‘संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल

लुम्बिनी, २६ भदौः लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती विषयक छलफल कार्यक्रम गर्ने भएको छ । संविधान दिवस मनाउने कार्यक्रमअन्तर्गत संविधानका विषयमा विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम आयोजना गरिएको हो । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन भएको छ । आगामी असोज २, ३ र ४ गते प्रदेशमा विविध कार्यक्रम आयोजना गरिने छ । असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गर्नेलगायत कार्यक्र निर्धारण गरिएको छ । यसैगरी, असोज ३ गते संविधान दिवसको मूल समारोह कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीसहित बिहान प्रभातफेरी गरिने र राप्ती उपत्यका देउखुरीमा मूल समारोह आयोजना गरिने जनाइएको छ । असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाको समन्वयमा वृक्षारोपण गरिने छ । –––

Shares

Be the first to comment on "‘संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल"

Leave a comment

Your email address will not be published.


*