वन्यजन्तु तथा वन पैदावर चोरी निकासीमा कमी

चरिकोट, (दीस) –दोलखामा वन्यजन्तु तथा वन पैदावर चोरी निकासी र तस्करीमा कमी आएको छ । वन तथा वन्यजन्तु संरक्षणको लागि विषेश प्राथमिकता दिई वनका कर्मचारी तथा उपभोक्ताहरु योजना बनाएर सक्रिय भईरहेका छन् । जसको प्रभावले वन पैदावर तथा वन्यजन्तु तस्करी नियन्त्रणमा आएको डिभिजन वन कार्यालय प्रमुख शिव सापकोटाले जिकीर गर्नुभयो । कोरोना उच्च भएको बेला गरिएको लकडाउनको मौका छोपी तराईका जिल्लामा वन्यजन्तु तथा वन पैदावर चोरी निकासी भएको खबर सार्वजनिक भए तर दोलखामा भने त्यस्तो भएन । लकडाउनमा वन्यजन्तु तथा वनपैदावर अबैद्य निकासी हुन सक्ने भन्दै कर्मचारी तथा वन उपभोक्ताहरु सचेत, सजग र सक्रिय थिए । सूचना अधिकारी गणेश थापाका अनुसार जिल्लामा वन्यजन्तु चोरी निकासीको घटना शुन्य रहेको छ । बिगत तीन आर्थिक वर्षको अवधिमा तीन वटा मात्र वनपैदावर चोरी निकासी सम्बन्धि घटनाको विवरण कार्यालयसँग छ । २०७५÷०७६ मा एक वटा, २०७६÷०७७ मा एक वटा र २०७७÷०७८ मा एक वटा गरी जम्मा तीन वटा वन पैदावरी चोरी निकासीको घटना भएकोमा २०७७÷०७८ मा भएको चोरीनिकासीमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा मुद्धा दायर गरिएको थियो । मानिसहरुले निजी वनबाट आफ्नो आवश्यकता परिपूर्ति भएकोले सामुदायिक वनमा चोरी गर्न नपरेपछि चोरी निकासीको घटनामा कमी आएको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो “ पहिलेपहिले कृषि खेती गरिने जमिनमा अन्नबाली उत्पादनमा ह्रास आउने भन्दै भएका रुखबिरु वा पनि मास्ने प्रवृत्ति थियो । जसले गर्दा सामुदायिक वनबाट चोरीनिकासी गरी आफ्नो आवश्यकता पूर्ति गर्दथे । तर अहिले खेतबारी बाँझो राखिन थालेका छन् । यसले गर्दा बाँझा जग्गा जँगल बनेपछि त्यहीँबाट काठको उपलब्ध हुन्छ । सोही कारण सामुदायिक वनमा चोरी निकासी रोकिएको हो ।” सामुदायिक वन उपभोक्ता समुहले आर्थिक स्थित हेरी वनमा हेरालु तथा वन रक्षक परिचालन गरिरहेका छन् । त्यसैगरी उपभोक्ताहरुले आलोपालो गरेर वनको रेखदेख तथा निगरानी गरिहेका छन् । वनजन्तु, वनपैदावर चोरीनिकासी रोकथाम, वन अतिक्रमण रोकावट, हुनुका साथै वन सम्बन्धि अपराधहरुमा कमी ल्याउन समुदाय स्वयम सक्रिय हुनपर्ने शिव सापकोटाले बताउनुभयो । उहाँले वन्यजन्तु तथा वनपैदावर चोरी निकासीमा कमी आएपनि वन क्षेत्र अतिक्रमण तथा वन डढेलो बढ्नु दुखद रहेको बताउनुभयो ।

Shares

Be the first to comment on "वन्यजन्तु तथा वन पैदावर चोरी निकासीमा कमी"

Leave a comment

Your email address will not be published.


*