विश्वव्यापी महाव्याधिमा खोजिएको पुरानो बाटो !

अर्जुन अपबाद

स्वीसहरूलाई जिरी मन नपरेको भए मैले वैतेश्वर गाउँपालिकाका ३ नं. मिर्गेमा रहेको मेरो घरदेखि सदरमुकामसम्म चरिकोट आउनजान पैदल यात्रा धेरै पटक गर्नुपर्थ्यो होला । त्यसले चरिकोट जाने र आउने सबैभन्दा पुरानो बाटो स्पष्टसँग याद हुने थियो । सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि जिरीसम्म आउनका लागि स्वीसहरूले म जन्मनुभन्दा करिब ५ वर्षअगाडि नै मोटरबाटो बनाए । १० वर्ष यता विकास भनेकै बाटो भनेर गाउँगाउँ बस्ती बस्ती जोड्ने सडक निर्माण गर्ने काम अभियानकै रूपमा जारी छ । बाटोसँगै विकास पनि भित्रियो । विकासको एउटा मापक भनेको पुरानो कुरा बिर्सनु पनि होला । त्यसैले दोलखा लगायतका धेरै क्षेत्रका बासिन्दाले पुराना पैदलमार्ग बिर्सने अवस्था आयो ।


राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा बनेको थियो तामाकोशीको पुरानो पुल माथि झोलुङ्गे पुल । पुरानो पुल हुँदै दोलखा लगायतका मानिसहरू चरिकोट आउजाउ गर्थे । काठमाडौं जाने एउटा मुख्य बाटो पनि यही नै थियो । योभन्दा पनि धेरै महत्वपूर्ण कुरा चीनको फलाकसम्म नुन लिन जाने मुख्य बाटो यही नदीको किनारैकिनार थियो जुन बाटो हिँड्दा यो पुल तर्नुपर्थ्यो।

कम्तीमा ७ वर्षपछि म पुरानो पुल हुँदै चरिकोट गएँ । बाटो फराकिलो थियो । धेरै ठाउँमा बाटाका निसानहरू मेटिन मेटिन लागेका थिए । सालघारीभित्र बाटोकै छेउमा तामाकोशीको बत्ती लैजान ठूलो पोल बनाइएको थियो । नेपालीकै लगानीमा बन्न लागेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरेर काम अगाडि बढाइरहेको छ । यी पोलबाट माथिल्लो तामाकोशी लगायत त्यस क्षेत्रमा बनेका अन्य आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिन्छ खिम्ती हुँदै ढल्केबर स्टेशनमार्फत ।

बन्दाबन्दी सुरु भएपछि घर आइयो । चरिकोटमा अलिकति आलु लगाएको थियो । त्यही आलु भित्र्याउने बेला भएकोले चरिकोट जानैपर्ने थियो । बेलामा नभित्र्याउँदा आलु कुहिने सम्भावना थियो । परिश्रम गरेर फलाएको चीज थोरै भए पनि माया लाग्दो रहेछ । त्यसैले रीता र म चरिकोट जाने तय भयो ।

मेरो घरबाट उत्तर पश्चिम दिशामा पर्छ चरिकोट बजार । उडेर ११, गुड‍ेर ३५ र हिँडेर करिब करिब २० किलोमिटर दूरी होला ।

बिहानै घरबाट निस्किएर हिँड्दा बाटामा गाडी पाइएला भन्ने आश थियो मनमा । २ घण्टासम्म पैदल हिँड्दा पनि कुनै सवारी साधन फेला परेन । अब भने सडकको बाटो लामो यात्रा गर्ने कि, पुरानो छोटो बाटो भएर जाने भन्ने छान्नै पर्ने अवस्था थियो । हामीले छोटो बाटोको यात्रा छान्यौं । सडकको बाटो जाँदा त्यो लामो त थियो नै । सँगै केही सवारी भेटिइहाल्यो भने त्यसले हामीलाई बोक्छ भन्ने निश्चित थिएन ।

सालघारीबाट छिचल्नुपर्ने पुरानो पैदल बाटो फराकिलो थियो । झण्डैझण्डै अहिले गाउँगाउँमा पुर्‍याइएका स डकजस्तै । ती बाटामा चौपाया र पैदलयात्री मात्र हिंड्नपर्ने । गाउँका सडकमा गाडी, तर पनि बाटा त उत्रै छन् । बेलाबेला हामीलाई यसो लाग्छ त्यो जमाना अविकसित यो विकसित । त्यस बेलाका मानिस अशिक्षित हामी शिक्षित ! पारिपट्टि जिरी जाने सडक फराकिलो पार्ने काम भैरहेको देखिन्थ्यो सुस्त गतिमा । बन्दाबन्दीले ठप्प भएको काम अलिअलि भए पनि सुरु भएको रहेछ ।

