शैलङ गाउँपालिकाको दुई सय घरमा खानेपानीका धारा

प्रतिकात्मक तस्बिर

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३१
दोलखाको शैलुङ गाउँपालिका वडा नं. ३ र ४ मा खानेपानी स्वच्छता तथा वास उत्थानशील परियोजनामार्फत घरघरमा मिटरसहितको धारा जडान भएको छ । उक्त परियोजना वाटर एड नेपालको साझेदारीमा सामुदायिक विकास मञ्चद्धारा सञ्चालित छ । खानेपानीको असजहता र कठिनाइ भोगिरहेका स्थानीयहरु मुहान व्यवस्थित गरी पाइप मार्फत घरमै पानी आएपछि खुशी भएका छन् ।
सामुदायिक विकास मञ्चका अध्यक्ष राजु थापाका अनुसार नादनघर नाम्चे आहाल खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत वडा नं. ३ मा १ सय ५१ व्यक्तिगत धारा र पाँच वटा संस्थागत धारा निर्माण भएको छ । कालोखोला मूलाबारी खानेपानी आयोजना अन्तर्गत वडा नं. ४ मा ५२ वटा व्यक्तिगत र एक वटा संस्थागत धारा निर्माण गरिएको छ । धारा निर्माण भएपछि प्रभावित क्षेत्रका एक हजार भन्दा बढी स्थानीय लाभान्वित हुने उहाँले बताउनुभयो ।
खानेपानीकै लागि कठिनाइ बेहोरिरहेका नागरिकलाई सहजता र सुविधा प्रदान गर्ने उद्देश्यसहित आयोजनामार्फत घरघरमा धारा निर्माण भएपछि निरन्तर पानी आपूर्ति हुन थालेको मञ्चका अध्यक्ष थापाले बताउनुभयो । उहाँले दिगो र भरपर्दो हुने गरी खानेपानीका धारा सहितका संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरिसकिएकोले यसको संरक्षणमा स्थानीय आफैँ सक्रिय हुन आवश्यक रहेको सुनाउनुभयो । दुई वटै खानेपानी आयोजनाका लागि आयोजना सञ्चालकका तर्फबाट एक करोड ४१ लाख ६२ हजार, पालिकाको २६ लाख १२ हजार ७ सय र उपभोक्ता जनश्रमदानबाट २७ लाख ४६ हजार ६ सय खर्च भएको उहाँले जानकारी दिनुभयो ।
स्वच्छ खानेपानी, स्वस्थ जिन्दगानी भन्ने नारासहित खानेपानीको पहुँच सबैलाई सहज बनाउन शैलुङ गाउँपालिका र कालिञ्चोक गाउँपालिकाको विभिन्न वडामा खानेपानी स्वच्छता तथा वास उत्थानशील परियोजनामार्फत खानेपानी संरचना निर्माण भइरहेको छ । २०६२ मा जिल्ला प्रशासन कार्यालय दोलखामा दर्ता भई निरन्तर सक्रिय मञ्चले विभिन्न सङ्घसंस्थासँगको सहकार्य र स्थानीय तहको समन्वयमा नागरिक जीवनशैली र समुदायको परिवर्तन हुने जनमुखी काम गर्दै आएको छ । यसले कोरोना महामारीको बेलामा कोभिड प्रतिकार्यका लागि स्वास्थ्य सामाग्री वितरणदेखि अन्य थुप्रै कार्यहरू गरेको थियो ।

Shares

Be the first to comment on "शैलङ गाउँपालिकाको दुई सय घरमा खानेपानीका धारा"

Leave a comment

Your email address will not be published.


*