रगती साकोसले भीमेश्वर बहिरा प्राथमिक विद्यालयलाई २० हजार बराबरको स्टेशनरी र सरसफाईको सामग्री वितरण गरेको छ । हाम्रो जनकल्याण साकोसले आमाको माया छात्रबास रामकोटलाई खाद्यान्न लगायतका सामग्री वितरण गरेको छ । परोपकार महिला साकोसले आवाज नेपालद्धारा सञ्चालित स्नेह केन्द्रलाई २० हजार बराबरको २ बक्स पलङ र सारथी साकोसले १० हजार बराबरको सहयोग उपलब्ध गराएको छ । परम्परागत शैली भन्दा नयाँ र पृथक तरिकाले दिवस मनाइएको र यसले सन्देश राम्रो दिएको समेत संघका अध्यक्ष चौलागाईँले बताए । दुख र आपतविपतमा पनि सहकारी साथमा रहेको प्रत्याभूति दिलाउन राहत वितरण र रक्तदान कार्यक्रम गरिएको उनले बताए । यसले सबै समुदाय, वर्ग र जातजातीका निम्ति सहकारी अभियान सक्रिय छ । सबैलाई हातेमालो गर्छ, दीनदुखी र गरीबको सारथी सहकारी पनि हो भन्ने सन्देश दिन जिल्लामा यो प्रकारको कार्यक्रम गरिएको उनले बताए । यसका साथै अन्य विविध किसिमका कार्यक्रम पनि दिवसको अवसरमा सञ्चालन गरिएको थियो । चैत्र १३ मा हाम्रो जनकल्याण साकोसले खुल्ला दौड प्रतियोगिता, १४ गते मिलीजूली कालिन्चोक साकोसको आयोजनामा भीमेश्वर नगरपालिका मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता र आफ्ना असल ऋणी सदस्यहरुलाई असल ऋणी परिचयपत्र वितरण कार्यक्रम गरेको थियो । चैत्र १९ गते एकिकृत फ्रेन्डसीप साकोसको आयोजनामा रामेछापको गोकुल गंगा गाउँपालिका अन्तरक्रिया कार्यक्रम र गोकुल गंगा गाउँपालिका र जिरीमा मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको छ । दिवसको अवसरमा जिल्ला सहकारी संघले शुक्रबार बिहान चरिकोटमा चियापान तथा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । नेपालमा औपचारिक रुपमा सहकारी अभियान सूरु भएको ६४ वर्ष भएको छ । २०१३ साल चैत्र २० गते चितवन जिल्लामा बखान सहकारी संस्था दर्ता भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यस वर्षको सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’  रहेको थियो ।

Shares

Be the first to comment on "सहकारी दिवसमा दाेलखामा सामाजिक कार्य"

Leave a comment

Your email address will not be published.


*