शैक्षिक प्रदर्शनी मार्फतः शैक्षिक सामाग्री निर्माणमा उत्प्रेरणा जगाउँदै तामाकोशी गाउँपालिका

पुस्कर महत, फागुन 22-जफे,
तामाकोशी गाउँपालिकाले अन्तर विद्यालय स्तरीय एक दिने शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले सम्पूर्ण विद्यालयहरुबिच विहिवार वडा नं. 4, मालु स्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा प्रतिस्पर्धात्मक शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयमा प्राप्त शैद्धान्तिक ज्ञान-सिपको व्यवहारिक प्रयोग मार्फत गाउँपालिकाका प्राथमिक, आधारभूत र माध्यमिक गरी सबै तहका विद्यालयमा अध्ययनरत विद्यार्थिहरुले प्रतिस्थपर्धात्मक शैक्षिक सामग्री प्रस्तुत गरेका थिए । शिक्षक र विद्यार्थीहरुविच हुने सहजिकरणमा प्रयोग हुने शैक्षिक सामाग्रीको निर्माण तथा प्रयोग मार्फत शिक्षण सिकाईमा उत्प्रेरणा जगाई विद्यार्थिको क्षमता अभिवृद्धि गराउन सहयोग पुर्याउने उदेश्यले शैक्षिक प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
शिक्षक र विद्यार्थीहरु विच छुट्टाछुट्टै प्रतिस्पर्धा गराई प्रदर्शनी भएको कार्यक्रममा ३४ वटा स्टलहरु राखिएका थिए । उक्त स्टल मार्फत विद्यार्थहरुले तयार गरेका गणित, विज्ञान, कम्प्यूटर, स्वास्थ्य शारिरीक तथा सामाजिक विषयसँग सम्बन्धित शैक्षिक सामाग्रीका साथै गाउँघरमा प्रयोगहुने विभिन्न परम्परा र चलनचल्ति झल्कल्ने घरायसी सामानहरुको प्रदर्शनी गरिएको थियो । स्टलमा राखिएका शैक्षिक सामग्रीहरुको प्रदर्शनिलाई अवलोकन गरी सम्पूर्ण विषयवस्तुलाई समेटेर उत्कृष्टता प्रस्तुत गरेका आकर्षक स्टलहरुलाई विजेता घोषणा गरिएको थियो । जसअनुसार माध्यमिक तहका विद्यार्थिहरुको प्रतिस्पर्धात्मक प्रदर्शनिमा प्रथम, द्धितीय र तृतीय क्रमश: महेन्द्र मावि, च्यामा, कालिका मावि, हाँवा र जनप्रभात मावि, झुलेले हात पारेका छन् । त्यस्तै आधारभूत तह तर्फको प्रदर्शनिमा गणेश आधारभूत विद्यालय, भिरकोट, अम्बिका आधारभूत विद्यालय, हाँवा र दुम्सिझाङ आधारभूत विद्यालयले क्रमश प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गरेका हुन् । गाउँपालिकाले मावि र आधारभूत तह तर्फको प्रतिस्पर्धात्मक प्रदर्शनिमा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयहरुलाई क्रमश १० हजार, ७ हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरेको छ । प्राथमिक तह तर्फको प्रतिस्पर्धामा भने प्रथम, द्धितीय र तृतीय हुने बुढिचण्डिका प्रावि, भिरकोट, इन्द्रावती प्रावि, भिरकोट र जाल्पादेवी प्रावि, मालुले ५ हजार, ४ हजार र ३ हजार का दरले नगद सहित प्रमाण-पत्र प्राप्त गरेका छन् ।
त्यस्तै १५ वटा स्टलहरु मार्फत प्रतिस्पर्धात्मक शैक्षिक सामग्रीहरु प्रदर्शन गरेका १५ जना शिक्षकहरुमध्ये तहगत रुपमा उत्कृष्टता प्रस्तुत गर्ने शिक्षकहरुलाई समेत नगद रु. 10 हजार 7 हजार र 5 हजार रकमका साथै प्रमाण पत्रले सम्मान गरिएको छ । यस प्रकारको शैक्षिक प्रदर्शनी कार्यक्रमले विद्यार्थिहरुमा प्राविधिक सिपको विकास हुने र शिक्षकहरुको पाठ्य सामग्री मार्फत शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने सिपको विकासमा सहयोग पुग्ने देखिएको छ । गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलद्धारा उदघाटन भएको कार्यक्रममा ३४ विद्यालयका शिक्षक, विद्यार्थिका साथै गाउँपालिकाका स्थानीय जनप्रतिनिधी, गाउँपालिका स्तरीय शिक्षा समितका सदस्य, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

 

Shares

Be the first to comment on "शैक्षिक प्रदर्शनी मार्फतः शैक्षिक सामाग्री निर्माणमा उत्प्रेरणा जगाउँदै तामाकोशी गाउँपालिका"

Leave a comment

Your email address will not be published.


*