सडक विस्तार गर्दा ढुङ्गा खसेर एक बालक घाइते

चरिकोट–विगू गाउँपालिका सिंगटी बजारमा सडक विस्तार गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर एक बालक घाइते भएका छन् । सिंगटीबाट विगू गाउँपालिका जाने सडक विस्तारको खोलिखिम बजारभन्दा माथिको घुम्तीमा स्काभेटरले काम गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा बजार नजिकमा हिड्दै गरेको बालक पवनजंग ठकुरी घाइते भएका हुन् ।
ढुङ्गाले टाउकोमा चोट लागेको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्चर मार्फत काठमाडौं लगिएको स्थानीय प्रकाश केसीले जानकारी दिए । घाइते बालकको उपचारका लागि गाउँपालिका उपाध्यक्ष सञ्जीव ओली आफैं अस्पताल पुगेका छन् ।
घटनापछि सिंगटीका बजार बन्द भएका छन् भने यातायात सेवा समेत बन्द छ । घटनापछि सडक विस्तारको काम समेत रोकिएको छ । पीडित पक्ष र गाउँपालिका बीच वार्ताको तयारी भएको छ ।
विगू गाउँपालिकाले एक महिना अघिदेखि सिंगटीदेखि गाउँपालिका केन्द्र लादुकसम्मको ९ किलामिटर सडक विस्तारको काम गरिरहेको छ । पुरानो साँघुरो सडकलाई न्यूनतम् ७ मिटर चौडाइ हुने गरी विस्तार गरिरहेको छ ।
सडक विस्तारको क्रममा सिंगटी खोलीखिममा केही दिन अघि विवाद समेत भएको थियो । विवादित ठाउँमा काम रोकेर अन्यत्र सडक विस्तार भइरहेको छ । खोलिखिम भन्ने ठाउँमा गुठीको जग्गामा जथाभावी बनेका घरले सडक साँघुरो छ ।

Shares

Be the first to comment on "सडक विस्तार गर्दा ढुङ्गा खसेर एक बालक घाइते"

Leave a comment

Your email address will not be published.


*