सरकारी अड्डा, मदिरा उत्पादन गर्ने अखडा !

इश्वर बिश्वकर्मा
चरिकोट, असार ९
दोलखामा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ जे हुनु पर्ने त्यो हुदैंन, अनि जे नहुनुपर्ने पर्ने त्यो हुन्छ । यही कारण चर्चा र विवादमा सदाबहार छाउँछ। बोच स्थित शितोष्ण फलफूल तथा रुटस्टक विकास केन्द्रको कार्यालय कर्मचारीको अस्वभाविक र अनौठो चर्चिकलाले चर्चित बनेको छ । फलफूल तथा अन्य नगदे बालीको विकास र उत्पादन गर्ने उद्देश्यले स्थापित सो कार्यालयमा पछिल्लो एक घटनाले घरेलु मदिरा उत्पादन गर्ने अखडा बनेकाे खुलासा भएको छ । मदिरा उत्पादन भईरहेको सूचना जिल्ला प्रहरी कार्यालय दोलखामा प्राप्त भएको थियो । सूचना पाउनासाथ परिचालित प्रहरी टोलीले आइतबार कार्यालयमा अनुगमनको शिलशिलामा यस्तो प्रमाण फेला पारेका हुन् । प्रहरीले कार्यालयबाट मदिरा उत्पादनमा प्रयोग गरिएका भाँडाकुँडा र कच्चा पदार्थसहित करिब ४० लिटर मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक अन्जन कोईरालाले कार्यालयमा अनुगमन गर्दा मदिरा उत्पादन भइरहेको भेटिएको र उत्पादित मदिरा बरामद गरिएको बताए। जिल्लामा यतिबेला निषेधाज्ञा जारी रहेको छ । यही मौका छोपेर केन्द्रको कार्यालय भने मदिरा उत्पादन गर्ने कारखानाको रुपमा परिणत हुन थालेको छ । धेरै अघिदेखि यस्ता गतिविधि हुने गरेको आरोप स्थानीयको छ । यसअघि रुटस्टकको बगानबाटै किवी चोरी भएको भन्ने खबर सार्वजनिक भएका थिए । तर चोरी भएको भनिएका किवी निमित्त कार्यालय प्रमुख विनोद रोक्कासहितको कर्मचारीको संलग्नतामा कार्यालयमा लुकाएर राखिएको र मदिरा उत्पादनमा प्रयोग भएको स्थानीयले आरोप लगाएका छन् । निमित्त प्रमुख रोक्काले सरोकारवालाको अनुमति नलिई मदिरा उत्पादन गर्नु गल्ती भएको बताए । उनले भने’ किवी फलबाट मदिरा उत्पादन हुने वा नहुने परीक्षण गरिएको हो । तर सरोकारवालाको अनुमतिबिनै त्यसो गरिनु हाम्रो भुल हो ।’ यस सन्दर्भमा जिल्ला प्रशासनलाई जानकारी गराईएको र प्रशासन मार्फत् आवश्यक छानबिन भईरहेको प्रशासनलाई प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "सरकारी अड्डा, मदिरा उत्पादन गर्ने अखडा !"

Leave a comment

Your email address will not be published.


*