सतर्कता अपाउन स्वास्थ्य कार्यालयको अनुरोध

ईश्वर विश्वकर्मा
चरिकोट, साउन ३
अस्ति शनिबार सम्म कोरोना सङ्क्रमण मुक्त रहेको दोलखा अब संक्रमण मुक्त रहेन । शनिबार सम्म जिल्लामा सक्रिय सङ्क्रमितको संख्या शून्य रहेकोमा आइतबारदेखि कोरोना संक्रमित भेटिन थालेका हुन् ।
आइतबार जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेललाई कोरोना संक्रमण पुष्टि भयो । भोलिपल्ट जिरी नगरपालिकाकै दुई जना र बैतेश्वर गाउँपालिका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  मंगलबार जिरी नगरपालिकाका एक महिलामा कोरोना पुष्टि भएसँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या पाँच पुगेको छ । ऐन्टिजेन परीक्षणको रिपोर्टमा कोरोना देखिएपछि संक्रमित सबै होम आइसोलेसनमा स्वास्थ्य लाभका लागि बसिरहेका छन् ।
तीन वर्ष सम्म चौतर्फी रुपमा फैलिएर त्यसपछि साम्य भएको कोरोना संक्रमण फेरी सक्रिय हुँदै पुनः फैलिन थालेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
 २०७६ देखि फैलिन थालेको कोरोना सङ्क्रमणले आतङ्कित बनाइरह्यो । बीचमा केही समय त्यसको प्रभाव निष्क्रिय हुँदा  जनजीवन सामान्य बनिसकेको छ ।  कोरोना कालमा बसेको मास्क लगाउने र दुई वा सो भन्दा बढी व्यक्ति भेट हुँदा निर्धारित भौतिक दुरी कायम गर्ने बानी हटिसकेको छ । तर कोरोना पुनः सक्रिय हुन थालेपछि फेरि ती बानीलाई निरन्तरता दिन अपरिहार्य भएको कार्यालय प्रमुख उत्तमराज खनालले सुनाउनुभयो ।
गाउँदेखि बजारसम्म हेर्ने हो भने स्वास्थ्य मापदण्ड प्रति नागरिकको चासो खासै देखिएको पाइदैन । अनुहारमा मास्क देखिदैन । व्यक्तिहरूमा दूरी कायम छैन । जताततै भीडभाड अत्यधिक छ । मानिसहरू निस्फ्रिक्री आवतजावत गरिरहेका छन् सवारीसाधनमा उस्तै कोचाकोच स्थिति छ । अहिले संक्रमण सुस्तरी फैलँदै गर्दा स्वास्थ्य मापदण्ड पालना गरी तीव्र गतिमा फैलिनबाट रोक्न सकेमा कोरोनाको सम्भावित क्षतिबाट जोगिन सकिन्छ । तर मानवीय क्षति हुन थाल्दा मात्र चनाखो हुने र आत्तिने पुरानै प्रवृत्तिले परिणाम घातक हुने प्रमुख  खनालले  बताउनुभयो ।  “अहिले न्यून व्यक्तिमा मात्र कोरोना देखिएको हो भनेर समयमै सजग र सतर्क नहुने हो भने पहिलेको झैँ कोरोनाको ठूलो महामारीको रूप नआउला भन्न सकिन्न ।” उहाँले भन्नुभयो’ “त्यसैले स्वास्थ्य मापदण्ड पालना गरौँ । खोप नलाएको भए खोप लगाऔं । कोरोनाबाट सुरक्षित बनौँ ।” उहाँले अहिले आत्तिहाल्ने अवस्थामा नभएको र रोकथामका लागि पूर्वतयारी भने आवश्यक रहेको बताउनुभयो ।

Shares

Be the first to comment on "सतर्कता अपाउन स्वास्थ्य कार्यालयको अनुरोध"

Leave a comment

Your email address will not be published.


*