सत्य निरूपणमा भट्ट, बेपत्ता पारिएका व्यक्ति छानविन आयोग अध्यक्षमा सुवेदी सिफारिस

काठमाडौं, माघ ४–सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगमा अध्यक्षसहित सदस्य नियुक्तिका लागि नाम सिफारिस भएको छ।

नाम सिफारिस गर्ने जिम्मेवारी पाएका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको समितिले शनिबार बैठक गरी दुबै आयोगमा पूर्णता दिन नाम सिफारिस गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव कमलराज गौतमले विज्ञप्ति निकालेर दुबै आयोगका लागि अध्यक्षसहित पाँच/पाँच जना सदस्यका लागि नाम सिफारिस गरिएको उल्लेख गरेका छन्।

गौतमका अनुसार पदाधिकारीका नाम सिफारिससहित प्रतिवेदन शनिबार अपरान्ह कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालमार्फत् सरकारलाई बुझाइएको छ।

मन्त्री ढकालले प्रतिवेदन बुझेपछि प्राप्त जिम्मेवारी पूर्वप्रधानन्यायाधीश मिश्र नेतृत्वको समितिले कुशलतापूर्वक पूरा गरेकोमा धन्यवाद दिएका थिए।

नाम सिफारिस गर्नुअघि शनिबार विहान नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो।

उक्त छलफलमा ऐन संशोधनका लागि विधेयक सदनमा पेश गर्ने र सिफारिस समितिले पठाउने नाम स्वीकृत गर्ने सहमतिमा सत्ता-प्रतिपक्ष सहमतिमा पुगेका थिए।

सत्ता-प्रतिपक्षको उक्त छलफल सकिएको केही बेरमा बसेको नाम सिफारिस समितिले दुबै आयोगका लागि नाम पठाएको हो।

बेपत्ता पारिएकाहरूको छानविन आयोग आफूलाई राखेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रमुख प्रतिपक्षी कांग्रेसलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष दिएको छ।

सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्षका लागि गणेशदत्त भट्टको नाम सिफारिस भएको हो। यो आयोगमा एक सदस्य कांग्रेसले पाउनेछ। जसका लागि प्रचण्डमान श्रेष्ठको नाम सिफारिस भएको स्रोतको भनाइ छ।

उक्त आयोगमा नेकपा तर्फबाट गोविन्द गौतम, विष्णु पोखरेल र मन दाहालको नाम सिफारिस छ।

बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग नेकपाले लिएको हो। जसको अध्यक्षका लागि युवराज सुवेदीको नाम सिफारिस भएको हो। स्रोतका अनुसार सदस्यमा नेकपाबाट विष्णु भण्डारी छन्।

उक्त आयोगमा कांग्रेस निकटका सुनिल सिंह, सरिता थापा र गंगाधर अधिकारीको नाम सिफारिस भएको छ। सिफारिस भएका नाम अब बस्ने मन्त्रिपरिषद बैठकले पारित गर्ने बताइएको छ।

नाम सिफारिसका लागि गत वर्ष चैतमा मन्त्रिपरिषदले मिश्र नेतृत्व समितिलाई जिम्मेवारी दिएको थियो।

Shares

Be the first to comment on "सत्य निरूपणमा भट्ट, बेपत्ता पारिएका व्यक्ति छानविन आयोग अध्यक्षमा सुवेदी सिफारिस"

Leave a comment

Your email address will not be published.


*