शुक्रबार देखी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने

ईश्वर बिश्वकर्मा चरिकोटः मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन एक साथ हुँदैछ । दोलखाका उम्मेदवारहरु मत माग्न व्यस्त छन्, मतदाताहरु असल उम्मेदवारलाई मत दिन आतुर छन् । तर कतिपय पूराना तथा नयाँ मतदातालाई मतदानको तरिका बारे जानकारी नभएकोले अन्योलमा छन् । उनीहरु आफूलाई तरिका थाहा नहुँदा मत खेर जाने हो कि भन्ने चिन्तामा पनि छन् । तर अब अलमल पर्ने र चिन्ता गर्ने अवस्थाको अन्त्य हुने भएको छ । निर्वाचन कार्यालयले स्थानीय तहसँगको समन्वयमा कार्तिक १८ देखि मंसिर १ गतेसम्म १५ दिन वडा स्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । वडास्तरमा महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरी हुन लागेको निर्वाचन शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । एक जना पनि नागरिकको मत खेर नजाओस् भन्ने उद्धेश्यले गर्न लागिएको कार्यक्रमले मतदातामा रहेको अन्योलता हटाउने र बदर मत घटाउने छ । जिल्ला निर्वाचन कार्यालयकी प्रमुख शकुन्तला राईले डिजिटल माध्यमको निर्वाचन शिक्षाको पहुँचबाट वञ्चित भएका मतदाताहरुलाई लक्षित गरी संसदीय निर्वाचनका लागि मतदातालाई तयार पार्ने उद्धेश्यका साथ निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनु भयो । स्थानीय तहको निर्वाचनमा जस्तो निर्वाचन शिक्षाको कमीले बदर मत बढी नहोस्, भनेर उक्त शिक्षा टोलटोल घरघरमा सञ्चालन गर्न लागिएको उहाँको भनाई छ । “स्थानीय तहको निर्वाचनमा निर्वाचन शिक्षा कार्यक्रम डिजिटल माध्यमबाट मात्र गरिएको थियो । तर त्यो प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढेको थियो ।” उहाँले भन्नुभयो “डिजिटल माध्यममा सबैको पहुँच पुग्न नसकेका कारण त्यसो भएको ठहरपछि आयोगले घरदैलोमै निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
”कार्यालय प्रमुख राईले निर्वाचन शिक्षा कार्यक्रमको समय नजिकिँदै गर्दा तयारीलाई अन्तिम चरणमा पु¥याइएको बताउनु भयो । उहाँका अनुसार जिल्लाको नौ वटै स्थानीय तहमा पर्चा, पम्पलेटसहित निर्वाचन शिक्षा सामाग्रीहरु पठाइसकिएको र अन्य तयारी पूरा हुने क्रममा रहेको छ । मतदानका लागि तयार रहन मतदातालाई जागरुक बनाउन, निर्वाचनको बेलामत बदर सकेसम्म हुनै नदिन र योग्य उम्मेदवारलाई मतदान गर्न सूसूचित गराउन मतदाता शिक्षा दिइन लागिएको राईले बताउनु भयो । “सही तरिकाले मतदान गर्न नजान्नेहरुलाई जान्ने बनाई उनीहरुले खसालेको मत बदर हुन नदिने उद्धेश्य यो कार्यक्रमको रहेको छ ।” उहाँले भन्नु भयो “ यो कार्यक्रमपछि निर्वाचनको बेला मतदाता झुक्किने छैनन् । उनीहरुलाई पूर्ण तयार पारिने छ ।”
पर्चा पम्लेट र नमूना मतपत्र सहित निर्वाचन शिक्षा कार्यक्रममा परिचालित हुनेहरुले मतदातालाई मतदान केन्द्रमा प्रवेश गर्ने, मतपत्रमा छाप लगाउने, बदर मत नहुने गरी स्वस्तिक छाप लगाउने र सुरक्षित साथ मतपेटिकामा खसालेर बाहिरिने तरिका बारे जानकारी दिने छन् । यसका साथै रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल लगायतका माध्यमबाट पनि निरन्तर निर्वाचन शिक्षा प्रवाह गरिने जिल्ला निर्वाचन कार्यालय दोलखाले बताएको छ ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा कुल एक लाख ६१ हजार ४ सय ५५ मतदाता रहेका छन् जसमध्ये प्रदेश सभा क्षेत्र नम्बर १ मा ८१ हजार १ सय ३८ तथा क्षेत्र नम्बर २ मा ८० हजार ३ सय १७ जनाले मतदान गर्न पाउने छन् ।

Shares

Be the first to comment on "शुक्रबार देखी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने"

Leave a comment

Your email address will not be published.


*