समावेशी ग्रामीण विकासका लागि कोरियाले एक अर्ब बढी सहयोग गर्ने

काठमाडौँ, २६ भदौः कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (रु एक अर्ब ७ करोड) प्रदान गर्ने भएको छ । कोइका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच मङ्गलबार समावेशी ग्रामीण विकास परियोजना ९आइआरडिपी० का निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा कोरिया सरकारका तर्फबाट कोइकाका देशीय निर्देशक मोह्युन कोङ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरेका गर्नुभयो । कोइकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार परियोजनाको कार्यक्षेत्र बर्दिया जिल्लाका आठ स्थानीय तह हुनेछन् । परियोजनाको मुख्य उद्देश्य बर्दिया जिल्लाका समुदायको कृषि उत्पादनको लागि क्षमता अभिवृद्धि, बजार सम्बन्ध स्थापना गरी मूल्य अभिवृद्धिको एकीकरण मार्फत मूल्य शृङ्खलाको स्तरोन्नति गर्ने र पर्यावरणीय पर्यटन पहललाई बढावा दिई दिगो र लचिलो जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको प्रवद्र्धन गर्नु हो । त्यस अवसरमा देशीय निर्देशक मोह्युनले परियोजना नेपालको ग्रामीण विकासमा कोरियाली ज्ञान र प्रविधि ल्याउने अवसर हुने बताउँदै नवलपरासीमा पनि यस्तै परियोजनाको सफल कार्यान्वयन भएको जानकारी दिनुभयो । कोइकाको समावेशी ग्रामीण विकास परियोजना सन् २०१६–२०२२ सम्म नवलपरासीमा सफलतापूर्वक कार्यान्वयन भएको थियो । नेपालका अन्य भागमा पनि त्यस्ता परियोजनाको आवश्यकता महसुस भएकाले दोस्रो चरणको कृषि र ग्रामीण विकास परियोजना कार्यान्वयनमा ल्याइएको हो । कार्यक्रममा नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको स्मरणसमेत गरिएको थियो ।

Shares

Be the first to comment on "समावेशी ग्रामीण विकासका लागि कोरियाले एक अर्ब बढी सहयोग गर्ने"

Leave a comment

Your email address will not be published.


*