सडकमै आकर्षक भोर्ले झरना

तस्बिर सौजन्य बसन्त श्रेष्ठ

ईश्वर विश्वकर्मा
चरिकोट, साउन ३
दोलखाको उत्तरी क्षेत्रमा अवस्थित बिगु गाउँपालिका वडा नं. ४ लादुकमा रहेको भोर्ले झरनामा रमाउनेहरू बढ्न थालेका छन् ।
चट्टानयुक्त पहाडको फेदमा बनाइएको सडकमा चुचुरोबाट झर्ने झरना र तल प्रवाहित हुने नदीको सौन्दर्यमा सजिलै रमाउन सकिने भएकोले पर्यटकीय चहलपहलमा बढोत्तरी हुन थालेको हो ।
भीरको फेदमा एवं नदी किनारमा चट्टान खोपेर निर्माण गरिएको सिंगटी–लामाबगर सडक खण्ड अन्तर्गतको  सडक छ । झरनाको पानी सोही सडकमा झर्दै २० मिटर बगेर तामाकोसी नदीमा मिसिन्छ । सडकमा गुड्ने सयौं सवारी साधन झरनाको पानीले धेरथोर भिजेर जान्छन् । कतिपय यात्रु भने घण्टौँ सम्म गाडी रोकेर झरनाको चिसो पानीले स्पर्श गराउँदै शीतलता र आनन्द लिने गर्छन् ।


झरनासँगको सामिप्यमा मित्रताको साइनो गाँसेर फोटो खिच्दै, टिकटक भिडिओ बनाउँछन् । कतिपय त यही झरना अवलोकन गर्ने मुख्य उद्देश्यले टाढा टाढाबाट पनि आउने गरेका छन् । उनीहरू झरनाको  अनुपम र मनोरम सौन्दर्य देखेर लठ्ठै हुन्छन् । पछिल्ला दिनहरूमा सुन्दरताले भरिपूर्ण  भोर्ले झरनामा पुग्ने पर्यटकको संख्या बढ्न थालेको हो ।
शुक्रबार, शनिबार सहित बिदाको दिन बाह्य तथा आन्तरिक पर्यटकको भीडले झरना क्षेत्रको सडक जाम नै हुन्छ । उखरमाउलो गर्मीलाई छल्न थकान र उत्सुकता सहित झरनामा पुगेका पर्यटकहरू चिसो पानीले शीतलता र मज्जा लिँदै थकान मेट्छन् ।  प्रकृतिको काखमा लुटपुटिँदै, याद तथा अनुभव सँगाल्दै अर्को पटक फेरी फर्की आउने प्रण गर्छन् ।
केही दिन अघि त्यही बाचा सहित झरनामा रमाएर चरिकोट स्थित घर फर्किनु भएका हिरालाल विश्वकर्माले झरना देशकै नमुना र अत्यन्त रमाइलो लागेको बताउनुभयो । “तल तामाकोसी नदी । माथि भीरबाट पानीको फोहोरा सडकमै झर्ने । सवारी साधनमा रहेका कतिपय यात्रुलाई डर पनि लाग्छ ।” उहाँले भन्नुभयो “तर त्यही यात्रु गाडीबाट ओर्लेर झरनाको पानीमा जब खेल्छ । तब उसले स्वर्ग त्यहीँ पाउँछ। स्वर्गीय आनन्द अनुभव गर्छ ।” उहाँले यस्तो प्रकारको झरना कमै मात्र हुने भएकोले एक पटक त्यहाँ पुग्न अनुरोध गर्नुभयो । चंखुका आङदोर्जे शेर्पाले सिंगटी–लामाबर सडक हुँदै यात्रा गर्दा भोर्लेको झरना हेर्न पाउँदा निकै रमाइलो लाग्ने बताउनुभयो । उहाँले झरनाको चिसो पानी छोएर जाँदा शरीरमा स्फूर्ति पैदा हुने र दोलखामा जन्मिनुमा गौरव महसुश हुने बताउनुभयो । प्राकृतिक सुन्दरताले भरिपूर्ण दोलखा आफ्नो जन्मस्थान हुनुमा आफूलाई सौभाग्य व्यक्ति ठान्नुहुन्छ । उहाँले भन्नुभयो “भोर्ले झरनाको पानी एक पटक छोएर त हेर्नुहोस्, अनि पाइने छ स्वर्गको आभास ।”


पैदल मार्ग समेत राम्रो नहुँदा कतिपय झरनामा पुग्नै कठिन हुन्छ । घना वनजङ्गल र भिरपाखा छिचोलेर सकसले पुग्नुपर्ने हुन्छ । तर भोर्ले झरना जिल्लाकै नमुना झरना हो, कि जहाँ पुग्न कुनै कठिनाइ बेहोर्नु पर्दैन । सवारी साधन मार्फत जो सुकै व्यक्ति पनि सहजै पुग्न सक्छ । उत्तरी क्षेत्रको मुख्य बजार सिंगटी नजिकै रहेको भोर्ले झरनामा पुग्न २० मिनेट लाग्छ । सिंगटीबाट तीन किलोमिटर दुरीमा अवस्थित सो झरना चरिकोट देखि ३९ किलोमिटर दुरीको सडक हुँदै पुगिन्छ । झरनामा नियमित पर्यटक आउने वातावरणका लागि प्रचारप्रसारलाई व्यापक पारिएको वडाध्यक्ष रामचन्द्र खड्काले बताउनुभयो । प्राकृतिक रुपमा रहेको झरना अद्भूत र रमणीय भएको बताउँदै वडाध्यक्ष खड्काले चट्टानबाट झर्ने झरनामा कुनै जोखिम नरहेको सुनाउनुभयो । “सडकमै झर्ने झरनाले सौन्दर्य बढाएको छ । तर कतिपयलाई लाग्न सक्छ पहिरो जान्छ ! तर ढुँगैढुँगा भएकोले त्यस्तो कुनै जोखिम छैन ।” उहाँले भन्नुभयो “ पर्यटक तथा यात्रुले कुनै डर मान्नुपर्दैन ढुक्कले झरना अवलोकन गर्नुका साथै ढुक्कले यात्रा गर्दा हुन्छ ।” उहाँका अनुसार वर्षाको बेला झरनामा पानीको मात्रा बढ्छ । त्यसैले अहिले झरना मनमोहक भएको छ ।

Shares

Be the first to comment on "सडकमै आकर्षक भोर्ले झरना"

Leave a comment

Your email address will not be published.


*