लोक सेवा आयोगको परीक्षा तयारी गर्ने थामी समुदायका युवालाई छात्रवृत्ति दिइने

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र १८
दोलखाको विगु गाउँपालिकाले लोक सेवा आयोगले लिने परीक्षा तयारीका लागि थामी समुदायका युवालाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
चैत्र ६ मा सम्पन्न ४६ औँ गाउँ कार्यपालिकाको बैठकले थामी युवालाई लोक सेवा प्रति आकर्षण गराउन र परीक्षाका लागि सक्षम बनाउन छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रवेशिका उत्तिर्ण गर्ने संकल्प लिएका युवालाई लोक सेवा आयोगको परीक्षा फाराम भर्ने, कक्षा लिने, छात्रावासको शूल्क तिर्ने लगायतका लागि एकपटकमात्र बढीमा २५ हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइने पालिकाले जनाएको छ । चैत्र १२ गते एक सूचना जारी गर्दै पालिकाले १५ दिन भित्र गाउँपालिकाको कार्यालयमा छात्रवृत्ति पाउनका लागि आवेदन दिन सूचित गरेको छ । आवदेन दिएकाहरुको बौद्धिक तथा प्रशासनिक अभिरुची परीक्षण गरिने र उच्चतम अंक प्राप्त गर्ने १२ जना युवाहरुलाई छनोट गरिने र उनिहरुले परीक्षाको तयारी गरेको प्रमाणसहितको आवश्यक कागजात पालिकामा पेश गरेपछि छात्रवृत्ति उपलब्ध गराइने सूचनामार्फत जनाइएको छ ।

आवेदन दिने व्यक्ति विगु गाउँपालिकाभित्र घर भई गाउँपालिकाको कुनै पनि माध्यमिक विद्यालयबाट कम्तिमा प्रवेशिका उत्तिर्ण गरेको हुनुपर्ने, विगु गाउँपालिका भित्र घर भई विगु गाउँपालिकाभित्रकै माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरी प्रवेशिका माथीको अध्ययन अन्यत्रबाट गरेका थामी युवाहरुले समेत आवेदन दिन सक्नेछन्, तर विगु गाउँपालिकाबाट बसाइसराईँ गरेर अन्यत्र गएकाले यसमा भाग लिन पाउने छैनन् । शिक्षा पेशा वाहेक अन्य स्थायी सरकारी सेवामा रहेका युवाहरुले यसमा भाग लिन नपाउने सूचना प्रविधी अधिकृत थामीले बताए । आवेदन दिन चाहने थामी समुदायका युवाहरुले आफ्नो वायोडाटा सहित कुन तहमा आवदेन दिने हो पुरा विवरण खुुलाई आवश्यक कागजातका साथ आवेदन पेश गर्नुपर्ने गाउँपालिकाका रोजगार संयोजक प्रकाश थामीले बताए । थामी समुदायका युवाहरुलाई सरकारी जागिर र प्रशासनिक क्षेत्रमा सहभागी गराई यो समुदायको उत्थान हुने दुरदृष्टिका साथ थामी युवा लोक सेवा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको उनले बताए । यो कार्यक्रम प्रभावकारी बन्न सफल भएमा अर्काे पटक पनि सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "लोक सेवा आयोगको परीक्षा तयारी गर्ने थामी समुदायका युवालाई छात्रवृत्ति दिइने"

Leave a comment

Your email address will not be published.


*