सन् २०२५ मा शैलुङ भ्रमण वर्ष मनाइने

ईश्वर बिश्वकर्मा
चरिकोट, असार २०
दोलखाको शैलुङ गाउँपालिकाले सन् २०२५ मा शैलुङ भ्रमण वर्ष मनाउने भएको छ । भ्रमण वर्ष मनाउनका लागि आगामी आर्थिक वर्षबाटै प्रचारप्रसार र आवश्यक पूर्वाधारको निर्माण गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पालिकाका अध्यक्ष रिमल बाबु श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन बढाउँदै पर्यटनमार्फत समृद्धि हासिल गर्ने उद्देश्यसहित भ्रमण वर्ष मनाइने बताउनुभयो । पालिकावासी र पालिकाको समृद्धि र विकासका लागि पर्यटनको महत्वपूर्ण स्थान रहने हुँदा पर्यटकहरु बाह्रै महिना आउनको लागि सन्देशसहित भ्रमण वर्ष मनाउन लागिएको हो । यहाँ घुम्न योग्य थुप्रै पर्यटकीय स्थल रहेका छन् । ती मध्ये धार्मिक र प्राकृतिक अनुमपयुक्त एक सय भन्दा बढी थुम्का रहेको शैलुङ पर्यटकीय आकर्षणको केन्द्र र पालिकाको मुख्य पर्यटकीय सम्पति हो । शैलुङ डाँडा सहित अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी भ्रमण वर्षमा लाखौँ पर्यटक भित्र्याउने लक्ष्य लिइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्राकृतिक मात्र नभई सांस्कृतिक, धार्मिक, जीवनशैली परम्परा, खानपान समेत पर्यटकीय आकर्षण रहेको छ । अध्यक्ष श्रेष्ठले भ्रमण वर्षलाई सफल बनाउनका लागि आगामी आर्थिक वर्षबाटै तयारी थालिने बताउनुभयो । “नीति तथा कार्यक्रममै उल्लेख गरी भ्रमण वर्ष मनाउने योजना बनाएका छौँ । धार्मिक र प्राकृतिक अनुमप युक्त एक सय भन्दा बढी थुम्का रहेको शैलुङ पर्यटकीय आकर्षणको केन्द्र र पालिकाको मुख्य पर्यटकीय सम्पत्ति हो । त्यसको सफलताका लागि नयाँ आर्थिक वर्षदेखि नै तयारी थाल्ने छौँ ।” उहाँले भन्नुभयो, “ बढी भन्दा बढी पर्यटक आउनका लागि पूर्वाधार निर्माण र प्रचारप्रसारलाई व्यापक बनाइने छ ।” पूर्वाधार निर्माण अन्तर्गत पर्यटकीय क्षेत्रमा पुग्ने सडकलाई व्यवस्थित तथा स्तरोन्नति, पैदलमार्ग निर्माण तथा व्यवस्थित, पार्क, ताल, पोखरी लगायतका प्राकृतिक स्थलहरूलाई व्यवस्थित गर्ने,  सार्वजनिक शौचालय, खानेबस्ने सुविधाको लागि होमस्टे, होटल लगायतका पर्यटकीय पूर्वाधार निर्माण हुने अध्यक्ष श्रेष्ठको जानकारी दिनुभयो । उहाँले साहसिक खेल तथा साहसिक कार्यका लागि समेत सम्भावना रहेका क्षेत्रको पहिचान गरी आवश्यक संरचना निर्माण गरिने बताउनुभयो । रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल लगायतका माध्यमबाट शैलुङ गाउँपालिका घुम्न आउन पर्यटकहरूलाई निम्तो दिइने र पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गरिने बताइएको छ । शैलुङमा पर्यटकको संख्या बढाउनका लागि शैलुङ डाँडै काफी रहेको अवस्थामा मागादेउराली–कालापानी सडकको पिच हुन सकेमा पर्यटकको ओइरो लाग्ने छ । अध्यक्ष श्रेष्ठले पर्यटकीय गतिविधिलाई व्यापक नसक्नुको मुख्य कारण सडक रहेको बताउँदै सडक पिचका लागि पहल गर्ने बताउनुभयो । “कालापानीबाट शैलुङ डाँडा सम्म पुग्न चिनीको ग्रेटवालको झैँ झल्को दिने गरी मिनी ग्रेटवाल निर्माण भइरहेको छ । तर सडकको अवस्था भने नाजुक छ । त्यसैले सडक पहिलो प्राथमिका हो ।” उहाँले भन्नुभयो ।  मुडे–बाघखोर–कालापानी सडक ठेकेदारले अलपत्र पारिरहेकोले त्यसको पूर्णताका लागि ठेकेदारलाई ताकेता गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Shares

Be the first to comment on "सन् २०२५ मा शैलुङ भ्रमण वर्ष मनाइने"

Leave a comment

Your email address will not be published.


*