वडाध्यक्ष थोकर टिकटकमा ‘छम्छमी ’

इश्वर बिश्वकर्मा
चरिकोट, असार ३
प्रभावशाली र लोकप्रिय नेता हिरा थोकर मेलुङ गाउँपालिकाका वडा नंं. ३ का वडाध्यक्ष हुन् । कोरोना महामारीको प्रभावबाट आफ्ना नागरिकलाई जोगाउन उनले अहोरात्र समन्वय र सहकार्यका साथै विभिन्न प्रयास गरेका छन् । जनप्रतिनिधि भएपछि आफ्नो जिम्मेवारीबाट पन्छिने कुरा पनि भएन । तर आफ्ना नागरिकको चासो र चिन्ता गर्दा गर्दै उनी आफैँ कोरोना संक्रमित भएका छन् । कोभिड बिरुद्ध कोभिशिल्ड खोपको दुबै मात्रा लगाएपनि २३ जेठमा कोरोना संक्रमण भएको पुष्टि भयो । खोपकै प्रभावले हुन सक्छ, कोरोना पुष्टि भएपनि कुनै किसिमको लक्षण देखा नपरेकोले उनी अहिले आफ्नै निजी निवासमा आराम गरेर बसिरहेका छन् ।

२ सातासम्म होम आइसोलेशन बसिरहँदा वडाध्यक्ष थोकरले कोरोना जित्न ठुलो कसरत गर्नुपरेको छैन् । उनी होम आइसोलेशनको बसाइलाई सुखद बनाउन र आत्मबल अभिबृद्धिका लागि विविध क्रियाकलाप गरिरहेका छन् । उनी पर्याप्त मात्रामा पानी पिउँछन्, अनि खानपानमा सन्तुलित भोजन सेवन गर्छन् । आइसोलेशनमै शारीरिक व्यायाम पनि गर्छन् । सकरात्मक सोच अभिबृद्धिका लागि पुस्तक पढ्छन् । टेलिभिजनमा राम्रा राम्रा कार्यक्रम हर्छन् । यसअघि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना कार्य तथा वडा तथा पालिकाको कामको गतिविधीको नागरिकलाई सुसूचित गराउने गरेका उनी संक्रमित भएपछि टिकटकमा पनि सक्रिय भएका छन् ।

उनले टिकटकमा छमछमी नाचेको भिडियो मात्रै हाल्दैनन्, सन्देश मुलक भिडियो पनि हाल्छन् । पछिल्लो दिनहरुमा उनी टिकटकमा छमछमी नाचेको हेर्न सकिन्छ । “होम आइसोलेशनमा रहेका कोरोना संक्रमित डराएमा उसले संक्रमणलाई परास्त गर्न कठिन हुन सक्छ । अस्पतालै जानुपर्ने अवस्था आउन सक्छ ।“ वडाध्यक्ष थोकरले भने ”तर खानपान र सकरात्मक सोचका साथ आत्मबल कायम राखेमा कोरोनालाई अवश्य पनि पछार्न सकिन्छ।”

वडाध्यक्षसगैँ होम आइसोलेशनमा गाउँपालिकाका सवारी चालक दिपक श्रेष्ठ पनि रहेका छन् । दिपकलाई पनि २३ गते नै संक्रमण पुष्टि भएको हो । जसले गर्दा वडाध्यक्ष थोकर र श्रेष्ठलाई एक्लो महशुस भएको छैन् । वडाध्यक्ष थोकरले भने “घरमैँ बसेका कोरोना संक्रमितको मनोबल उच्च बनाउन कुराकानी र माया स्नेहको आवश्कता पर्छ । त्यसैले टाढैबाट भएपनि कुराकानी गर्नुपर्छ ।” होम आइसोलेशनमा बसेको २ साता सम्मपनि कुनै जटिल समस्या वा लक्षण देखा नपरेपछि उनीहरुले आफुलाई संक्रमण मुक्त भएको महशुस गरिसकेका छन् । यद्यपी पुष्टिका लागि आज पिसिआर जाँच गर्ने तयारी गरिएको वडाध्यक्ष थोकरले बताए ।

Shares

Be the first to comment on "वडाध्यक्ष थोकर टिकटकमा ‘छम्छमी ’"

Leave a comment

Your email address will not be published.


*