शैलुङ गाउँपालिकामा बोलेरो नै एम्बुलेन्स !

इश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २४
विश्वरभर फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बृद्धि भईरहेको छ । यस्तो अवस्थामा आइसोलेसनमा उपचार गर्नुपर्ने संक्रमितलाई अस्पतालमा सुरक्षित ओसारपसारका लागी एम्बुलेन्सको अभाव हुन सक्छ । भएका एम्बुलेन्स पनि समस्या जटिल भएको खण्डमा पर्याप्त नहुन सक्छ । यो संकटको बेला एम्बुलेन्सको विकल्पमा केही स्थानीय तहका जनप्रतिनिधिले नागरिकलाई सुविधा दिन आफू चढ्ने गाडीलाई नै एम्बुलेन्स बनाएको समाचारहरु सञ्चारमाध्यम प्रमुख समाचार बन्न थालेका छन् । संक्रमित थपिदैँ जाँदा उनिहरुको उपचारका लागी अस्पताल लैजान एम्बुलेन्स अभाव भएपछि विकल्पमा पालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरुले प्रयोग गर्ने गाडीहरुलाई संक्रमित ओसारपसार गर्ने प्रयोजनार्थ दिन थालेका हुन् । अरुबेला एम्बुलेन्स खरीदमा चासो नदिने तर एम्बुलेन्सको आवश्यकता महशुस भएपछि आफ्नै गाडी, बिरामीलाई ओसारपसार गर्ने प्रयोजनमा दिँदा कतिपय जनप्रतिनिधिले स्याबासी नै पाइरहेका छन् । यता दोलखाको शैलुङ गाउँपालिकाले कोरोना महामारीमा एम्बुलेन्सको अर्पाप्तता महशुस भएपछि निजी सवारी साधन बोलेरोलाइ नै एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । पालिकामा एक वटा एम्बुलेन्सले मात्र बिरामीलाई सेवा उपलब्ध गराउन सकस हुने स्थिति सिर्जना भएपछि पालिकाले बिरामी ओसारपसारका लागी १ वटा बोलेरोलाई पनि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको हो । निषेधाज्ञा अवधीभरका लागि शुक्रबारबाट चालकलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा कवचसहित बोलेरोमार्फत् बिरामी ओसारपसारको लागी अनुमति दिएको छ । पालिकाले प्रदेश ३०१०२३ च ७६९ नम्बरको बोलेरोलाई निषेधाज्ञा अवधीभर बिरामी ओसारपसारका लागी अनुमती दिएको हो ।

पालिका अध्यक्ष भरत प्रसाद दुलालले कोरोना संक्रमित बढ्दै गएको बेला १ वटा एम्बुलेन्सले मात्र सेवा दिन सहज नहुने भएपछि बोलेरोले पनि बिरामी बोक्ने बताए । यसका निम्ति बोलेरो चालकलाई सम्पर्क गरेमा घरमैँ बोलेरो सेवाका निम्ति आउने जनाइएको छ । बिरामी र चालकको आपसी सहमतीमा बिरामी ओसारपसार गरेबापतको भाडा तिनुपर्ने हुन्छ । कोरोना संक्रमित बिरामी भएमा आवश्यक कागजात पेश गरेको खण्डमा बिरामीले अस्पताल गएको वा आएको मध्ये एउटाको मात्र एम्बुलेन्सको भाडा बराबरको रकम पालिकाबाट फिर्ता पाउने छन् । पालिकामा बा १ झ ९७१३ नम्बरको एम्बुलेन्स भने बिग्रिएका कारण थन्किएर बसेको छ ।  अर्काे बा २ झ ४५२२ नम्बरको एम्बुलेन्स सञ्चालनमा रहेकाे छ । पालिकामा शुक्रबारसम्ममा सक्रिय संक्रमितको संख्या १९ पुगेको छ ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकामा बोलेरो नै एम्बुलेन्स !"

Leave a comment

Your email address will not be published.


*