सन्दीपको चर्चा, दिल्ली डेयरडेभिल्सले गर्‍यो प्रशंसा

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आयोजक नामिविया विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण ४ विकेट नेपाललाई दिलाएका सन्दीप लामिछाने फेरि एकाएक चर्चामा आएका छन् । आईपीएलको दिल्ली डेयरडेभिल्समा आबद्ध भएका सन्दीप नामिवियाली भूमिमा पहिलो खेलमै जम्न सके ।

नामिवियाली पिच र त्यहाँको कण्डिसन सन्दीपको लागि विलकुलै अपरिचित थियो । उनी पहिलो पटक नामिवियाको भूमिमा घरेलु टोलीसँग नेपाली टिमको सदस्यको रुपमा मैदानमा छिर्दै थिए । नामिवियाका ब्याट्सम्यान सन्दीपबारे जानकार थिए । तर, सन्दीपको धारिलो बलिङमा क्रिजमा जम्दै गरेका खेलाडी पनि सिकार बन्दै मैदान छाड्न बाध्य बने ।
नेपालले घरेलु टोली नामिवियालाई १३८ रनमा नै अलआउट गर्दा सन्दीपले उत्कृष्ट बलिङ गरे । ८.२ ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै मात्र १८ रन खर्चेर ४ विकेट लिन सफल भए ।

टस हारेर पहिले ब्याटिङ गर्दै गरेको नामिवियाको इनिङ्सलाई ध्वस्तै पार्न कप्तान पारस खड्काले ११ औं ओभरको बलिङ गर्न सन्दीपलाई बल थमाए । आफ्नो पहिलो ओभरमा २ रनमात्रै दिएका सन्दीपले आफ्नो दोस्रो ओभरको अन्तिम बल अर्थात् १२.६ बलमा क्रिजमा जमेका जर्ज विलियम्सनलाई एलबीडब्लु आउट गराए । नेपाल विरुद्ध जर्ज नामिवियाका सर्वाधिक ४१ रन बनाउने खेलाडी बने ।

त्यसपछि सन्दीपले १६ ओभरको खेल चलिरहँदा नामिवियाका कप्तान सरेल बर्गरलाई पनि शून्य रनमा एलबीडब्लु आउट गराउन सफल भए । एकपछि अर्को विकेट लिने क्रममा सन्दीपले बर्नाड स्कोल्ट्सलाई १ रनमा आउट गराए । व्यक्तिगत चौथो विकेट लिने क्रममा सन्दीपले खेलको ३४.२ ओभरमा जोनाथन स्मिटलाई १८ रनमा आउट गराउँदै नामिवियालाई १३८ रनमै खुम्च्याउन सफल भए ।

सन्दीपले ४ विकेट लिएपछि आईपीएलको क्लब दिल्ली डेयरडेभिल्सले उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनकै प्रदर्शनमा नामिवियालाई १३८ रनमा रोक्न सफल भएको आफ्नो अफिसियल ट्वीटरमा उल्लेख गरेको छ । जनवरी २७ र २८ मा भारतमा सम्पन्न सर्वाधिक लोकप्रिय प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनबाट सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा किनेको थियो ।

दिल्लीमा सन्दीप आबद्ध भएसँगै विश्वका चर्चित क्रिकेट खेलाडीसम्मले बधाई दिएका थिए । एकाएक चर्चामा आएका सन्दीपले नामिविया विरुद्ध कसिलो बलिङ गर्दै आफूलाई प्रमाणित पनि गरेका छन् ।

Shares

Be the first to comment on "सन्दीपको चर्चा, दिल्ली डेयरडेभिल्सले गर्‍यो प्रशंसा"

Leave a comment

Your email address will not be published.


*