विद्यालयमै उपचार सेवा लिदैँ दोलखाका विद्यार्थी

राजेश श्रेष्ठ÷सङ्गिता थामी
ईश्वर बिश्वकर्मा
दोलखामा एक विद्यालय एक नर्स कार्यक्रम लागु भएपश्चात् विद्यार्थीहरुले स्वस्थ जिउने कलासहित उपचार सेवा पाउन थालेका छन् ।
चालु आर्थिक वर्षदेखि कार्यक्रम लागु भएपश्चात् सामुदायिक विद्यालयमा सामान्य उपचार सहित स्वस्थ जिउने कला विद्यार्थीले पाउन थालेका हुन् ।

विद्यार्थीलाई सामान्य चोटपटक, शारीरिक समस्याको समाधान र उपचार विद्यालयमा हुन थालेपछि विद्यालयमा विद्यार्थीहरूको नियमितता वृद्धि गरेको पशुपति कन्या माविकी नर्स सन्तोषी कार्कीले बताइन् ।
उनले विद्यार्थीलाई सरसफाई, खानपान, शारीरिक शिक्षा, व्यायाम तथा योगको बिषयमा जानकारी दिदैं स्वस्थ हुने उपायहरु अपनाउन सिकाउने गरेको बताइन् । शिक्षकको अनुपस्थितिमा स्वास्थ्य सम्बन्धी कक्षा प्रदान गरिने भएकोले स्वास्थ्यसम्बन्धी थप शिक्षा प्राप्त भएको छ ।
जसले गर्दा स्वस्थ जीवनशैली जिउनेकला विद्यार्थीले विद्यालयबाट प्राप्त गर्न पाएका छन् ।
बागमती प्रदेशले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न ल्याएको एक विद्यालय एक नर्स कार्यक्रम दोलखामा प्रभावकारी हुदै गएको छ । पशुपति कन्या माविका विद्यार्थी सनिशा कुसुलेले भने “टाउको दुख्दा औषधी खान स्वास्थ्य चौकी जानुपर्ने बाध्यताको अन्त्य भएको छ । स्वस्थ जीवनशैली कसरी जिउने तरिका सिक्ने अवसर प्राप्त भएको छ ।”
विपना नेपालीले विद्यालयमा चोटपटक लाग्दा औषधिका लागि स्वास्थ्य चौकी जानुपर्ने अवस्था हटेको बताइन् । विद्यालयमा नर्सले सामान्य उपचार गर्ने भएपछि ससाना समस्या आउँदा विद्यालय नियमित जान थालेको बताइन् । विद्यालयका विद्यार्थी, विद्यालय परिवारका सदस्यहरुलाई प्राथमिक उपचार गर्न सहज होस र सानै बिरामले उपचारका लागि बिद्यार्थीहरुलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको उनले बताइन् ।
स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले प्रत्येक बालबालिकाको स्वाथ्य रेखदेखको लागि विद्यालय नर्स कार्यक्रम जिल्लाको ९ विद्यालयमा लागू भएको छ । भीमेश्वर नगरपालिकामा पशुपति कन्या मावि चरिकोट, जिरी नगरपालिकाको जिरी मावि जिरीमा कार्यक्रम लागु भएको छ ।
गौरीशंकर गाउँपालिकाको हलेश्वर मावि, विगु गाउँपालिकाको हिमालयन मावि खोपाचाँगु, कालिञ्चोक गाउँपालिकाको निकोभुमे मावि बाबरेमा कार्यक्रम लागु भएको छ ।
त्यसैगरी तामाकोशी गाउँपालिकाको गोल्मेश्वर मावि मालु, मेलुङको सत्यश्वर मावि पवटि र शैलुङ गाउँपालिकाको सांगुते मावि फस्कुमा एक विद्यालय एक नर्स कार्यक्रम लागु भएको छ । विद्यालयमा नर्सले प्रत्येक दिन बालबालिबाको अवस्थाबारे जाँचबुझ, स्वास्थ्य रहन गरिने कार्यबारे जानकारी दिने, व्यवहारिक प्रयोगबारे सिकाउने, विद्यालयमा जंकफुड प्रयोग निषेध गर्ने, घर तथा विद्यालयमा कसरी स्वस्थ्य खानेकुरा बनाइन्छ भन्नेबारे जानकारी गराउने गरेका छन् । महिलाको प्रजनन् अवस्था र समयअनुसार शारीरिक अवस्थामा आउने परिवर्तनबारे समेत नर्सले विद्यालयमा सहजीकरण गरेका छन् । नर्सले प्रत्येक विद्यार्थीको स्वास्थ्यबारे दैनिक जानकारी लिने र उनीहरुलाई आफूसँगै घरपरिवारलाई स्वास्थ्य रहने तरिका सिकाएका छन् । प्राथमिक उपचारले ठीक नभएपछि नर्सले बिरामी विद्यार्थीलाई अस्पताल पठाउने गरेको विद्यालयहरुले जनाएको छ ।
राजेश र सङ्गिता दीक्षण दैनिकका प्रशिक्षार्थी पत्रकार हुन् ।

Shares

Be the first to comment on "विद्यालयमै उपचार सेवा लिदैँ दोलखाका विद्यार्थी"

Leave a comment

Your email address will not be published.


*