इश्वर विश्वकर्मा
चरिकोट, असोज २६
नेपाली कांग्रेस दोलखाका नवनिर्वाचित सभापति बर्मा लामालाई साेमबार मेलुङ गाउँपालिका–५ मा स्वागत तथा सम्मान गरिएको छ।
कांग्रेसको १४ महाधिवेशन अन्तर्गत एक साता अघि सम्पन्न दोलखा जिल्ला अधिवेशनमा लोकप्रिय मतका साथ विजयी हुनुभएका सभापति लामालाई सम्मान गरिएको हो । स्वागत, चियापान तथा दशैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा नेता तथा कार्यकर्ता वडाध्यक्षहरुले सफलताको शुभकामनासहित खादामाला लगाएर सम्मान गरेका थिए । साथै उहाँबाट कांग्रेसलाई भरपुर योगदान प्रदान हुनेमा आशावादी रहेको स्थानीयहरूले सुनाएका थिए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै लामाले आफु सभापति भएपछि कोही कसैलाई काखा र पाखा गर्दिन भन्ने संकल्प गरेको र सोही अनुरुप सबैसँग सहकार्य र मेलमिलापबाट अघि बढ्ने बताउनुभयो ।
“ कसैलाई पनि काखा र पाखा नगरी लैजाने बाचा गरेको छु । सोही अनुसार अघि बढ्ने छु ।“ उहाँले भन्नुभयो “मान्छे मान्छे नै भएर बाँच्नुपर्छ सबैलाई सेवा गर्नुपर्छ सेवा भावले ने कांग्रेसले जित्नुपर्छ ।”
उहाँले अहिले नेपाली कांग्रेसको सरकार भएको तर बाध्यात्मक सरकार भएको उल्लेख गर्नुहुँदै नेपाली कांग्रेस प्रतिपक्ष बस्नुपर्ने पार्टी हो । यद्यपि कम्युनिष्टले चलाउन नसकी भताभुङ्ग पारेपछि नेपाली कांग्रेसले समाह्लेको बताउनुभयो।आगामी दिनमा कांग्रेसले बहुमतको सरकार ल्याएर देशलाई अग्र दिशामा लाने अठोट गरेको र यसमा जनताको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
दोलखामा भएको कमीकमजोरी आफुले नियाल्नु पर्ने जिम्मेवारी आएको बताउँदै मेलुङमा स्थानीय सरकारले विकासको मेरुदण्डको रुपमा रहेको सडकको स्तरोन्नति गर्ने काम नगरेपछि जनताले दुःख भोग्न बाध्य हुनुपरेको बताउनुभयो। “ सडकको लागि करोडौं खर्च गरिएको छ । तर दसैँमा आउँदा सडककै कारण मान्छेले दुख पाइरहेका छन् ।” उहाँले भन्नुभयो “अझै गाडीहरु राम्रोसँग चल्न सकेको छैन । बिरामी हुँदा एम्बुलेन्स सहज ढंगले चलाउन सक्ने स्थिति छैन । यी सबै सुधारको निम्ति कांग्रेसले खबरदारी र पहल गर्ने छ ।”
मेलुङ गाउँपालिका घर रहेको लामाले जिल्ला अधिवेशनमा रामचन्द्र पौडेल प्यानलबाट उम्मेद्वारी दिनुभएको थियो । उहाँ आठ सय ७७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको थियो ।
यसैबीच वडा नम्बर ६ को कांग्रेस वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ । सभापति लामाले पार्टी वडा कार्यालयको उद्घाटन गर्नुभएको हो । दुई वटा कोठा भाडा लिएर कार्यालय सञ्चालन गरिएको बताइएको छ ।
Be the first to comment on "सभापति लामालाई वडामा सम्मान"