सहकारी दिवसकाे अवसरमा रक्तदान

दीक्षण समाचार
चरिकोट, चैत्र १९
नेपालमा आइतबार ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ ६५ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । सोही अवसरमा दिवसको अघिल्लो दिन शनिबार दोलखामा विभिन्न कार्यक्रम गरिएको छ । मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमूखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आइतबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान, जीवन दान भन्ने नाराका साथ कार्यालय परिसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सासाइटी जिल्ला शाखा दोलखाको समन्वय र रक्त सञ्चार केन्द्र चरिकोटको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा सहकारीका पदाधिकारी, कर्मचारी सहित ३० जनाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटीका सभापति गोकर्ण प्रसाद पोखरेलले बताउनुभयो । नियमित रक्तदान कार्यक्रम नभएमा रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन गई शल्यक्रिया गर्नुपर्ने बिरामी तथा सुत्केरीलाई उपचारमा समस्या हुन सक्छ । समयमैँ रगत अभावमा बिरामीको ज्यानै जोखिममा पर्ने हुन्छ । यही कुरालाई दृष्टिगत गरी जिल्लामा महिनै पिच्छे कार्यतालिका अनुसार रक्तदान कार्यक्रम आयोजना हुने गरेको छ । कार्यक्रमको निरन्तरता स्वरुप सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरी सामाजिक उत्तरदायित्व बहन गरेको हो । सो क्रममा संस्थाको सामुदायिक कार्यक्रम अन्तर्गत मैनापोखरी बजारको स्वच्छताको लागि स्थानीयलाई डस्बिन समेत वितरण गरिएको संस्थाले जनाएको छ । त्यसैगरी जनसचेतन बचत तथा ऋण सहकारीले चरिकोटमा रहेको गौरीशंकर बाल गृहलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाका अध्यक्ष हेमन्त चौलगाईँले बाल गृहमा २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको बताउनुभयो । बालगृहको आवश्यकता अनुसार खाद्यान्न सामाग्री उपलब्ध गराएको र अन्य अवसर पारेर फेरि पनि सहयोग गर्ने सुनाउनुभयो । सहकारी संस्थाले आर्थिक कारोबार मात्र नभई सामाजिक कार्यमा समेत अग्रसर भएको उदाहरण प्रस्तुत गर्नका लागि बालगृहमा सहयोग गरिएको हो । कार्यक्रममा बागमती प्रदेश सहकारी संघका महासचिव जिवशराज खड्का, जिल्ला सहकारी संघका उपाध्यक्ष देवीप्रसाद शर्मा, गौरीशंकर बालगृहका अध्यक्ष रामप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दिवसमा बहस कार्यक्रम हुने
सहकारी दिवसको अवसमार चरिकोटमा बहस कार्यक्रमको आयोजना गरिने भएको छ । जिल्ला सहकारी संघ लिमिटेड दोलखाको अयोजनामा पत्रकार महासंघ दोलखाको हलमा “दोलखाको समृद्धिमा सहकारीले पुर्याएको योगदान“ विषयक बहस कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम आयोजना गरिएकोले संस्थाका सञ्चालक,कर्मचारी संस्थाका अन्य समिति उप–समितिहरूलाई उपस्थितिका लागि जिल्ला सहकारी संघका व्यवस्थापक अनिल दाहालले अनुराेध गर्नुभयाे । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा ‘बखान ऋण सहकारी समिति’ स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन रहेको हो । दोलखामा दुई वर्ष कोरोनाको कारण दिवस भव्य रुपमा दिवस मनाउन सम्भव भएन । तर सामाजिक कार्य भने दिवसको सन्दर्भमा सहकारी संस्थाहरुले गरेका थिए । ती कार्यहरुले सहकारी संस्थाको पहिचान र महत्व समाजमा देखिएको थियो । यो वर्षको सहकारी दिवसमा जिल्ला स्थित सहकारी संस्थाहरुले विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।

Shares

Be the first to comment on "सहकारी दिवसकाे अवसरमा रक्तदान"

Leave a comment

Your email address will not be published.


*