शैलुङ गाउँपालिका ७ हुलाकेका राजु, जसले बाख्रा पालनबाट बनाउदैँछन् भविष्य

इश्वर बिश्वकर्मा
चरिकोट, भदौ १९
२०६१ सालमा मलेसिया गएका शैलुङ गाउँपालिका वडा नं ७  हुलाकेका राजु खड्काले सोचे अनुरुपको काम र दाम पनि पाए । तर पराई भुमी र विदेशीको आदेशमा काम गर्नुपर्दा भने उनलाई सन्तुष्टि प्राप्त हुन सकेको थिएन । परिवार र आफ्नो देशबाट टाढा रहँदा उनलाई नरमाइलो लाग्थ्यो । उनले विदेशमा पसिना बगाउनु भन्दा आफ्नो गाउँमै फर्केर परिवारसँग रमाउदैँ व्यवसाय गर्ने सोच बनाए ।

उर्जाशिल समयलाई सदुयोग गर्ने प्रणका साथ २०६९ सालमा स्वदेश फर्किए । स्वदेश फर्किएपश्चात् उनले टर्कि पालन व्यवसाय गरे । तर राजुलाई टर्किले पनि सन्तुष्ट पार्न सकेन । २०७१ सालमा राजुले बाख्रा पालन गर्ने सोच बनाए । तर बाख्रा पालन सम्बन्धी कुनै किसिमको ज्ञान थिएन उनलाई ।
बाख्रा पालनको लागि पशुप्राविधिकसँग खोरदेखि घाँस व्यवस्थापन तथा हेरचाहको विषयमा जानकारी लिएपछि उनले करिब १७ लाखको लगानीमा बोयर जातको बाख्रा पालन सुरु गरे । झापाबाट बोयर जातको बाख्रा खरिद गरि गाउँमा ल्याई बाख्रा पालन सुरु गरेका हुन् ।

“गाउँमै बसेर बाख्रा पाल्दा सन्तुष्टी प्राप्त भइरहेको छ ।

अब केही वर्षमै आम्दानी पनि हुन थाल्ने छ ।”

अहिले उनको दैनिकी बाख्राको खोर सफा गर्ने, दानापानी तथा घाँस खुवाउने लगायत हेरचाह र स्याहारसुसारमा बित्छ । फार्ममा साना ठुला गरि ५० वटा बाख्रा रहेका छन् । उनले ५ रोपनी क्षेत्रफलमा सुपर नेपियर, भटमासे लगायतको घाँस लगाएका छन् । स्थानीय जातको बाख्राको तुलनामा बोयर जातको बाख्राको राम्रो उत्पादन र उत्पादकत्व भएकोले बोयर जातको बाख्रा पालन गरिएको उनि बताउँछन् ।

उनलाई गाउँपालिकाकाले बाख्रा पालनमा सहयोगको लागि ६ लाख रुपैँया अनुदान समेत दिएको छ । उनले व्यवस्थित खोर बनाएका छन् । उनलाई बाख्रा पालनमा परिवारको पनि त्यतिकै सहयोग रहेको छ । उनले बाख्राको संख्या बढाएर १ सय भन्दा बढि पु¥याउने लक्ष्य राखेका छन् ।

बाख्रामा कुनै समस्या तथा रोग देखा परेको खण्डमा सदरमुकामसम्म धाइराख्नु पर्दैन । उनि आफै त्यसको समाधान तर्फ लाग्दछन् । तर ठुलै किसिमको रोग वा समस्या आइपरेको खण्डमा वडाको पशु सेवा प्राविधिकलाई सम्पर्क गर्दछन् । उनि भन्छन् “गाउँमै बसेर बाख्रा पाल्दा सन्तुष्टी प्राप्त भइरहेको छ । अब केही वर्षमै आम्दानी पनि हुन थाल्ने छ ।”
उनि भन्छन् “विदेशमा आफ्नो महत्वपुर्ण समय खेर गएकोमा अहिले पछुतो लाग्छ । स्वदेशमै आयआर्जनको धेरै बाटो र पाटो रहेको छ । यहिँ सम्भावना रहेको छ हामी युवाले चाहेको खण्डमा आफ्नै गाउँमा पैसा कमाउन सक्छौँ ।”
खड्काले विभिन्न कामको अनुभव लिएका छन् । तर उनलाई कृषि पेशा उचित लागेकोले कृषितर्फ योगदान दिने योजना सहित फरक ढंगले बाख्रा पालनमा लागेका छन् ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिका ७ हुलाकेका राजु, जसले बाख्रा पालनबाट बनाउदैँछन् भविष्य"

Leave a comment

Your email address will not be published.


*