विगू गाउँपालिकाको भौतिक प्रगति ७० प्रतिशत भुक्तानी आधा मात्र

दीक्षण समाचार
सिंगटी, १३ फागुन

विगू गाउँपालिकाको चालु आर्थिक वर्ष ७ महिनामा ७० प्रतिशत योजनाको भौतिक प्रगति भएको छ । गाउँपालिकाको पुँजीगत तर्फबाट योजनाहरु मध्ये अधिकाँश योजनाको भौतिक रुपमा सम्पन्न भइसकेका छन् ।
गाउँपालिकाले चालु वर्ष २ सय १५ योजना सञ्चालन गरेको भए तापनि अधिकाँश योजनाहरु कार्यतालिका अनुसार नै सम्पन्न भएको विगू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए । गाउँपालिकाले तर्जुमा गरेको योजनाहरु मध्ये १० वटा योजना बाहेक अरु योजना सम्झौता भएर कार्यसम्पन्न भएको उनले जानकारी दिए ।
योजनाहरु धेरै सम्पन्न भए तापनि भुक्तानीको काम आधा मात्र भएको छ । योजना सम्पन्न भए तापनि अनुगमन गर्ने र प्रतिवेदन आउँन बाँकी रहेकाले सम्पन्न भएका योजनाहरु सबैको भुक्तानी हुन नसकेको उनले जानकारी दिए । विगूको चैत्र मसान्त भित्र छिटफुट योजना बाहेक उपभोक्ता समिति मार्फत सञ्चालन भएका योजनाहरु सबै पूरा हुने उनले दाबी गरे ।

२ वटा मात्र सडक मात्र नयाँ ट्रयाक
विगू गाउँपालिकाले अघिल्लो वर्ष अधिकाँश बजेट सडकमा खर्च गरे तापनि चालु आर्थिक वर्षमा डोजर प्रयोगलाई घटाएको छ । चालु आर्थिक वर्षमा पनि पूर्वाधारमा सडक निर्माणमा बढी बजेट खर्च गर्ने भए तापनि २ वटा मात्र नयाँ ट्रयाक सडक खनिएको प्रमुख प्रशासकीय अधिकृत ओलीले जानकारी दिए ।
चालु आर्थिक वर्षमा लादुक र चिलंखा जोड्ने सोयसाङ–च्यार्सपा सडक र जगतबाट ओराङसमम्मको सडक मात्र नयाँ ट्रयाक खोल्न डोजर चलाएको हो । यि दुवै सडकको काम जारी छ । भौगोलिक रुपमा कठिन भएकाले जगत–देउराली–ओराङ सडक जोखिमयुक्त छ ।
सडकहरु अघिल्लो वर्ष नै धेरै ट्रयाक खोलि सकेकाले चालु आर्थिक वर्षमा ति सडकमा वर्षात्मा विग्र भत्केका सडक सफा गर्न र चौडा गर्नका लागि मात्र स्काभेटर प्रयोग भएका छन् ।
सडकलाई चालु आर्थिक वर्षदेखि स्तरोन्नती गर्न ग्याविन, नाली र सोलिङको कामममा ध्यान दिएको गाउँपाकिलाका सव इन्जिनियर नन्दप्रसाद शिवाकोटीले जानकारी दिए । सडक सुधार भएसँगै लादुक बुलुङ ओराङ, सोरुङ खोला चिलंखा, आलम्पूदेखि विगू र सोरुङ खोला–खोपाचागूसम्म काठमाडौंदेखि नियमित बस सेवा समेत चल्दै आएको छ ।
स्थानीयस्तरमा विवाद भएका कारण योजना सम्झौता हुन सकेका छैनन् । ति मध्ये ५ वटा खानेपानी योजना, एउटा स्वास्थ्य चौकी भवन निर्माण, सिंगटी बजार सडक, महादेव मनिदर लगायतको कामको भने सम्झौता हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत ओलीले बताए ।
विगू गाउँपालिकाले उपभोक्ता समितिलाई काम गर्नका लागि ओभर हेड खर्च समेत दिने भएको छ । कार्यपालिका बैठकबाटै निर्णय गरेर यस्तो निर्णय गरेको हो । योजनामा उपभोक्ता समितिमा बस्न नमान्ने भएपछि यस्तो गाउँपालिकाले यस्तो व्यवस्था गरेको हो । तर यस्तो व्यवस्था कानुन विपरित भएको स्वयम् कर्मचारीहरु बताउँछन् ।

Shares

Be the first to comment on "विगू गाउँपालिकाको भौतिक प्रगति ७० प्रतिशत भुक्तानी आधा मात्र"

Leave a comment

Your email address will not be published.


*