केही ठाउँमा नयाँ सडकहरूले पुराना बाटा पुरिदिएका रहेछन् । कतै मानिस नहिँडेकाले बाटा साँघुरिए वा हराए । जंगल सकिएपछि खेत देखियो । खेतमा आएका महिला नजिकैको गाउँका रहेछन् । तामाङ समुदायका लोप्चनहरू । करिब ५० वर्षको हाराहारी जस्तै देखिने महिलालाई मैले सोधें ‘जंगलको छेउकै खेतमा बाँदरले कति दुःख दिन्छ ?’ ‘दिन्छ नि’, उनले जवाफ फर्काइन् । हामीले पुरानो पुल निस्कने बाटो सोध्यौं उनले बाटो देखाइन् । खेतमा गराभन्दा बढी ढुंगाहरू थिए । कृषिमार्फत समृद्धिको रटान लगाउने सरकारसँग यी किसानको जीवनस्तर सुधार्ने कुनै खास योजना होला कि ?

पुरानो पुलको मुखैनिरको ओरालोमा पहिरो गएको थियो । त्यो पहिरो गाउँमा ल्याएको सडकका कारण गएको भन्ने पुल तरेपछि मात्रै थाहा भयो । गाउँमा खनिएका सडकले गर्दा पहिरोको प्रकोप पहाडमा बढिरहेको छ ।

तामाकोशी नदीमाथि बनेको चन्द्रशमशेरका पालाको पुलको एकापट्टिको जीप धस्कन लागेकाले यस पटक मेसिन लगाएर तानिएको रहेछ । पुराना जीपमा भएका इँटामा श्री ३ चन्द्र ८६ अंकित थियो । अबको ९ वर्षपछि यी सबै सरकारको नियम अनुसार सय वर्ष पूरा गरेका यी सामग्री पुरातात्विक महत्वका हुनेछन् । तिनको ओसारप्रसार गर्नु गैरकानुनी हुनेछ ।

तामाकोशी नदीले वैत्येश्वर गाउँपालिका र भीमेश्वर नगरपालिका बीचमा सीमाको काम गरेको छ । यसभन्दा अगाडि यसले दोलखा जिल्लालाई २ संसदिय क्षेत्रमा बाँडेको थियो । भीमेश्वर नगरपालिका सुरु हुने बित्तिकै व्यावसायिक भन्न मिल्ने गरि केरा खेती गरिएको थियो । केरा उत्पादकहरूको संघ पनि बनेको छ जिल्लामा । यसमा यी किसानहरू परे परेनन् होला ।

नयाँले पुरानो हटाउनु प्राकृतिक नियम हो । नयाँ बनेका मोटरबाटाहरूले पुराना पैदलमार्ग लगभग हटाइसकेका रहेछन् । समयले सबै चीजको महत्व दर्शाउँदो रहेछ । पुराना बाटा पहिल्याउने समय पनि आयो ।

अलिकति उकालो चढेपछि एउटा आधारभूत विद्यालय भेटियो । विद्यालय अस्तव्यस्त देखिन्थ्यो । बन्दाबन्दीले हो वा पढ्ने विद्यार्थीहरू नपाएर यो त्यसअघि नै बन्द भैसकेको थियो भेउ पाइएन ।

गाउँमा मानिसहरू फर्किएपछि बाँझाँ जमिनमा खेती सुरु भएको छ । यो कतिञ्जेल टिक्छ भन्न सकिने अवस्था भने छैन । अलिक माथि जिलु बेंसीमा गहुँ भित्र्याउने काम चलिरहेको थियो ।

दिनभरको यात्रापछि साँझ चरिकोट पुगियो । फुपूले घरबाट निस्कने बेलामा सुनाउनुभएको थियो — बा बिहानभरि गोठमा काम गरेर चरिकोटको अड्डामा हाजिर भएर बेलुका गोठ सम्हाल्न पुग्नुहुन्थ्यो । आलसतालस भएर चरिकोटको कोठामा पुगेपछि लाग्यो गर्नै पर्छ भन्ने भएपछि दुःखका के कुरा र ! यातायातको सुविधा भएको भए यसरी हिंडेर चरिकोट म किन आउँथे होला । समयले सबैलाई बदल्छ भनेको यही होला !

Shares

Be the first to comment on "विश्वव्यापी महाव्याधिमा खोजिएको पुरानो बाटो !"

Leave a comment

Your email address will not be published.


*