शैलुङ जाने सडक सुधार हुने

दीक्षण समाचार
चरिकोट, ३० फागुन
दोलखाको पर्यटकीय क्षेत्र शैलुङ्ग प्रवेश गर्ने मुख्य मार्ग स्तरोन्नती हुने भएको छ । सिन्धुपाल्चोकको मुडे–देउराली– कालापानी सडक ३ नम्बर प्रदेश सरकारको सहयोगमा स्तरोन्नती (कालोपत्रे) हुने भएको छ । सडक स्तरोन्नतीका लागि सडकको डिपीआर समेत भइसकेको छ ।
शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले सडकको स्तरोन्नतीका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालयले तयारी थालेको जानकारी दिए । डिपीआर गर्दा सडकको बहुवर्षिय ठेक्कामा लगानी बढी लाग्ने देखिएको उनले बताए ।
लगानी बढी लाग्ने देखिएपछि अहिले बाघखोरसम्मको सडक मात्र कालोपत्रे गर्ने तयारी भए तापनि गाउँपालिकाले कालापानीसम्मै कालोपत्रे गर्ने अडान राखेको छ । संभवन गाउँपालिकाको अडान अनुसारै कालापानीसम्मको १९ किलोमिटर सडक नै कालोपत्रे हुनेमा आफू विश्वस्त रहेको बताए ।
सडकको डिपिआर सम्पन्न गरि यातायात पुर्वाधार निर्देशनालय पठाइएको र केही दिन भित्र सबै प्रकृया पुरा गरि टेन्डर आह्वान गर्ने तयारी भएको जानकारी दिए । उक्त सडक सुधार भए शैलुङको पर्यटन विकास गर्न सकिनेमा गाउँपालिका विश्वस्त छ । सडक सुधार भए शैलुङ क्षेत्रमा उत्पादन हुने आलु सस्तो ढुवानीमा काठमाडौं पु¥याउँदा किसानले समेत राम्रो आम्दानी लिन सक्ने अवस्था छ ।
मुडे बाघखोर कालापानी सडकलाई बहुवर्षीय सडक आयोजनाको रुपमा विकास गर्ने तयारी भएको पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका सिनियर डिभिजन इन्जिनियर श्याममणि काफ्लेले आयोजना स्विकृतिको अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले पर्यटकीय सडक भएकालेपनि बहुवर्षीय आयोजनाको रुपमा विकास गर्न लागिएको प्रतिक्रिया दिएका छन् ।
कार्यालय प्रमुख काफ्लेले डिपीआर गरिएको झण्डै २० किलोमिटर सडक मध्ये शैलुङको ढुंगे क्षेत्रको झण्डै ३ किलोमिटर सडकमा भौगोलिक समस्या देखिएकोले तत्काललाई उक्त खण्डबाहेक अन्यत्र मात्र काम हुन सक्ने समेत जनाएका छन् ।
उनले प्रदेश सरकार अन्तर्गत यातायात पुर्वाधार निर्देशनालयबाट बहुवर्षीय सडक आयोजनाको रुपमा विकास गर्न सहमति भैसकेको तर स्विकृति हुन भने बाँकी रहेको जनाएका छन् । सिन्धुपाल्चोक र दोलखा कार्यक्षेत्र भएको पुर्वाधार विकास कार्यालयले दुवै जिल्लाका लागि उक्त आयोजना निकै महत्वपुर्ण हुने जनाएको छ ।
पुर्वाधार विकास कार्यालयका अनुसार उक्त सडकमा अस्फाल्ट प्रविधि अनुसार कालोपत्रे हुने छ । उक्त प्रविधि निकै खर्चिलो र दिर्घकालिन हुने सडक विभागका अधिकारीहरुले जनाएका छन् । कार्यालय प्रमुख काफ्लेका अनुसार उच्च हिमाली क्षेत्र भएकाले पनि उक्त प्रविधि जरुरी भएकाले सोही अनुसारको डिजाइन गरिएको हो । उक्त प्रविधि अन्तर्गत मोटो गिटी, मसिनो गिटी, बालुवा सिमेन्ट र अलकत्रा मिसाएर १८ डिग्रि तापक्रममा ५ सेन्टीमिटर उचाइ हुने गरि कालोपत्रे गरिने कार्यालय प्रमुख काफ्लेले जानकारी दिए ।
सडक विभागले लगाएको मुडेदेखि भैंसे सडकको १६ किलोमिटर सडक ठेक्का लगाएर ठेकेदारले काम नगरेपछि एक वर्ष अघि ठेक्का तोडेको थियो । ठेक्का तोडेपछि गाउँपालिकाले अहिलेसम्म बाघखोरसम्म २ करोड बढी लगानी गरेर सडक सुधार गरेको छ ।

Shares

Be the first to comment on "शैलुङ जाने सडक सुधार हुने"

Leave a comment

Your email address will not be published.


*