शैलुङमा मिनी ग्रेटवालको शिलान्यास

ईश्वर बिश्वकर्मा /चरिकोट–दोलखाको शैलुङ गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र शैलुङमा ५ सय मिटर लामो मिनी ग्रेटवाल निर्माण सुरु भएको छ । चीनमा अवस्थित ग्रेटवालको झल्को दिने गरी बन्ने सो मिनीग्रेटवालको सोमबार गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले शिलान्यास गर्नुभयो । उहाँले मिनीग्रेट निर्माणपछि शैलुङको सौन्दर्यता थप चुलिने र पर्यटन प्रवद्र्धन हुने बताउनुभयो । चार करोड ३१ लाख ५५ हजार २ सय रुपैयाँमा सोवर्ण निर्माण सेवाले मिनीग्रेट वाल निर्माणको जिम्मा लिएको छ । उसले दुई वर्षभित्र निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने लक्ष्यसहित काम थालिसकेको गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताउनु भयो । मिनी ग्रेटवाल निर्माणको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तीन करोड ५० लाख उपलब्ध गराएको छ । बाँकी रकम गाउँपालिकाले व्यहोर्ने जनाएको छ । भ्यूटावरसम्मै ग्रेटवाल रहने डिपिआर बनाइएको भएपनि अहिले ५ सय मिटरमात्र निर्माण सुरु गरिएको हो । स्रोत जुटेपछि डिपिआर अनुसारको काम पूरा गर्ने लक्ष्य पालिकाले लिएको छ । शैलुङमा पर्यटक आएपछि गाउँपालिका र स्थानीयको आर्थिक हैसियत फेरिने भन्दै शैलुङ गाउँपालिका यसको व्यापक प्रचारप्रसार र पर्यटकीय पूर्वाधार निर्माणमा अघि बढेको छ । स्थानीय सरकार आएपछि यहाँ एक वटा सुविधा सम्पन्न भ्यूटावर, बाटो, पर्यटकको सुविधा र आरामको लागि ठाउँठाउँमा प्रतिक्षालय निर्माण गरिएको छ । प्रदेश सरकारको सहयोगमा पर्यटन गोल घर निर्माण गरिएको छ । सो घर भाडामा मासिक ५० हजार रुपैयाँ गाउँपालिकालाई तिर्ने गरी होटल सञ्चालनको लागि दिइने तयारी गरिएको छ । कालापानीमा शैलुङ आउने पर्यटकलाई लक्षित गरी स्थानीयले व्यक्तिगत लगानीमा सुविधासम्पन्न होटल खोल्ने क्रम जारी रहेको छ । यसैक्रममा एक तारे होटल खोल्न स्थानीय एक युवा समुहले तयारी पूरा गरिसकेको र काम सुरु हुन लागेको स्थानीयले जानकारी दिएका छन् । धार्मिक तथा पर्यटकीय स्थल शैलुङ प्रकृतिले दिएको अनुपम उपहार हो । यसको प्रमुख विषेशता भनेको एक सय भन्दा बढी थुम्का हुनु हो । यहाँबाट विभिन्न हिमश्रृङ्खला देख्न सकिन्छ भने पुसदेखि फागुन महिनामा थुम्काहरु हिँउले छोप्दा स्वर्ग खोज्न अन्त जानुपर्दैन । दोलखा र रामेछापको सिमानामापर्ने शैलुङडाँडा पहाडको टाकुरामा साना ठूला सय ओटा थुम्का मिलेर बनेको छ । हरेक समय पर्यटकको मन लोभ्याउने शैलुङडाँडा समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा छ । गाउँपालिकाले हाल कालापानीसम्म सडक निर्माण गरिसकेको छ भने कालापनीदेखि शैलुङडाँडासम्म पुग्न प्रदेश सरकारको सहयोगमा पदमार्ग निर्माण गरिसकेको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको शैलुङ क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा रहेकामा पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्रको रुपमा विकास हुँदै गएको छ । यातयातका माध्यमबाट शैलुङको वेसक्याम्प कालापानीसम्म पुगी दुई घण्टाको पैदलयात्राबाट शैलुङडाँडाको भ्रमण गर्न सकिन्छ ।दोलखा र रामेछापको सिमानामापर्ने शैलुङडाँडा पहाडको टाकुरामा साना ठूला सय ओटा थुम्का मिलेर बनेको छ

Shares

Be the first to comment on "शैलुङमा मिनी ग्रेटवालको शिलान्यास"

Leave a comment

Your email address will not be published.


*