लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती

मन्थली (रामेछाप), २ कात्तिकः लुक्लामा मौसम खराब भएपछि एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिएका छन् । लुक्लाहुँदै सगरमाथालगायतका क्षेत्रमा पदयात्रा तथा घुम्न जाने स्वदेशी र विदेशी पर्यटक मन्थली विमानस्थल हुँदै त्यसतर्फ जाने गरेका छन् । काठमाडौँलगायतका विभिन्न स्थानबाट मन्थली आइपुगेका पर्यटकहरु लुक्लाको मौसम उडानयोग्य नभएपछि मन्थलीमै रोकिएका हुन् । मौसममा सुधार नआएपछि केही पर्यटक भने अन्यत्रैको गन्तव्यतर्फ लागेका छन् भने केही पर्यटक सडकमार्गबाट सोलुखुम्बुतर्फ लागेको यहाँका पर्यटन व्यवसायीले जनाएका छन् । सोलुखुम्बुको खुम्बु क्षेत्रको मौसम खराब हुँदा सोमबारदेखि मन्थली लुक्ला नियमति उडान हुन नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण रामेछाप कार्यालयका सूचना अधिकारी प्रज्जवल गुरागाइँले जानकारी दिनुभयो । “सोमबारदेखि यहाँ पर्यटक रोकिएका छन्, बुधबार केही उडान भएपनि त्यसयता फेरि उडान प्रभावित भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार बिहीबार मात्रै विभिन्न कम्पनीका हेलिकप्टहरुले २८ वटा उडानमार्फत एक सय ३५ पर्यटकलाई सोलुको फाप्लु तथा सुर्के पु¥याएका थिए । नियमित उडान नहुँदा मन्थलीमा एक हजार तीन सयभन्दा बढी पर्यटकहरु रोकिएका छन् । हवाई उडान प्रभावित हुँदा दैनिकजसो मन्थलीमा पर्यटक बढिरहेकाले होटलमा समेत रुम पाउन मुस्किल भइसकेको जनाइएको छ । हाल मन्थलीका होटलसँगै यहाँका होमस्टे पनि पर्यटकले भरिभराउ भएको होटल तथा पर्यटक व्यवसायी सङ्घले जनाएको छ । शरद ऋतु पर्यटकका लागि उपयुक्त समय भएका कारण यस बेला रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमण गर्ने पर्यटक बढेका छन् । नागरिक उडययन प्राधिकरण रामेछापका कार्यलय प्रमुख हिरोण शाहले अनुकुल मौसम भएका समयमा मन्थली विमानस्थलबाट दैनिक ५५ वटासम्म उडान हुने गरेको बताउनुभयो । उहाँका अनुसार बुधबार विमान कम्पनीका विमानले १८ वटा उडानमार्फत तीन सयभन्दा बढी पर्यटकलाई मन्थलीबाट लुक्ला पु¥याउने र लुक्लामा रोकिएकालाई मन्थली ल्याएका थिए । रासस)

Shares

Be the first to comment on "लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती"

Leave a comment

Your email address will not be published.


*