लामखुट्टे र डेंगु विरुद्ध अभिमुखीकरण

दीक्षण समाचार
चरिकोट, असोज ९
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित दोलखामा डेंगु संक्रमण विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा डेंगु फैलिरहेको बेला वडामा यसको रोकथाम तथा न्यूनीकरणका लागि दोलखा स्वास्थ्य चौकीले दोलखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले चाडबाडको बेला समेत डेँगु संक्रमण नरोकिएकोले यसबाट सुरक्षित हुन सबैलाई आग्रह गर्नु भयो । उहाँले रोग लागेर उपचार खोज्नु भन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुने कुरालाई चरितार्थ गर्न उहाँको जोड थियो ।
कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष, वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले मानिस भन्दा निकै सानो लामखुट्टेले टोक्दा जुन सुकै उमेरका र जस्तोसुकै शक्तिशाली व्यक्तिलाई समेत बिरामी पार्न सक्ने भएकोले सचेत हुन आवश्यक रहेको उहाँले बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण दोलखा अस्पतालका डाक्टर विवेक तिमिल्सिनाले गर्नु भएको थियो । उहाँले सफा पानीमा समेत रहन सक्ने एडिज जातको संक्रमित पोथी लामखुट्टेले टोक्दा व्यक्तिमा डेंगु संक्रमण हुने भएकोले त्यसको टोकाइबाट जोगिन अनुरोध गर्नु भयो । यसबाट सचेत नभई हेलचेक्राइँ गर्दा मानिसलाई अचेत अवस्थामा समेत पु¥याउने लामखुट्टेलाई आफ्ना वातावरण सफासुग्घर राखेर मानिस छेउमा आउनै नदिएपछि डेँगु लगायतका विभिन्न रोगबाट जोगिन सकिने उहाँले सुनाउनु भयो ।  
डेंगुको लक्षणहरू देखिदाँ डेंगु हो होइन भनी पहिचान गर्न परीक्षण गर्नुपर्छ । परीक्षण पश्चात डेँगु पुष्टि भएमा चिकित्सकको सल्लाह र परामर्शमा लक्षण कम गराउने औषधि सेवन गर्नु पर्ने डाक्टर तिमिल्सिनाको भनाइ थियो ।

सोही अवसरमा सीमान्तकृत तथा लोपोन्मुख थामी समुदायका १८ बालबालिकाहरूले पूर्ण खोप लगाए बापत तीन हजार रुपैयाँ वितरण गरिएको छ । यस्तै स्वास्थ्य चौकीमा प्रसुती सेवा लिएका तीन जना आमाहरूलाई प्रतिव्यक्ति दुई हजारका दरले रकम वितरण गरिएको दोलखाका स्वास्थ्य चौकीका प्रमुख रामकृष्ण मास्केले जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, महिला स्वास्थ्य स्वयं सेविका, आमा समुहका सदस्यहरूको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "लामखुट्टे र डेंगु विरुद्ध अभिमुखीकरण"

Leave a comment

Your email address will not be published.


*