शैलुङको कालापानीमा होटल खोल्नुस्, अनुदान लिनुस्

दीक्षण समाचार
देउराली, फागुन १
“माथि माथि शैलुङ्गेमा चौंरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई”
कुन्ती मोक्तानले गाएको यो गीत २ दशक अघि खुश चर्चामा आएको गीत हो । यही गीतले पनि शैलुङ भन्ने धेरैलाई चिनाएको छ । गीतमा भने झैं शैलुङ पुग्नेलाई मात्र थाहा छ यहाँको बयान ।
जुन बेला यो गीत बजारमा आएको थियो । त्यसबेला शैलुङ पुग्न मुडेबाट पैदल नै यात्रा गर्नु पथ्र्यो । अहिले अवस्था फेरिएको छ । शैलुङ डाँडाको वरपर जुनसुकै स्थानबाट पनि गाडी चढेर पुग्न सकिन्छ ।
अहिले शैलुङमा पर्यटक आकर्षित गर्न स्थानीय शैलुङ गाउँपालिकाले होटल बनाउनेका लागि अनुदानको घोषणा गरेको छ । गाउँपालिकाको निर्णयबाटै सुरुका १० वटासम्म होटल वा होमस्टे निर्माणका लागि अनुदान दिने घोषणा गरेको हो ।
शैलुङ घुम्न आउँनेहरुका लागि खान बस्नकै समस्या नहोस् भन्ने उद्देश्यले शैलुङ डाँडाको आसपास ढुङ्गे वा कालापानी क्षेत्रमा कम्तिमा १० जना बस्न सक्ने होटल वा होमस्टे निर्माणका लागि २ लाखका दरले अनुदान दिने निर्णय भएको अध्यक्ष दुलालले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि होटलमा अनुदानका लागि २० लाख विनियोजन गरेको छ ।
गाउँपालिकाले साविक शैलुङ्गेश्वर गाविसको कालापानीमा डोजर लगाएर घरेडी समेत बनाइ दिएको छ । अब त्यस क्षेत्रको जग्गा लिएर होटल निर्माण गरे मात्र हुने बनाएको छ । गाउँपालिकाले स्थानीयहरुका लागि होटल सञ्चालन गर्न समेत प्रोत्साहित गर्दै आएको छ ।
के छ शैलुङमा
शैलुङ जति राम्रो छ त्यसलाई स्थानीय सरकारले बजारमा बेच्न सकेको छैन । यस्ता हाम्रा रमाइला डाँडा बेच्नु भनेको प्रचार गरेर पर्यटकहरु तान्नु र स्थानीय आर्थिक विकासमा टेवा पु¥याउनु हो । शैलुङकै नामबाट शैलुङ गाउँपालिका बनेको छ । अहिले त्यहाँका जनप्रतिनिधिहरु पर्यटन तान्नका लागि पूर्वाधार निर्माण र प्रचारमा व्यष्त छन् ।
यो शैलुङको रमाइलो ठाउँ र चौरी हेर्नका लागि काठमाडौंदेखि झन्नै १ सय ४० किलोमिटर पूर्व दोलखामा जान पर्छ । नेवार र तामाङ संस्कृति, रमणीय दृश्य, विभिन्न जंगली जडिबुटी र वनस्पति, चौंरीको दूधबाट बन्ने विभिन्न परिकार पाइने यो स्थान दोलखाको सदरमुकाम चरिकोटबाट झन्डै ५० किमि दक्षिणतर्फ रहेको छ ।
सयवटा भन्दा बढी स–साना डाँडाहरू भएकाले नै यसलाई शैलुङ भनिएको हो । समुद्री सतहबाट लगभग ३४ सय मिटर उचाइमा यो स्थान रहेको छ । यो ठाउँ दोलखामा परे पनि शैलुङ रामेछापको सीमानामा पर्छ ।
जुनसुकै मौसममा पनि जाडो भैरहने यहाँको विशेषता हो । गर्मी होस् या जाडो, दुवै मौसममा ज्याकेट लगाएर हिँडछन् यहाँका बासिन्दाहरू पनि । स्थानीय निमा फुरी शेर्पा शैलुङको मौसममा बाक्लो ज्याकेट लगाएर हिँड्न पनि सकिने र एउटै सर्ट मात्र लगाएर पनि हिँड्न सकिने सुनाउँछिन् । तर बाहिरबाट आउनेले न्यानो लुगा बोकेरै हिँडेको राम्रो ।
