“समर प्रोग्राम” मार्फत विद्यार्थीलाई सीपोन्मुख बनाउँदै पाँचखाल

काभ्रे, ः पाँचखाल नगरपालिकाले उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीलाई ‘समर प्रोगाम’मार्फत समुदाय, उद्योग र शैक्षिक संस्थालाई जोडेर विद्यार्थीको सिकाइलाई सीपोन्मुख बनाउन अभियान थालेको छ ।
यसका लागि नगरले ‘कम्युनिभर्सिटी समर प्रोग्राम’को पहिलो संस्करण पाँचखालमा सम्पन्न गरेको छ । विद्यार्थीका अतिरिक्त क्रियाकलापका सिकाइलाई समाज र सीपउन्मुख बनाउने उद्देश्यले आयोजित अभियान कार्यक्रमले पाँचखाल नगरका विकासका मुद्दालाई सहभागी विद्यार्थीको अध्ययन–अनुसन्धान नगरका लागि ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ ।
“शिक्षाको ‘हब’ बनाउने उद्देश्य लिइएको पाँचखाल नगरलाई शैक्षिक संस्थाको सहकार्य एक मानकको रूपमा स्थापित हुनेछ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । उहाँका अनुसार नगरलाई शिक्षामा नवीनतम प्रयास गर्न अभियान अर्को एक कदम हुने भएकाले यसलाई नीतिगत तहबाट नै संस्थागत गर्दै लगिनेछ । पाँचखाल नगर र किङ्ग्स कलेजको संयुक्त आयोजनामा पाँचखालका १२ सहित अन्य जिल्लाका १९ विद्यार्थी सहभागी ६० दिने ‘कम्युनिभर्सिटी समर प्रोग्राम’को पहिलो संस्करण सकिएको हो ।
दीक्षान्त समारोहमा सहभागी भगवती माध्यमिक विद्यालय पाँचखालबाट कक्षा १२ को परीक्षा सक्नुभएकी छात्रा मोनिका लामाले यो कोर्सको पहिलो संस्करण पूरा गरेपछि उत्कृष्ट मार्कसिट प्राप्त गर्नु मात्र सिकाइ नभएको उल्लेख गर्दै पढेका विषयलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताउनुभयो । “साथीहरूसँग मिलेर गरेको कामबाट प्राप्त ज्ञान र अनुभव आदानप्रदान सबैभन्दा ठूलो धन रहेको पाएँ”, दुई महिनाको अनुभूति सुनाउँदै उहाँले भन्नुभयो ।
फिनल्याण्डस्थित कयानी युनिभर्सिटी अफ एप्लाइड साइन्सेस र अमेरिकास्थित वेस्टक्लिफ युनिभर्सिटीले स्वीकृत गरेको डाटा साइन्स, उद्यमशीलता र समाजशास्त्रको सेरोफेरोमा डिजाइन गरिएको अन्तरसङ्काय कोर्स कार्यक्रमको सिकाइ रहेको थियो । यस कोर्स डिजाइन र कार्यान्वयनमा राष्ट्रिय वाणिज्य बैंक, एफ वान सफ्ट, फुडमान्डु, कारखाना र काठमाडाँै अग्र्यानिक्स उद्योग साझेदारका रूपमा सहभागी भएका थिए ।
काठमाडौँबाट सहभागी भएका सौरभ काफ्ले यस कोर्षमा आबद्ध हुनुअघि आफू धेरै व्यक्तिको अगाडि बोल्न डराउने गरेकामा कार्यक्रममा सहभागीपछि समुदायको नजिक ल्याएको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “समुदाय र उद्योगका विभिन्न व्यक्तिसँगको अन्तरक्रियाले समाज हेर्ने मेरो आफ्नो दायरा निकै फराकिलो भएको छ ।”
यस्तै किङग्स कलेजबाट विद्यार्थीको मेन्टर र सहजकर्ता बन्नुभएकी भावना श्रेष्ठ समुदाय, उद्योग र एकेडेमियाबीचको साझेदारी शिक्षाका लागि अत्याधिक लाभदायक भएको बताउनुहुन्छ । उहाँलाई यो पहिलो संस्करणमै विद्यार्थीको भावनात्मक परिपक्वता विकास भएको अनुभूति भएको छ ।
नगरप्रमुख खरेलले सहभागी विद्यार्थीले पाँचखालमा ल्याइएका नयाँ तथा क्रमागत विकास निर्माणका योजनामा थप अध्ययन(अनुसन्धान गर्ने बताउनुभयो । “दोस्रो संस्करणको तयारीबारे पनि सोच्दैछौँ, साझेदारसँगको छलफलपछि तय गर्नेछौँ”, उहाँले भन्नुभयो ।
उहाँले पाँचखालमा विभिन्न ऐतिहासिक स्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई विद्यार्थीले आफ्ना अनुसन्धानको प्राथमिकतामा राख्न सुझाव दिनुभयो । नगरमा हाल पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ भने मदन भण्डारी विश्वविद्यालयका लागि जग्गा व्यवस्थापन संसद्बाट विधेयकसमेत पारित भइसकेको छ ।
बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम अन्तिम चरणमा रहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’, महिला उद्योग ग्रामको प्रक्रिया थालिएको, एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याइसकिएको छ । नगरमा ग्रीन स्मार्ट(सिटी निर्माणका लागि सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत सहरी विकास कार्यक्रम आयोजना गर्न रु ५० करोड बजेट विनियोजन गरिएको छ । ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरले खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । नगरले कृषि उत्पादनमा जोड दिइरहेका बेला खेतीयोग्य जमिन मास्न नदिने निर्णय गरेको हो । रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमिन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गरिने योजना बनाउने नगरको योजना छ । यस्तै पाँचखाल नगरले यस वर्ष लगानी सम्मेलनको आयोजना गर्ने आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा समेटेको छ । लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले आयोजना गर्ने सम्मेलनमा रु १५ अर्बको लक्ष्य लिएको जनाएको छ । सम्मेलनमा विशेषगरी कृषि र पशुपालनमा लगानकर्तालाई आकर्षण बनाउने योजनामा बनाइएको छ ।रासस

Shares

Be the first to comment on "“समर प्रोग्राम” मार्फत विद्यार्थीलाई सीपोन्मुख बनाउँदै पाँचखाल"

Leave a comment

Your email address will not be published.


*