विगुमा १ महिना पुग्ने खाद्यान्न: ७१ हजार किलो चामल

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २२
दोलखाको विगु गाउँपालिकामा एक महिना पुग्ने खाद्यान्न मौज्दात रहेको छ ।
कालिञ्चोक गाउँपालिका र विगु गाउँपालिकाको मुख्य बजार सिंगटीमा शुक्रबार गरिएको बजार अनुगमनबाट आधिकारिक खाद्यान्न बिक्रेता सँग पालिकावासीलाई १ महिना पुग्ने खाद्यान्न मौज्दात रहेको पाइएको हो ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस अर्थात कोभोड १९ को कारण लकडाउन लागु गरेपछि खाद्यान्न अभाव हुन थालेको बेला पालिकामा १ महिनालाई पुग्ने खाद्यान्न रहेको पालिकाले जनाएको छ ।
पालिकाका अध्यक्ष युधिष्ठिर खड्काका अनुसार सिंगटी बजार अनुगमनको क्रममा ७१ हजार १ सय ९५ किलो चामल रहेको छ । दाल ४ हजार ६० किलो दाल, ४ हजार ८ सय किलो चिनी मौज्दात रहेको उनले बताए ।
त्यसैगरी ११ हजार १ सय किलो नुन, ८ हजार ३ सय लिटर तेल रहेको अध्यक्ष खड्काले बताए ।
लकडाउनको समयमा पनि गाउँ गाउँमा खाद्यान्नको आपुर्ति भइरहेको छ । उनले भने” केहि उपभोक्ताले भोकमरी आउने संकेत देखिएकाले खेतबारीकै अन्नबाली भण्डार गरेका छन् । केहिले पहिल्यै खाद्यान्न खरिद गरि राखेका छन् । त्यसले गर्दा १ महिना खाद्यान्नले धान्न सक्ने सम्भावना रहेको छ ।”
पालिकाका स्वास्थ्य संयोजक ईश्वर कुमार खड्काका अनुसार बजार अनुगमनको क्रममा खाद्यान्न मौज्दात रहेको भएपनि अन्यत्रबाट खाद्यान्न आपूर्ति नहुँदा कठिन परिस्थिति हुनेमा आशंका पालिकावासीमा रहेको बताउछन् । पालिकाले अतिविपन्न तथा कमजोर आर्थिक अवस्था रहेका व्यक्ति तथा परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिने योजनाका साथ तथ्याङ्क संकलन कार्य जारी रहेको बताए । उनले पालिकामा लकडाउनको समय कोहि भोको बस्नु नपर्ने गरि तथ्याङ्क संकलन गरिरहेको बताए ।

Shares

Be the first to comment on "विगुमा १ महिना पुग्ने खाद्यान्न: ७१ हजार किलो चामल"

Leave a comment

Your email address will not be published.


*