यो ठाउँ निकै रमाइलो छ । उत्तरतर्फ गौरीशंकर हिमशृंखला देखि सगरमाथाको केही भागसम्म देखिन्छ । त्यस्तै सिन्धुली, रामेछाप, सिन्धुपल्चोक र काठमाडौं पनि मौसम सफा भएको समयमा देख्न सकिन्छ । स्थानीय लालबहादुर थोकर ९० सालभन्दा अगाडि काठमाडौंको १८ तले धरहरा प्रस्टै देखेको कुरा सुनाउँछन् । दृश्यावलोकनकै लागि विदेशीहरू पहिलेपहिले आउने गरे पनि अचेल नआएको पनि धेरै भयो । देशको राजनीतिक अवस्था ठीक भएका बेला विदेशी आउने गरेको पनि थोकरको भनाइ छ ।
शैलुङको अर्को विशेषता भनेको चौंरीको दूधबाट बन्ने दुग्ध पदार्थ हुन् । यहाँका धेरै बासिन्दाहरू चौंरी पालन गर्छन् । चौंरीको दूधबाट उनीहरू छुर्पी, सरेगेम, र चिज बनाउँछन् । त्यस्ता तयारी दुग्ध पदार्थको बजार नभएकोमा भने गुनासो छ । स्थानीय फुर्वा शेर्पा आफूहरूले चौंरीको दूधबाट राम्रो आर्थिक आम्दानी गर्न सक्ने भए पनि अहिलेसम्म कुनै फाइदा लिन नसकेको बताउँछन् ।
उचाइमा भएकाले शैलुङमा पानीकोे समस्या छ । यहाँ वर्षामा पानी त हुन्छ तर पानीमा मट्टितेल गनाउने भएकाले खानै मिल्दैन, कसरी यस्तो भयो, स्थानीय बासिन्दा कसैलाई पनि थाहा छैन । त्यसैले यहाँ खनिजको तेलको सम्भावना पनि रहेको शैलुङ गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रामेश्वर उप्रेती बताउँछन्
सरकारले यहाँको खनिज तेलको बारेमा अहिले नै अनुसन्धान गर्ने हो भने खनिज तेल निकाल्न सक्ने र फलामको पनि सम्भावना रहेको उनको अनुमान छ । गाउँपालिकाले पुरानो सडकलाई पनि शैलुङ ढुङ्गे हुँदै कालापानीसम्म चौडा बनाएको छ । बाह्रै महिना गाडी चल्ने गरी सडक बनाउन गाउँपालिका लागि परेको शैलुङ गाउँपालिका अध्यक्ष दुलाल बताउँछन् । अहिले मुडेदेखि बाघखोरसम्मको सडकमा ठाउँ ठाउँमा सोलिङ भएको छ ।
जंगली जडिबुटी पनि प्रशस्तै पाइन्छ । त्यस्ता जडिबुटीमा पाँच औंले, चिराइतो, मजिटो, च्यातु जस्ता बहुमूल्य हुन् । नेपाली कागज बनाउने लोक्ता जंगलैभरि छ । तर यहाँको यो लोक्ताको न कुनै उपभोग भएको छ न कुनै चासो नै । चिसो ठाउँमा पाइने बहुमूल्य वनस्पतिहरू पनि शैलुङमा छन् । यहाँ ठिङ्ग्रे सल्ला, गोब्रे सल्ला, गुराँसका विभिन्न प्रजाति, खर्सुक हुन् । घना जंगल भएकोले बेलाबेलामा डढेलोको समस्या रहेको खोलापार्कका ग्याल्बो शेर्पा बताउँछन् । केही वर्षअघि गएको डढेलोले झन्नै आधा जंगल डढाएको उनले बताए ।
धार्मिक रूपले पनि यो क्षेत्र निकै महत्त्वपूर्ण मानिन्छ । यहाँ ठूलाठूला गुफाहरू पनि छन् । महादेवको मान्दिर, धर्म दुलो, १२ वर्षमा एकपटक खुल्ने गदौरी जस्ता गुफाहरू धार्मिक रूपले चर्चित गुफा रहेका छन् ।
शैलुङमा भदौ पूणिर्मा र शिवरात्रीमा ठूलो जात्रा लाग्छ । भदौ पूणिर्मामा लाग्ने जात्रा झाँक्रीहरूको जात्रा हो । त्यस भेगको झाँक्री अनिवार्यरूपमा त्यो दिन शैलुङ पुग्नुपर्ने विश्वास राख्छन् । प्रत्येक १२ वर्षमा भने गदौरी खुल्ने र त्यसबेला पनि ठूलो जात्रा लाग्ने गर्छ । जात्रा हेर्न रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेदेखिका मानिसहरू आउँछन् । बौद्ध धर्मलम्बीहरूको छुट्टै गुम्बा र मानेहरू छन् । त्यहाँ बत्ती बाल्न बौद्ध धर्मावलम्बीहरू आइरहन्छन् ।

Shares

Be the first to comment on "शैलुङको कालापानीमा होटल खोल्नुस्, अनुदान लिनुस्"

Leave a comment

Your email address will not be published.


*