शैक्षिक सत्रको सुरुवात मै शिक्षकहरुलाई अङ्ग्रेजी भाषाको तालिम , शिक्षकहरु उत्साहित

बलराम शिवाकोटी
चरिकोट, ६ बैशाख
सरकारी विद्यालयहरुमा पनि अङ्ग्रेजी माध्यमबाट अध्यापन गराई अङ्ग्रेजी भाषालाई थप शसक्त बनाउने उद्देश्यले भीमेश्वर नगरपालिका भित्रका आधारभूत तहमा अध्यापन गर्ने शिक्षकहरुलाई ‘अङ्ग्रेजी माध्यममा सिकाइ सहजीकरण’ तालिम दिइएको छ ।
निजी विद्यालयहरुमा अङ्ग्रेजी भाषाकै कारण विद्यार्थीहरुको आकर्षण बढेको र सरकारी विद्यालयमा पनि अङ्ग्रेजी भाषाबाट शिक्षण गर्न सके विद्यार्थीहरु सरकारी विद्यालयतर्फ आकर्षित हुने निश्कषर््ासहित भीमेश्वर नगरपालिकाको आयोजना तथा ‘नेल्टा’ दोलखाको संयोजनमा पाँच दिने सो तालिम सम्पन्न भएको हो ।
भीमेश्वर नगरपालिका भित्रका विद्यालयहरु, भीम मावि दोलखा, पशुपति कन्या मन्दिर मावि चरिकोट, कालिञ्चोक मावि चरिकोट, र देवी मावि बोच गरी चार ओटा तालिम केन्द्रमा ३०– ३० जना शिक्षकहरुलाई सो तालिम दिइएको थियो ।
बैशाख २ गते देखि ६ गतेसम्म पाँच दिन सम्म सञ्चालन भएको सो तालिममा विभिन्न विषयका २१ जना प्रशिक्षकहरुले चारवटै तालिम केन्द्रमा पुगी आधारभूत तहमा अङ्ग्रेजी माध्यमबाट सिकाइ सहजीकरण कार्यलाई प्रभावकारी बनाउने लगायत शैक्षणिक समाग्रीहरुको प्रयोग, कक्षा कोठा व्यवस्थापन, शिक्षण विधिहरु, आधारभूत तहमा अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तकको उचित प्रयोगमा कसरी सक्षम बनाउने भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।
पाँच दिने उक्त तालिमको समापन पछि प्रतिक्रिया दिँदै ‘नेल्टा’ दोलखाका अध्यक्ष नवीनजंग शाहीले सरकारी विद्यालयहरुमा पनि अङ्ग्रेजी भाषालाई प्रभावकारी बनाउनकै लागि भीमेश्वर नगरपालिकासँग सहकार्य गरी उक्त तालिम सञ्चालन गरिएको बताउँदै अघिल्लो वर्ष कालिञ्चोक गाउँपालिकामा पनि तालिम सञ्चालन भएको र क्रमशः दोलखाका सबै स्थानीय तहहरुका विद्यालयहरुमा अङ्ग्रेजी भाषा शिक्षण तालिम सञ्चालन गरिने बताए ।

अध्यक्ष शाहीले सरकारी विद्यालयहरुमा अङ्ग्रेजी माध्यमबाट शिक्षण गर्न सके अभिभावकहरुले अङ्ग्रेजी भाषाकै लागि निजी विद्यालयमा चर्को शुल्कको मार खेप्नु नपर्ने बताउँदै सबै सरोकारवाला निकायले सहयोग गरे दोलखा जिल्लाभरिका विद्यालयमा अङ्ग्रेजी भाषा शिक्षणमा ‘नेल्टा’ दोलखाले आवश्यक सहयोग गर्ने बताए । त्यसैगरी शिक्षक महासंघ भीमेश्वर नगर समितिका अध्यक्ष एवम् नेल्टा दोलखाका सचिव बालकृष्ण दाहालले पाँच दिने तालिम अत्यन्तै प्रभावकारी भएको आफूले महुशुस गरेको बताए । त्यसैगरी विद्यालय तथा शिक्षकहरुले आवश्यकताका आधारमा थप तालिमको माग गरे आफू लगायत शिक्षक महासंघ भीमेश्वर नगरसमिति र नेल्टा दोलखा सहयोग गर्न तयार रहेको दहालले बताए । ‘नेल्टा’ मा आबद्ध सबै साथीहरुको उत्तिकै साथ सहयोग, लगनशीलता र हौसलाबाट तालिम सफलतापूर्वक सम्पन्न गर्न सहज भएको बताउँदै उनले तालिम प्राप्त शिक्षकहरुले कक्षा कोठामा पुगेर तालिमा सिकेका विषयवस्तुलाई प्रयोग गरेपछि मात्र तालिमको औचित्य पुष्टि हुने कुरा बताए ।
प्रशिक्षकहरु सुर्यप्रसाद चौलागाँई , सुदिप कार्की र बिमला दुलालले तालिम अवधिभर शिक्षकहरु अत्यन्तै धैर्यवान र जिज्ञासु भएर सक्रियतापूर्वक सहभागी भएकोले आफुहरुलाई हौसला मिलेको बताउँदै शिक्षकहरुले तालिममा सिकेका ज्ञान र शिक्षण विधिहरु कक्षाकोठामा प्रयोग भएपछि विद्यार्थीहरुले त्यसबाट लाभ लिने बताए । त्यसैगरी पाँच दिने तालिम सम्पन्न भए पश्चात प्रशिक्षार्थी छविन्द्रप्रसाद चौलागाँईले तालिम अत्यन्तै प्रभावकारी र उपयोगी रहेको बताउँदै आफूहरु तालिमबाट थप उत्साहित भएको र अङ्ग्रेजी भाषा शिक्षण गर्न उर्जा थपिएको भन्दै कक्षा कोठामा आफूले सिकेका विषवस्तु र शिक्षण विधि तत्काल प्रयोग गर्ने बताए ।
तालिम अवधिमा भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसी, प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्का र शिक्षा शाखा प्रमुख अर्जुन कार्कीले तालिम केन्द्रहरुको सुपरीवेक्षण तथा पृष्ठपोषण प्रदान गरेका थिए ।

 

Shares

Be the first to comment on "शैक्षिक सत्रको सुरुवात मै शिक्षकहरुलाई अङ्ग्रेजी भाषाको तालिम , शिक्षकहरु उत्साहित"

Leave a comment

Your email address will not be published.


*